स्वास्थ्य

हिमाली जिल्ला ताप्लेजुङमा ६ जनामा डेंगी संक्रमण

हिमाली जिल्ला ताप्लेजुङमा यो सिजनमा ६ जनामा डेंगी संक्रमणको पुष्टी भएको छ। ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर ओमप्रकाश थापा मगरका अनुसार संक्रमण पुष्टी भएका मध्ये चिकित्सकीय उपचार पछि ५ जना घरमै स्वास्थ्य लाभ आर्जन गरिरहेका छन्। संक्रमित ८० बर्षिय एक बृद्ध भने ताप्लेजुङ जिल्ला अस्पतालको उपचार कक्षमा चिकित्सकीय निगारानीमा रहेको समेत डाक्टर थापा मगरले जानकारी दिए।

‘प्राय संक्रमित सबै धरान,बिराटनगर र झापाबाट यता आउनु भएको पाइयो’डाक्टर मगरले भने। उनले केहिमा उतैतिर संक्रमण देखा परेको जानकारी दिए। प्राय बर्षभरी नै सितल हुने हिमाली जिल्लामा समेत डेंगी संक्रमित भेटिनु सामान्य नभएको समेत उनले बताए। चिकित्सकहरुका अनुसार डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्छ। बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेंगी सङ्क्रमण बढ्नुको एक कारक मानिएको छ। प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर,टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ।  

 

अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ। डेङ्गी सङ्क्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुने चिकित्सकहरु बताउँछन्। यसले एक पटकमा १ सय देखि ४ सय वटासम्म अण्डा पार्छ। यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु नहुने ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट थापा मगरले बताए । यो लामखुट्टेको स्वभाव घर वरिपरि र मान्छेको भिडभाडमा रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र रोग मानिसमा सर्ने उनको भनाई छ। घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोप्न,बिहान र दिउँसो टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाएर पनि डेंगीबाट बच्न सकिने चिकित्सकहरु बताउँछन्। आफ्नो घर वरिपरि,कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिन, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्न र घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउँदा पनि लामखुट्टे छिर्न नपाई डेंगी संक्रमणबाट बच्न सकिने चिकित्सकहरुको सल्लाह छ।

प्रकाशित: १५ श्रावण २०८० ०८:०९ सोमबार

डेंगी संक्रमण