स्वास्थ्य

चुरोट, खैनीको लत छुटाउन ‘निकोटेक्स’

फाइल तस्वीर

सरकारले खैनी, चुरोटको अम्मल छुटाउन वितरण गर्न थालेको ‘निकोटेक्स’ सकिएपछि अम्मलीहरू अप्ठेरोमा परेका छन्। पहिलोपटक प्रयोग गर्न आउने र फलोअपमा आउनेहरू निकोटेक्स सकिएपछि अप्ठेरोमा परेको वीर अस्पताल अन्कोलोेजी विभागले जनाएको छ। गत जेठ पहिलो सातादेखि अस्पतालले खैनी, चुरोटका अम्मलीलाई अम्मल छुटाउन परामर्श सेवासहित निकोटेक्स वितरण सुरु गरेको थियो।

सुर्तीजन्य पदार्थको अम्मल छाड्न चाहनेहरूका लागि परामर्शसहित निकोटेक्स दिन थालिएको हो। वीर र भक्तपुर क्यान्सर अस्पतालको अन्कोलोजी विभागको सुर्तीजन्य पदार्थको लत छुटाउने युनिटले यो सेवा सुरु गरेको हो।

सुर्तीजन्य पदार्थ छाड्न चाहनेलाई सुरुमा परामर्श दिएर बढीमा ६ सातासम्म स्वास्थ्यकर्मीको निगरानीमा ‘निकोटेक्स’ सेवन गर्न दिइन्छ। चुइँगमजस्तै हुने निकोटेक्स मुखमा खैनीजस्तै च्याप्न सकिन्छ। यसको प्रयोगपछि खैनी, चुरोटलगायत सुर्तीजन्य पदार्थको लत छोड्न सकिन्छ।

निकोटेक्स सकिएपछि फलोअपमा आउनेलाई अपुग भएको वीर अस्पताल अन्कोलोजी विभागको निकोटेक्स युनिटकी नर्स विमला रिसालले बताइन्। उनका अनुसार अस्पतालले प्रयोगकर्ताको आवश्यकता र प्रभाव हेरेर निकोटेक्स दिन्छ। निकोटेक्स सकिएपछि फलोअपमा आएका सबैभन्दा बढी मारमा परेको जानकारी उनले दिइन्। ‘फलोअपमा आउनेहरू निकोटेक्स नपाएर अलपत्र छन्, नयाँ आउनेले त पाएकै छैनन्’, उनले भनिन्। रिसालका अनुसार अस्पतालमा निकोटेक्स लिन आएका त्यसै फर्कन थालेका छन्।

सरकारले खैनी, चुरोटको अम्मल छुटाउन वितरण गर्न थालेको ‘निकोटेक्स’ सकिएपछि अम्मलीहरू अप्ठेरोमा परेका छन्।

भक्तपुर क्यान्सर अस्पतालले भने फलोअपमा आउनेलाई मात्र दिन थालेको छ। नयाँलाई दिन नसके पनि फलोअपमा आउनेको हकमा भने व्यवस्थापन गरिरहेको भक्तपुर क्यान्सर अस्पतालका अन्कोलोजिस्ट डा. रोशन श्रेष्ठले बताए।

भक्तपुर क्यान्सर अस्पतालकी निकोटेक्स सेवाकी नर्स राजमतीका अनुसार हालसम्म १६ जनाले यो सेवा लिएका छन्। तर नयाँ आउनेका लागि निकोटेक्स छैन।

ललितपुर सुनाकोठीका ३९ वर्षीय नवीन बराल एक दशकदेखि सुर्तीका अम्मली हुन्। यो अम्मल छोड्नुपर्छ भन्ने लागे पनि उनले खास उपाय भेट्टाउन सकेका थिएनन्। वीर अस्पतालमा सुर्तीजन्य पदार्थको अम्मल छुटाउने सेवा सुरु भएको कुरा अन्य अम्मलीबाट थाहा पाएपछि उनी अस्पताल पुगे।

