स्वास्थ्य

डा.ओम मूर्ति अनिल भन्छन्: उच्च रक्तचाप र मुटुजन्य रोगहरू गाउँमा बढ्दो

मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले ग्रामीण क्षेत्रमा मुटुजन्य रोगहरू बढ्दै गएको बताएका छन्।

डा. अनिलले एक साता अघि आफ्नै गाउँ महोत्तरीमा गरेको स्वास्थ्य शिविरमा आएका बिरामीहरुमा धेरैको संख्यामा उच्च रक्तचाप तथा मुटुजन्य रोगहरू पाइएको जनाएका हुन्। ओम फाउण्डेशनद्वारा आयोजित सो शिविरमा डा. अनिलले हेरेका ४ सय बिरामी मध्येमा २  सय भन्दा बढीमा उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेह, र एन्जाइटीको समस्या फेला परेको छ।

उपचारको क्रममा शिविरमा आएकाहरूको तौल, मधुमेह, उच्च रक्तचाप, इको, इसिजी लगायतका परीक्षण गरिएको थियो। उपचारमा आएका २ सय जनालाई फाण्डेशनको तर्फबाट निःशुल्क रुपमा एक महिनालाई पुग्ने गरी औषधी वितरण गरिएको थियो। उपचारमा आएका मध्येमा १ सय जना नयाँ उच्च रक्तचाप तथा मधुमेहका बिरामी थिए। उपचारपछि पहिलो पटक उच्च रक्तचाप र कोलस्ट्रोलको औषधी सुरु गरेका थिए।

दश दिन गाउँमा समय बिताएका डा. अनिललाई टाढा–टाढाबाट स्वास्थ्य जाँचका लागि घरमै बिरामी पुगेका थिए। यस्ता बिरामी २ सय जना थिए। उनीहरूमा पनि उच्च रक्तचाप तथा मुटुजन्य रोगको समस्या बढी थियो। उनीहरुलाई पनि आफ्नो निजी स्रोतबाट औषधी वितरण गरेको डा. अनिलले बताए।

पहिला आरामदायी जीवन बिताउने धनी मानिस र सहरका मानिसमा उच्च रक्तचाप र मुटुजन्य रोगको समस्या हुन्छ भन्ने मान्यतालाई महोत्तरीको गाउँमा बढेको उच्च रक्तचापले मान्यता उल्टो बनेको  डा. अनिलले बताए। उनी भन्छन्,‘गाउँमा धेरै दरमा रक्तचाप बढेको पाएँ, जुन पहिला थिएन।’

डा. अनिलका अनुसार गाउँमा  पछिल्लो समय साइकल चढ्ने,हिँड्ने चलन अन्त्य भएर सबै मोटरसाइकल, गाडीमा यात्रा गर्ने, आरामदायी जीवन बिताउने, कोकोकोला, फ्यान्टा जस्ता गुलियो पेय पदार्थको सेवन बढी, मदिरा, मासु, चाउचाउ, लेज जस्ता बढी नुन भएका खानेकुराको बढी प्रयोग गर्ने जीवनशैलीको कारण उच्च रक्तचाप बढेको हो ।

प्रकाशित: १५ मंसिर २०८० ०८:१० शुक्रबार

मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिल