स्वास्थ्य

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र युवा सहभागिता

यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि हामी खुलेर कुरा गर्न सक्दैनौं। समाजमा यसबारे खुला छलफल तथा बहस गरे लाजभाँड, संकोच तथा छाडापनसँग जोडेर हेरिन्छ। केही तमाम समूह, लक्षित संस्था वा व्यक्तिहरूबाहेक यस विषयमा कुरा गर्न परे कतै कुनामा गई कुरा गर्नुपर्छ।

नेपालको संविधानले ‘प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य र अन्य प्रजनन मामिलाको हक हुनेछ’ भनी अधिकार स्थापित गरेको छ तापनि व्यावहारिक रूपमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका विषयहरू उपभोग गर्ने सहज वातावरण छैन। यस्तै कानुनमा महिलाहरूका लागि स्वास्थ्य अधिकार र आफ्नै शरीर तथा प्रजनन जीवनमा नियन्त्रणको माग र दाबी गर्ने अधिकार प्रत्याभूत गरे पनि वास्तविकतामा भने प्रयोग गर्न सकेको अवस्था छैन।

प्रारम्भिक र अप्रत्याशित गर्भावस्थाको जोखिम, असुरक्षित गर्भपतन, महिला जननांग विकृति, बालविवाह, लिंगमा आधारित हिंसा, कुपोषण र यौन सञ्चारित संक्रमणजस्ता विषय प्रजनन स्वास्थ्यअन्तर्गत पर्छन्। यौन र प्रजनन स्वास्थ्य शारीरिक र मानसिक स्वास्थ्यको अभिन्न तत्त्व हो। तर पनि हाम्रो समाजमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयबारे खुलेर कुरा गर्न या आफ्नो विचार राख्न हिचकिचाउनुपर्ने अवस्था छ।

महिलाले शारीरिक सम्बन्धको इच्छा साझा गर्न नहुनु, समाजमा छोराको चाहना उच्च हुनु, महिलाले यति वर्षभित्र विवाह गरिसक्नुपर्ने भन्ने मनोभावना रहनु, महिनावारीलाई पर सरेको भनी छुट्टै कुनामा बस्न पर्नु जस्ता मान्यता समाजमा अझै छन्। यस्तै गर्भावस्था र प्रजनन अवस्थाको समयमा उचित स्याहार र स्वास्थ्य उपचार नपाएर बर्सेनि धेरै आमाहरूले ज्यान गुमाउनुपरेको छ।

सरकारले दिगो विकास लक्ष्यअन्र्तगत सन् २०२० सम्म मातृमृत्युदर प्रति एक लाखमा ७० जनामा झार्ने लक्ष्य राखे पनि जनगणना २०७८ को तथ्याङ्कअनुसार प्रति एक लाख जीवित जन्ममा प्रदेश मातृ मृत्युदर संख्याअन्तर्गत कोशी प्रदेशमा १५७, मधेश १४०, बागमतीमा ९८, गण्डकीमा १६१, लुम्बिनीमा २०७, कर्णालीमा १७२, सुदूूरपश्चिम १३० रहेको छ। अझै पनि विश्वमा प्रत्येक दुई मिनेटमा एक गर्भवती÷सुत्केरीले ज्यान गुमाउने गरेका छन्।

यस्तै महान्यायाधिवक्ताको कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा देशभरका अदालतमा जबर्जस्ती करणीका आठ हजार दुई सय ७६, जबर्जस्ती करणी उद्योग दुई हजार पाँच सय ७०, बालयौन दुरूपयोगका नौ सय १८ वटा मुद्दा दायर भएका छन्। यो त अदालतमा मुद्दा दायर भएको तथ्याङ्क हो। प्रहरी कार्यलयमा यस्ता विषयमा निवेदन स्वाभाविक रूपमा योभन्दा बढी छ।

यौन र प्रजनन स्वास्थ्य र अधिकार मानव अधिकारसम्बद्ध अवधारणा हो। जसलाई मानव अधिकार विश्वव्यापी घोषणा पत्र र अन्य मानव अधिकारका सम्मेलन, घोषणा तथा सहमतिहरूमा स्थापित गरिएका छन्। तर असमान सामाजिक व्यवस्था, अशिक्षा, गरिबी, आर्थिक असमानता, असमानमूलक लैंगिक शक्ति र अधिकार, प्रथाजन्य नियमजस्ता पक्षले गर्दा अहिले पनि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुरा गर्न नेपाली समाजमा निषेध जस्तै छ। यससँग सम्बन्धित अधिकार विषयको कुरा त झनै पर छ।

यौन, प्रजनन स्वास्थ्य र अधिकार कस्ता विषय हुन्, मेरो धारणा के छ, यसको सामाजिक प्रयोग र अवधारणा कस्तो छ, के हुनुपर्ने हो, यसबारे कानुनी अधिकारको प्रयोग र कार्वान्वयन, शौक्षिक र संस्थागत बहस, यसको प्रयोग र कार्वान्वयनको पाटो अझै पनि फितलो नै छ।

समाजमा अझै पनि यौन, प्रजनन स्वास्थ्य र अधिकारको कुरा गर्दा हामीले बुझेको भनेको महिलापुरुषबिच हुने शारीरिक सम्पर्क, बच्चाको जन्म र सुत्केरीको स्याहारजस्ता कुरा मात्र हो। यसबारे बृहत् कुरा गर्न र बुझ्न उति चासो राख्दैनौं तर यौन, प्रजनन स्वास्थ्य र अधिकारको कुरा यतिमा मात्र सीमित नभई यसको फराकिलो दायरा छ।

