स्वास्थ्य

कम प्रकाशमा नीलो आँखाले बढी देख्ने

यस्तो पनि!

तपाईंको आँखाको रङ कस्तो छ? कालो? खैरो? नीलो?

नीलो छ भने चाहिँ तपाईंले एउटा अर्को फाइदा पनि पाउनुहुन्छ। नीलो आँखा भएका व्यक्तिहरूले कम प्रकाशमा पनि अक्षरहरू पढ्न सक्ने अध्ययनमा देखिएको छ। उत्तरी युरोपेली अधिकांशको आँखा नीलो हुन्छ र त्यो किन हुन्छ भन्ने अध्ययनका क्रममा यो नयाँ जानकारी आएको हो।

बेलायतस्थित लिभरपुल जोन मुर युनिभर्सिटीकी अध्येता क्याको यामागुची र उनका विद्यार्थीहरूले युरोपेली मूलका ४० जना नीलो र खैरो आँखा भएका सर्वसाधारणको आँखा जाँच गरेका थिए।

यस जाँचमा सर्वसाधारण स्वयंसेवीहरूलाई तीस सेकेन्ड अँध्यारोमा राखिन्थ्यो र त्यसपछि अकस्मात तीन मिटर टाढा रहेको केही वाक्य पढ्न दिइएको थियो। यस्तोमा नीलो आँखा भएकाहरूले ती अक्षर पढ्न सक्षम भएका थिए भने खैरो आँखा भएकाहरूको क्षमता अलि कम भएको पाइएको थियो।

नीलो आँखाले कम प्रकाश भएको ठाउँमा आँकलनमा सघाएको हुनसक्ने अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयकी अध्येता क्यासी लुडविग बताउँछिन् तर यो ज्यादै थोरै स्वयंसेवकमाझ गरिएको अध्ययन भएकाले यसैलाई अन्तिम निष्कर्ष मान्न भने नसकिने टिप्पणी उनको छ। यदि यो अध्ययन निष्कर्ष सत्यताको नजिक हो भने उत्तरी युरोपका केही ठाउँमा मानिसका आँखा किन नीला भए भन्ने विषय रोचक हुने अध्येता यामागुची बताउँछिन्।

यसअघि नीलो आँखा हुनुको कारणका रूपमा सेतो छाला र खैरो कपाल मुख्य कारण हो कि भन्ने अनुमान गरिँदै आएको थियो। अर्कोतर्फ त्यस भेगमा सूर्यको प्रकाश विरलै शरीरमा पर्ने हुनाले सर्वसाधारणमा भिटामिन डिको अभाव हुने गर्छ।

हाम्रो शरीरले प्रकाशमा भएका परावैजनी किरण सोसेर भिटामिन डि निर्माण गर्ने गर्छ। त्यहाँको वातावरणले नीला आँखा निर्माण गर्नुमा कम प्रकाशमा पनि प्रस्ट देखिने एउटा इभोल्युसनरी प्रक्रिया हुनसक्ने ठाउँ रहेको लायन्स आई इन्स्टिच्युट अस्ट्रेलियाका डेभिड म्याकीको धारणा छ।

चर्को घाममा भने नीला आँखा उति फाइदाकारी नहुने पनि देखिएको छ। नीला आँखा हुनेहरूले बढी नै उज्यालो ठाउँमा तस्बिरको गुणस्तर कम देख्ने पनि अध्ययनमा पाइएको न्यु साइन्टिस्ट जर्नलमा जनाइएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २८ माघ २०८० ०६:३२ आइतबार

यस्तो पनि ! कम प्रकाशमा नीलो आँखाले बढी देख्ने