स्वास्थ्य

जुम्लामा ईएमआरसहितको नेत्ररोग विभाग सञ्चालनमा

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ईएमआरसहितको नेत्ररोग विभाग सञ्चालनमा ल्याइएको छ। कर्णाली स्वास्थ्य प्रतिष्ठानअन्तर्गत नेत्ररोग विभाग गठन गरी सेवा सञ्चालनमा ल्याइएको हो।

आइतबार वरिष्ठ नेत्ररोग डाक्टर सन्दुक रुइतले विभागको औपचारिक उद्वघाटन गरेका हुन्। काठमाडौंको तिलगंगा आँखा अस्पताल, फ्रेड हलोस फाउण्डेशन र विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रतिष्ठानले अत्याधुनिक उपकरणहरूसहित नेत्ररोग विभाग सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

यता डा. सन्दुकले कर्णालीमा दुई हजार जनाको आँखाको शल्याक्रिया गरिने बताए। ‘अबको एक वर्षमा कर्णालीका गाउँका कुनाकुनासम्म नेत्र विशेषज्ञ सेवा पुर्‍याउँछौं,’ डा. सन्दुकले भने, ‘कर्णालीका विभिन्न जिल्लामा आँखाको उपचार गर्ने उद्देश्य राखेका छौं। सरकारले ठूला भवन मात्र लगानी गरेको छ। हार्डवेयरलाई ध्यान दिंदै सफ्टवेयरलाई महत्त्व दिन आवश्यक छ।’

उनले स्वास्थ्य क्षेत्रमा मेडिकल सेवा असाध्य राम्रो सेवा भएको बताए। ‘पछिल्लो समयमा कर्णालीले स्वास्थ्यका नायकहरू उत्पादन गरिरहेको छ। स्वाथ्य क्षेत्रमा मेडिकल सेवा असाध्य राम्रो सेवा छ। तपाईहरू सपना बुन्नुस्, सपना स्वच्छ हुनुपर्छ, आफ्नो पेशालाई मन पराउनुस्, अनि पेशाले हजुरहरूलाई मन पराउने छ,’ रुइतले भने।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कर्णालीमा पढेको भनेर आत्मबल कमजाेर गर्न नहुने बताए। कर्णालीको पहिचान गुमाउने अवस्था आउन नदिन प्रतिष्ठानलाई सुझाव दिए। प्रतिष्ठानको शिर उच्च बनाउन अपिल गरे। ‘कर्णालीको प्रतिष्ठाको विषय बनेको छ कर्णाली प्रतिष्ठान, उनले भने, ‘प्रतिष्ठानलाई कर्णालीको पहिचान बनाउनुहोस्।’

राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिछाले राज्ययलाई कर्णालीले सधैं माग्छ भन्ने भ्रम तोडिएको बताए। ‘अब माग्ने हैन, कर्णालीले दिने छ,’ उनले भने, ‘संघको विकल्पको रूपमा कर्णाली प्रतिष्ठान तयार भएको छ।’

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कर्णालीमा आउजाउ गर्न निकै समस्या देखिएको भए पनि प्रतिष्ठानको सेवा निरन्तर चलिरहेको बताए।

प्रकाशित: २४ भाद्र २०८१ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App