यौन, प्रजनन स्वास्थ्य र अधिकारको कुरा बच्चा जन्माउने नजन्माउने, शारीरिक सम्बन्ध राख्ने नराख्ने, यौन रोग लाग्दा के गर्ने नगर्ने मात्र नभई प्रत्येक व्यक्तिको स्वस्थ शरीरको स्वयत्त अधिकारको कुरा हो। व्यक्तिको शरीरप्रतिको स्वायत्त निर्णयको विषय हो।

 स्वायत्त एवं स्वतन्त्र यौन र प्रजनन शिक्षा तथा स्वास्थ्य सेवाको प्रयोग गर्न पाउने हकको कुरा हो। कोसँग कुन बेला यौन सम्बन्ध राख्ने भन्ने निर्णय गर्न पाउने अधिकारको कुरा हो। कति बच्चा पाउने नपाउने, कहिले पाउने, बच्चाको जन्मान्तर कति हुने भन्ने व्यक्तिगत निर्णयको कुरा हो। शैक्षिक संस्था तथा सेवा लिन जाने स्वास्थ्य संस्थामा स्वतन्त्र र प्रस्ट तरिकाले छलफल गर्ने, पढ्ने, सूचना तथा जानकारी पाउने वातावरण र अधिकारको कुरा हो।

यस्तै स्वास्थ्य संस्थामा सेवा लिन जाँदा आफ्नो सूचनालाई गोप्य राख्न पाउने कानुनी व्यवस्थाको कुरा हो। लिंगको आधारमा कुनै पनि भेदभाव भोग्न नपाउने राज्यको व्यवस्थाको कुरा हो। यौन सञ्चारित संक्रमण वा अनिच्छित गर्भबाट बच्नका पूर्ण निर्णय गर्न पाउने कानुनी प्रावधानको कुरा हो।

अनिच्छित गर्भधारणका लागि कुन परिवार नियोजन प्रयोग गर्न चाहने भन्नेजस्ता कुरा हुन् र यसलाई मानव अधिकारका मापदण्डअनुसार हरेक राज्यले प्रत्येक व्यक्तिको यौन र प्रजनन स्वास्थ्य अधिकारको इज्जत, संरक्षण र पूर्ति गर्नुपर्ने भनी कानुनी अधिकारप्राप्त कुरा हो। यस अर्थमा यौन तथा प्रजनन स्वास्थ्य भनेको प्रत्येक व्यक्तिको जीवनमा प्रजनन प्रणालीसँग सम्बन्धित पूर्ण शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य हो।

नेपालको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०१८ ले नैरोबी शिखर सम्मेलनमा जनसंख्या र विकासमा अन्तर्राष्ट्रिय सम्मेलनको कार्ययोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने आफ्नो प्रतिबद्धता रहेअनुसार सबैका लागि अधिकार र विकल्पहरू प्राप्त गर्न प्रतिबद्ध छ भनी स्वीकार गरेको छ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई समाजमा सहर्ष स्वीकार गरी प्राथमिकीकरण गरिनुपर्छ। यससँग सम्बन्धित प्रत्येक विषय तथा मुद्दालाई सार्वजनिक रूपमा वकालत गर्न सक्ने वातावरणको निर्माण गरी समतामूलक समाजको निर्माण गर्नु आजको आवश्यकता हो। यसमा युवा समूहको सहभागिता र भूमिका महत्त्वपूर्ण हुन्छ।

युवाको भूमिका यस अर्थमा पनि महत्त्वपूर्ण हुन्छ कि उनीहरू सबैभन्दा बढी उत्पादनशील, सिर्जनशील, परिवर्तनशील र बहुआयामिक हुन्छन्। उमेरका हिसाबले होस् या श्रम र सिर्जनाको हिसाबले युवा जनशक्ति सबैभन्दा बलियो र प्रभावकारी समूह हो।

युवा उमेर समूह यो हो भनी कुनै विश्वव्यापी स्वीकार्य अन्तर्राष्ट्रिय परिभाषा त छैन तर विभिन्न राष्ट्रले आफ्नो अनुकूलताअनुसार युवा उमेरलाई व्याख्या गरेको छ। जसअनुसार संयुक्त राष्ट्रसंघले १५ देखि २५ वर्षबिचका व्यक्तिलाई युवा भनेको छ। नेपाल सरकारले भने १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा भनी परिभाषित गरेको छ।

युवाहरूले आफ्नो जीवनमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको व्यक्तिगतमै महसुस गरेका हुन्छन्, जसले गर्दा उनीहरू आफैं उक्त विषयमा जानकार हुन्छन्। यसमा हुने असमानता र विभेदविरुद्ध वकालत गर्छन्। युवा समूह वा क्लब निर्माण र यसको नेतृत्व गरी घर, टोलछिमेक, विद्यालय, समुदायहरूलाई यस विषयमा सार्वजनिक बहसका लागि आह्वान गर्छन्।

मिडिया र सामाजिक सञ्जालबाट पैरवी गर्छन् र परेको बेला यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा हुने विभेद र असमानताविरुद्ध आवाज उठाउने शक्तिशाली र प्रभावकारी जनशक्ति युवा भएकाले युवाको सहभागिता र भूमिका यौन तथा प्रजनन स्वास्थ्यमा एकदमै अर्थपूर्ण र महत्त्वपूर्ण छ।

प्रकाशित: १ भाद्र २०८१ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App