स्वास्थ्य

स्त्रीरोग विशेषज्ञ ताम्राकारले ल्याए ‘स्वस्थ महिला’

डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ताम्राकारको पुस्तक चिकित्सा क्षेत्रका अग्रज चिकित्सकको समूहद्वारा लोकार्पण भएको हो।

डा. सरोजा पाण्डे, डा. सानुमैयाँ दली, डा. प्रमिला प्रधान, डा. आश्मा राना, डा. लता बज्राचार्य, प्राज्ञ तथा लेखक अमर न्यौपाने, लेखककी श्रीमती चण्डेश्वरी श्रेष्ठ ताम्राकारसहित लेखक ताम्राकारले ‘स्वस्थ महिला’ पुस्तक लोकार्पण गरेका हुन्।

बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता र जिज्ञासा, महिनावारी, पाठेघर र डिम्बाशयबारे जानकारी, यौनजन्य सङ्क्रमण, बाँझोपन, रजोनिवृत्तिलगायत विषयलाई पुस्तकले समेटेको छ।

पाठेघरको मुखको संक्रमणका साथै विभिन्न अंगमा हुने क्यान्सर, तिनको रोकथाम र शल्यक्रिया अघिपछिको हेरचाहबारे समेत पुस्तकले जानकारी दिएको छ। साधारण जानकारीको अभावमा महिलाहरूले कष्ट बेहोर्नुपरेको अनुभवका आधारमा उनीहरूको समस्यामा केन्द्रित रही पुस्तक तयार गरिएको ताम्राकारले बताए।

पुस्तकमाथि चर्चा गर्दै डा. सपना अमात्यले किशोरावस्थामा देखिने शारीरिक परिवर्तनदेखि रजोनिवृत्तिसम्मबारे सरल किसिमले लेखिएकाले कृति मेडिकल बुकजस्तै रहेको बताइन्। डा. आभा श्रेष्ठले सरल भाषामा लेखिएको यो पुस्तक पढ्न मेडिकल पर्सन नै हुनु नपर्ने बताइन्।

प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य तथा लेखक अमर न्यौपानेले पुस्तकको महत्त्वबारे भने, ‘स्वास्थ्य चौकीमा आउने हरेक महिलालाई सरकार तथा पालिकाले यो पुस्तक वितरण गर्नुपर्छ। समाजमा महिलाको विषयमा बोल्न अझै संकोच मान्ने समाजमा यो पुस्तकले धेरै जानकारी दिन्छ।’

कार्यक्रममा बोल्दै डा. पदमराज पन्तले भने, ‘महिला स्वास्थ्यका विविध पक्षलाई समेटेर लेखिएको यो पुस्तक विषयवस्तु र प्रस्तुतिका हिसाबले खँदिलो भएकाले प्रत्येक घरमा संग्रह गरेर राख्न उपयुक्त छ।’ 

प्रकाशित: १२ आश्विन २०८० ०४:०१ शुक्रबार

डा. सुमनराज ताम्राकार ‘स्वस्थ महिला’