स्वास्थ्य

दश फार्मेसी सिल, दुई दर्जनलाई सचेतना

एकै दिन १ सय १ वटा फार्मेसी अनुगमन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दश वटा फार्मेसी सिल गरेको छ भने दुइ दर्जन बढी फार्मेसीलाई सचेत गराएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था बिभाग र स्वास्थ्य सेवा बिभाग सहितको टोलीले अनुगमनको क्रममा उक्त फार्मेसीहरु सिल गरेको हो । टोलीले सोही दिन १ सय १ वटा फार्मेसी अनुगमन गरेको छ । अनुगमनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोेहन  बहादुर बस्नेत, औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको टोली ललितपुर क्षेत्रका फार्मेसी अनुगमन गरेको थियो ।  

अनुगमन टोलीका संयोजकहरुका अनुसार अर्कै फर्मासिस्टको सर्टिपिकेट राखेर फार्मेसी चलाइरहेकोको पाइएको जनाएका छन् । त्यसैगरी  विक्रि बितरण गर्ने अनुमती नै नल्याएर लागुऔषधजन्य तथा मानसिक रोगजन्य औषधी फार्मेसीबाट बिक्री बितरण गरेको, म्याद गुज्रिएको र नगुज्रिएको औषधी एकै ठाउँमा राखिएको,  

दर्ता नै नभएका र सरसफाईमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको छ । अनुगमनमा संलग्न डा. हेमन्त ओझाले आफूहरुले निरिक्षणको क्रममा दर्ता नै नगरि फार्मेसी सञ्चालन गरिरहेको पाएपछि सिल गरेको बताए । गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधी पसल फेला परेपछि दुई वटा सिल नै गरिएको अर्का टोलीका संयोजक सागर दाहालले बताए ।  

फार्मेसीहरुले फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाईरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पुरा नगरेको र अनुमति नलिएर समेत फार्मेसी चलाइरहेको गुनासो आएपछि मन्त्रीबस्नेतले देश भरि नै फार्मेसीहरुको अनुगमनलाई व्यापकता दिन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए ।  

छलफमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सोमबार गरिएको व्यापक अनुगमनले सबैको आँखा खोलेको बताउदै यसलाई भविश्यमा पनि व्यापकता दिइने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले अनुगमनबाट उपत्यकामै ठूलो संख्यामा फार्मेसी नियम बिपरित सञ्चालन भइरहेको पाइएकोले अनुगमनलाई निरन्तरता दिन औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई निर्देशन दिए ।  

जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने फार्मेसीलाई तत्काल कारवाही गर्ने र राम्रो तरिकाले चलेका फार्मेसीहरुलाई प्रशंसापत्र दिएर राम्रो काम गर्न प्रोत्साहन गर्न समेत मन्त्री बस्नेतले ढकाललाई सल्लाह दिए । औषधि व्यवस्था विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपुर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेहरुलाई औषधि विभागमा पठाउन मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिए । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले देश भरि नै अनुगमन भइरहेको र यसले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गरे ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बिभिन्न ठाउँमा औषधी पसलमा बेथीति भएको,स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले कम चिकित्सकले कम डोजको औषधी रेफर गरेपनि बढी डोजको औषधी दिने, चिकित्सकको सिफारिश बिना एन्टिवायोटिक दिने गरेको,फार्मेसिष्ट बिना औषधी पसल सञ्चालन गरेको, एउटाको नाममा औषधी पसल दर्ता गरेर अर्कैले औषधी बिक्री गरेको जस्ता गुनासो आएकोले अनुगमन कार्यलाई प्रभावकारी बनाउन टोली परिचालन गरेको मन्त्री बस्नेतले बताए ।  

प्रकाशित: ९ श्रावण २०८० ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App