स्वास्थ्य

बच्चामा ज्वरो आउँदा हुने छारे के हो?

प्रायः बच्चाहरूमा ६ महिनादेखि ६ वर्षको उमेरसम्म ज्वरो आउँदा छारे आउन सक्छ। बच्चामा ज्वरोसँगै छारे हुँदा उसको मस्तिष्कमा सङ्क्रमण नभएको, पहिला ज्वरो नहुँदा छारे नआएको, कुनै प्रकारको टाउकोमा चोट नलागेको, पक्षघात नभएको, मेटाबोलिज्म वा एलेक्टोलाइट असन्तुलन नभएको अवस्था छ भने त्यसलाई फेबराइल सिजर अर्थात् ज्वरोमा आउने छारे भनिन्छ।

बालबालिकामा ज्वरो आउँदा छारे आयो भने बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने, दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ।

धेरैजसो बच्चाहरूमा यस प्रकारको छारे, ज्वरो आएको २४ घन्टा भित्र आउने गर्दछ। ज्वरो आउँदा आउने छारे दुई प्रकारको हुन्छः

सामान्य ज्वरोमा हुने छारेः

यस अवस्थामा सामान्य खालको छारे हुने गर्छ। प्रायः जसो जेनेरेलाइज्ड टोनिक क्लोनिक सिजर देखिन्छ। यसमा हुने छारे १५ मिनेटसम्म मात्रै हुने गर्छ र यो २४ घन्टामा एक पटक मात्रै देखिन्छ।

असामान्य ज्वरोमा हुने छारेः

यसमा असामान्य खालको छारे हुने गर्छ। यसमा देखिने फोकल सिजर शरीरको कुनै भागमा १५ मिनेटभन्दा धेरै छारे आउने गर्छ। यसमा २४ घन्टामा पटकपटक छारे आउने गर्छ। यसमा बच्चाहरू लामो समयसम्म अचेत पनि हुन सक्छन्।

सामान्य ज्वरोमा हुने छारे भयो भने १ प्रतिशत बालबालिकामा पछि गएर छारेरोग देखिन सक्ने सम्भावना हुन्छ भने पटकपटक सामान्य ज्वरोमा हुने छारे देखिएमा ४ प्रतिशतमा छारेरोग देखिन सक्छ।

त्यस्तै असामान्य ज्वरोमा हुने छारे भएमा २९ प्रतिशत बालबालिकामा पछि छारेरोग देखिन सक्ने सम्भावना हुन्छ भने जन्मजात दिमागी विकासमा समस्या रहेको अवस्थामा ३३ प्रतिशतमा पछि गएर छारेरोग हुनसक्छ।

ज्वरो आएको बेला हुने छारेबारे वैज्ञानिकहरूको फरकफरक धारणाहरू छन्। तर, आजसम्म सबैभन्दा धेरै मान्यता पाएको वंशाणुगत कारण हो। बच्चाहरूमा ज्वरो आउँदा मस्तिष्कमा हुने विभिन्न खालको तापक्रमको कारणले संवेदनशिल आयोन च्यानेलहरू उत्तेजित भएपछि मस्तिष्कको कोषहरूलाई थप उत्तेजित गराएर छारे हुने कुरामा धेरै वैज्ञानिकहरू विश्वस्त छन्।

ज्वरोसँगै छारे रोगको उपचार बालरोग विशेषज्ञद्वारा मात्रै गराउनु पर्छ। अन्यथा अवस्था जटिल हुन सक्छ र बच्चाको ज्यान समेत जान सक्छ।

अभिभावकहरूले जान्नुपर्ने र ध्यान दिनुपर्ने कुराहरूः

ज्वरो हुँदा छारे आएको छ छैन भनेर बुझ्नुपर्छ।

ज्वरोमा छारे भएको बेला अभिभावहरू आत्तिनु हुँदैन।

छारे आउँदा अभिभावकरूले बच्चालाई समतल ठाउँमा सुरक्षित राखेर देब्रे कोल्टे पारेर सुताउनुपर्छ।

छारे आउँदा पानी खुवाउने, चम्मचले दाँत फुकाउने गर्नु हुँदैन।

ज्वरोको बेला हुने छारे रोगमा छारे आएको केही बेरमै बच्चाहरू चेत अवस्थामा आउँछन्। त्यसपछि मात्रै नजिकैको स्वास्थ्य संस्थामा गएर बालरोग विशेषज्ञसँग उपचार गराउनुपर्छ।

बच्चाहरूलाई सामान्य ज्वरो आउँदा पनि छारे हुन सक्ने भएकाले घरमा ज्वरोको औषधि पारासिटामोल सँधै राखिरहनु पर्छ। (एकपटक ज्वरोसँगै बच्चामा छारे आइसकेको अवस्थामा फेरि दोहोरिन सक्ने सम्भावना हुन्छ)

ज्वरो आएको बेला प्रायः जसो बच्चाको तौलको आधा मात्रा पारासिटामोल खुवाउनुपर्छ र नजिकैको स्वास्थ्य केन्द्रमा लगेर बालरोग विशेषज्ञसँग उपचार गराउनुपर्छ।

प्रकाशित: ७ भाद्र २०८१ १०:०८ शुक्रबार

#fever #febrile seizure #छारे # ज्वरो आउँदा छारे