स्वास्थ्य

मिर्गौलामा भइरहेको भ्रष्टाचार कहिले देख्ने?

भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चरम भ्रष्टाचार भएको भन्दै शनिबार प्रदर्शन गरिएको छ। केन्द्रमा भइरहेको भ्रष्टाचार देख्न नसकेको भन्दै सबैलाई जानकारी दिन बाजागाजासहित भक्तपुर नगर परिक्रमा गरी प्रदर्शन गरिएको थियो।

नागरिक सरोकार समाजको अगुवाइमा कार्यक्रम भएको थियो। कार्यक्रमअन्तर्गत सुरुमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा भेला भएको थियो। त्यहाँबाट बाजागाजा बजाएर अगाडि ब्यानर राखेर नगर परिक्रमा गरेको थियो।

माइकबाट सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको भ्रष्टाचार कहिले देख्ने भन्दै माइकिङ पनि दिँदै गएको थियो। साथै पर्चा पनि वितरण गरिएको थियो। वर्षाका बिच पनि सामूहिक प्लास्टिक ओढेर प्रदर्शन गरेको थियो। ठुलो प्लास्टिक लिएर ठाउँठाउँमा समाउन मिल्ने बनाई प्रदर्शनले नगर परिक्रमा गरेको थियो।

आयोजकमध्येका एकजना सुरेन्द्र श्रेष्ठले पानी परेकाले भक्तपुर नगर आधा मात्रै परिक्रमा गरेको बताए। साँझ पाँच बजेदेखि सुरु भएको प्रदर्शनले आधा नगर परिक्रमा गरेको थियो। वर्षाका कारण आधी नगर मात्रै परिक्रमा गरेको र भविष्यमा फेरि पनि यस्तो प्रदर्शन जारी राख्ने उनले बताए ।

प्रदर्शनमा सहभागी कृष्ण राईले यस विषयमा स्वास्थ्य मन्त्रीलाई पनि ज्ञापनपत्र दिन जाने कार्यक्रम रहेको जानकारी गराए। ‘आइतबारका लागि समय लिएका छौं,’ उनले भने, ‘हुन त अस्ति नै समय मिलेको थियो तर मन्त्रीज्यूको व्यस्तताले भेट्न पाएनौं। स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई आइतबार भेटेर समस्या अवगत गराउने योजना रहेको उनले सुनाए।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका मुटु, फोक्सो तथा नसा विभागका प्रमुख डा. सञ्जित शाह (हाल विभागीय कारबाहीमा रहेका) ले केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई हटाए मात्रै त्यहाँको भ्रष्टाचार रोक्न सकिने बताए।

डा. पुकारको संकीर्ण सोचका कारण मुटु सेवा हुँदाहुँदै पनि सेवाग्राही सुविधाविहीन भएको भन्दै करोडौं होइन, अर्बौंका सामान कुहाएर भ्रष्टाचार गरेको आरोप उनले लगाए।

अस्पतालमा मिर्गौला, कलेजो, मुटु, फोक्सो तथा नसाको मुख्य सेवा भए पनि अहिले सुविधा मिर्गाैला र कलेजोको मात्रै भएको प्रदर्शनकारीले जनाए। यही कारण धेरै भक्तपुरवासी हृदयाघातबाट अकालमा ज्यान गुमाउन बाध्य भइरहेको उनीहरूले सुनाए। यही कारण यसलाई मिर्गाैला अस्पताल भनेर जनमानसमा प्रचलित छ।

मृत्युपछि मानिसका आठवटा अंग प्रत्यारोपण गर्न सकिने तर यहाँ मिर्गाैला र कलेजको मात्रै प्रत्यारोपण भइरहेको चिकित्सक बताउँछन्। केन्द्र सञ्चालनमा आएको १२ वर्षमा औंलामा गन्न सकिने मानिसले मात्रै केन्द्रमा मुटुको सेवा पाएको बताइएको छ।

बाजागाजाको टोली केन्द्रको मुख्यद्वारबाट मुख्यमुख्य बजार हुँदै दरबार क्षेत्रमा पुगेको थियो। त्यहाँबाट पुनः मुख्य बजार हुँदै टौमढी पाँचतल्ले मन्दिर पुगेको थियो। वर्षाका कारण नगर परिक्रमा गर्ने क्रम त्यहीँबाट अन्त गरिएको थियो।

प्रकाशित: ३० भाद्र २०८१ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App