महिला उद्यमी महासंघ नेपालका सदस्यका परिवारको उपचारमा ग्रान्डी इन्टरनेशन अस्पतालले सहयोग गर्ने भएको छ।
ललितपुरमा एक कार्यक्रमबीच महासंघ र ग्रान्डी अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
महासंघको तर्फबाट अध्यक्ष शोभा ज्ञवाली र अस्पतालको तर्फबाट अर्चना प्रधानले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार महासंघमा आवद्ध महिलाहरुका परिवारको उपचारमा ग्रान्डी अस्पतालले २० प्रतिशतसम्म छुट दिनेछ।
जसअन्तर्गत महिला उद्यमी महासंघका सम्पुर्ण सदस्यहरु, महिला उद्यमी जिल्ला संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु साथै महासंघका कर्मचारीहरुले सो छुट सुविधा पाउने व्यहोरा समझदारी पत्रमा उल्लेख छ ।
महासंघका सम्पुर्ण पदाधिकारीहरु, सदस्यहरु, जिल्ला सदस्यहरु र कर्मचारीहरु लगायत उनीहरुको परिवारका सदस्यहरु (बुवा, आमा, पति, छोरा, छोरी) ले पनि यो सुविधा प्राप्त गर्न सक्नेछन् । दुवै पक्षको सहमतिमा विभिन्न चरणमा विभिन्न जिल्लाका महिला उद्यमी लक्षित निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम सञ्चालन गर्ने बारेमा पनि सहमति पत्रमा उल्लेख छ ।
साथै महिला उद्यमी महासंघ तथा जिल्ला संघका सदस्यहरूको लागि निवारक स्वास्थ्य जाँच प्याकेज प्रदान गर्ने र महासंघले वाह्य सेवा जस्तैः औषधि, उपभोग्य वस्तु, प्रत्यारोपण, ओपीडी चिकित्सकको परामर्श शुल्कमा भने छुट पाउने छैन ।
यो सम्झौता सन् २०२५ को सेप्टेम्बर १४ सम्म लागु हुनेछ । ततःपश्चात दुबैको आपसी समझदारीमा नवीकरण गरिने महासंघले जनाएको छ ।
प्रकाशित: ३१ भाद्र २०८१ १९:४८ सोमबार