स्वास्थ्य

अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि क्यान्सरको उपचार

गण्डकी प्रदेशको प्रादेशिक अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अबदेखि क्यान्सरको उपचार हुने भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौता भएसँगै अब सो अस्पतालमा क्यान्सरको उपचार हुने भएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको सम्झौता पत्रमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले हस्ताक्षर गरे।

यसअघि सो अस्पतालमा क्यान्सरको उपचार सेवा थिएन। पोखरामा क्यान्सरको उपचार सेवा नहुँदा सो रोगबाट पीडितहरू चितवनको भरतपुर वा राजधानी काठमाडौं जानुपर्ने बाध्यता रहँदै आएको थियो। पोखरामै उपचार सुरु हुने हुँदा अब उपचारका लागि भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ।

सम्झौता अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अबदेखि प्रत्येक महिनामा कम्तीमा एक वा सो भन्दा बढी पटक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्राङ्गणबाट क्यान्सर उपचार सेवा दिनुपर्नेछ। सो सेवासँगै अन्तरङ्ग र बहिरङ्ग सेवा पनि सञ्चालन गर्नुपर्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पोखरामा क्यान्सरको उपचार सेवा सञ्चालन गर्ने सम्झौतासँगै सातै प्रदेशमा क्यान्सरको उपचार सेवा पुगेको बताए।

मन्त्री पौडेलले कार्यभार सम्हाले लगत्तै गत असार ३१ गते क्यान्सर नियन्त्रण रणनीति-२०३० स्वीकृत गरेका थिए। सो निर्णय गरेको दुई महिना भित्रमा कार्यान्वयनमा आएको मन्त्री पौडेलले बताए।

उनका अनुसार यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगन्जमा मात्रै रहेको क्यान्सर उपचार सेवा यस दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा बिस्तार गरिएको छ।

मन्त्री पौडेलको सचिवालयले पछिल्लो दुई महिनामा भक्तपुर क्यान्सर अस्पतालमार्फत गण्डकीको पोखरासँगै कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई योगदानमा आधारित बनाउनुपर्नेमा जोड दिए। उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन आफूले कोसिस गरिरहेको समेत बताए।

कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजय न्यौपानेले क्यान्सरको उपचारमा अस्पतालमा उपलब्ध सेवाबारे जानकारी गराएका थिए।

प्रकाशित: १ आश्विन २०८१ २०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App