स्वास्थ्य

कटारी अस्पताल यस वर्ष पनि उत्कृष्ट

दोस्रो वर्ष पनि उत्कृष्ट हुन सफल कटारी अस्पताल। तस्बिर: महेश्वर/नागरिक

जिल्लाको पश्चिमी भेगको कटारी अस्पताल यस वर्ष पनि उत्कृष्ट सावित भएको छ। गत वर्ष स्थानीय तहअन्तर्गत रहेका देशभरका अस्पतालमध्ये उत्कृष्ट भएर पुरस्कृत कटारी अस्पताल यस वर्ष (आर्थिक वर्ष २०८१) मा पनि उत्कृष्टता कायम राख्न सफल भएको हो।

गत वर्ष ३३ वटा स्थानीय अस्पतालमध्ये उत्कृष्ट बनेको तत्कालीन कटारी नगर अस्पताल यस वर्ष पनि उत्कृष्ट स्थान कायम राख्न सफल भएको अप्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गौरव साहले बताए।

उनका अनुसार यस वर्ष पनि नेपाल सरकार स्वास्थ्य सेवा विभागको न्यूनतम सर्त तथा मापदण्डमा अग्रणी देखिँदै उत्कृष्ट स्थान ओगट्न सफल भएको हो।

स्वास्थ्य सेवा विभागको अनुगमन टोलीले सरकारले निर्धारण गरेको सूचकहरूको मापन गर्दा सबै पूरा गरेको पाइएपछि अस्पताललाई यस वर्ष उत्कृष्ट स्थानमा पारिएको हो। कटारी अस्पतालले तोकिएको एक सय पूर्णांक भारमा ८३ अंक प्राप्त गरेको मेसु साहले बताए।

गत वर्ष पनि कटारी अस्पतालले सयमा ८३ अंक प्राप्त गर्दै देशभरका स्थानीय अस्पतामध्ये उत्कृष्ट भएको थियो। प्रदेश सरकार स्वास्थ्य निर्देशनालय धनकुटाका रविकुमार साहलाई उद्धृत गर्दै डा. साहले भने, ‘अघिल्लो वर्ष प्राप्त गरेको अंक यस वर्ष पनि लिँदै उत्कृष्ट स्थान कायम राख्न सफल भएको छ।’

प्रदेश स्वास्थ्य निर्देशनालयले हरेक ६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा गर्ने गरेको पनि साहले बताएका छन्। सरकारले बनाएको ‘न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम’लाई निर्देशनालयले कार्यान्वयन गर्ने गरेको छ। त्यसका लागि निर्देशनालयबाट विज्ञ टोली पठाएर स्थलगत अनुगमन निरीक्षण गर्ने गरिएको छ।

जसअन्तर्गत मापनमा कटारी अस्पताल देशभरका नगर अस्पतालमध्ये पहिलो नम्बरमा परेको मेसु साहले बताएका छन्। निर्देशनालयको केही दिनअघि अनुगमनपछि शुक्रबार सार्वजनिक नतिजाअनुसार कटारी अस्पताल उत्कृष्ट भएको विवरण प्राप्त भएको डा. साहले बताए।

१५ शय्याको कटारी अस्पताललाई स्थानीयत ह पुनर्संरचनापछि नगरपालिकाले जिम्मा लिएर सञ्चालन गर्दै आएको थियो। पछिल्लो केही वर्षयता गुणस्तरीय सेवा प्रदान गर्दै आएको अस्पताल थप प्रगति गर्दै गएको डा. साहले बताए। चालु वर्षदेखि भने यो अस्पताल प्रदेश सरकार मातहत लाने निर्णय भएको छ।

तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले यही २०८१ वैशाख २४ गतेको मन्त्रिपरिषद् बैठकबाट १५ शय्या­को अस्पताललाई स्तरोन्नतिसहित ५० शय्याको बनाउँदै प्रदेशस्तरीय बनाउने निर्णय गरेको थियो। संघीय सरकारको निर्णयअनुसार ५० शय्यामा स्तरोन्नति गर्दै नगरपालिका मातहतको अस्पताललाई प्रदेश सरकार मातहत लाने निर्णय गरेको पत्र प्राप्त भइसकेको डा. साहको भनाइ छ।

‘गत असारसम्म नगरपालिकामातहत रहेको अस्पताल अब प्रदेश सरकारको अधिकार क्षेत्रभित्र गइसकेको छ,’ मेसु डा. साहले भने, ‘स्वीकृतिको पत्र आइसकेकाले सोहीअनुसार काम कारबाही अघि बढाइसक्यौं तर बजेट भने आउन बाँकी छ।’

स्थानीय सरकारको राम्रो सहयोगले गर्दा पनि अस्पतालको स्तरोन्नति भएको स्थानीको भनाइ छ।

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले गएगुज्रेको अस्पताललाई नगरपालिका मातहत ल्याएर सुधार गर्दै उत्कृष्ट बनाउन सफल भएकोमा खुसी व्यक्त गरे। एकताका ‘रिफर सेन्टर’ भइसकेको अस्पताललाई नगरपालिकाको अधिकारभित्र ल्याएर धेरै मेहनत गरेपछि लय समातेको मेयर श्रेष्ठले बताए। त्यसैले लगातार दुई वर्ष उत्कृष्ट भएर पुरस्कृत भएको र अहिले प्रदेश स्तरीयमा स्तरोन्नति भएर ५० शड्ढयाको स्वीकृति प्राप्त भएको उनले बताए।

नगर उपप्रमुख गीता खड्काले नगर मातहत सञ्चालन हुँदा देशभरको उत्कृष्ट हुन सफल यो अस्पताल अहिले प्रदेशमातहत गएको र १५ बाट ५० शय्या हुँदा नगरवासी लाभान्वित हुने बताइन्। प्रदेश मातहत गए पनि नगरपालिकाले सधैं अस्पताल सुधारको दायित्वबोध गर्दै सहयोगमा कन्जुस्याइँ नगर्ने उपमेयर खड्काले बताइन्।

कटारी अस्पताल जिल्लाको पश्चिमी भेगका जनतासँगै छिमेकी सिन्धुलीका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेकाले सेवा सुविधासम्पन्न बनाउन आवश्यक रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले बताए। उदयपुर, सिन्धुलीका साथै खोटाङ र ओखलढुंगाका दक्षिणी भेगवासी नागरिकलाई यो अस्पतालले सेवा प्रवाह गर्दै आएको भन्दै हाकिम निरौलाले यसको स्तरोन्नतिमा राज्यले ध्यान दिनु आवश्यक रहेको बताए।  

प्रकाशित: ३० भाद्र २०८१ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App