सुरुमा स्वास्थ्यकर्मीले एक साताका लागि मात्र निकोटेक्स दिएर पठाए। त्यो प्रयोग गरुन्जेल सुर्तीको तलतल लागेन। निकोटेक्स सकिएपछि उनी थप मात्रा लिन वीरमा पुगे। तर वीरले सकिएको जवाफ दियो। त्यसपछि उनी फेरि सुर्ती सेवनतिर लागे। पुरा मात्रा निकोटेक्स पाएमा सुर्ती छाड्न सकिने आफूलाई लागेको उनले बताए। ‘थप निकोटेक्स आएपछि अस्पतालले दिने भनेको छ’, उनले भने।

भक्तपुर क्यान्सर अस्पतालले भने फलोअपमा आउनेलाई मात्र दिन थालेको छ। नयाँलाई दिन नसके पनि फलोअपमा आउनेको हकमा भने व्यवस्थापन गरिरहेको भक्तपुर क्यान्सर अस्पतालका अन्कोलोजिस्ट डा. रोशन श्रेष्ठले बताए।

निकोटेक्स सकिएपछि वीर अस्पतालको निकोटेक्स वितरण शाखाले सूचना टाँसेर कार्यकक्षको ढोका बन्द गरेको छ। सूचनामा लेखिएको छ, ‘अहिलेलाई अर्को सूचना नआएसम्मका लागि यो सेवा बन्द गरिएको छ।’ निकोटेक्स प्रयोग गर्न चाह्ने धेरै भएपछि सूचनामार्फत सकिएको जानकार गराउनुपरेको वीर अस्पताल अन्कोलोजी विभाग प्रमुख डा. विवेक आचार्यले बताए। ‘अब सरकारले पठाएमात्र दिन सक्छौं, पछिल्लो फलोअपमा आएकालाई दिन सकेनौं’, उनले भने।

निकोटेक्सले चुरोट, खैनीको जस्तै काम गरेकाले यसको प्रयोग अवधिमा सुर्तीजन्य पदार्थ सेवनतिर मन नजाने प्रयोगकर्ताहरूले बताएका छन्।

काठमाडौं मूलपानीकी ६० वर्षीया जानुका थापाले सानै उमेरदेखि चुरोट सेवन गर्थिन्। उनले चुरोट छाड्न चाहेर पनि उपाय भेटेकी थिइनन्। ‘त्यत्तिकै छाड्न खोज्दा तल–तल लागिहाल्छ’, उनले भनिन्। टिकटकबाट जानकारी पाएपछि उनी वीर अस्पताल पुगिन्। निकोटेक्स लिन सुरु गरेपछि चुरोटको तल–तल कम हुँदै गएको उनले बताइन्।

‘पहिला दैनिक नौवटा निकोेटेक्स प्रयोग गर्थें, अहिले दिनमा चारवटा लिन्छु’, उनले भनिन्। उनी निकोटेक्सलाई केही समय निरन्तरता दिन सके चुरोटको अम्मल छाड्न सकिनेमा उनी ढुक्क छिन्। ‘थप दुइ साता निकोटेक्स प्रयोग गर्न पाए चुरोट छोड्न सक्छु भन्ने लागेको छ’, उनले आइतबार नागरिकसँग भनिन्।

निकोटेक्सले चुरोट, खैनीको जस्तै काम गरेकाले यसको प्रयोग अवधिमा सुर्तीजन्य पदार्थ सेवनतिर मन नजाने प्रयोगकर्ताहरूले बताएका छन्।

भक्तपुरका २२ वर्षीय जम्मरसिंह तामाङले पनि निकोटेक्स प्रयोग गर्न थालेको दुई साता भयो। उनले अब चुरोट पुरै छाड्ने सकिने विश्वास लागेको बताए। ‘पहिला दिनमै धेरे खिल्ली चुरोट खान्थें, अहिले निकोटेक्स दिनमा एकपटक खान्छु, चुरोटको तलतल लाग्दैन’, उनले भने।

 सोही अस्पतालबाट निकोटेक्स लिएर प्रयोग गर्न थालेका गोविन्दबहादुर कार्की लामो समयदेखि चुरोटका अम्मली हुन्। निकोटेक्स प्रयोग गर्न थालेपछि आफूमा धेरै परिवर्तन आएको अनुभव उनले सुनाए। उनले चुरोटसँगै गुट्खा पनि सेवन गर्थे। निकोटेक्स प्रयोगपछि गुट्खाको लत छोडिसकेको उनले बताए। अब चुरोेट पनि छाड्न सकिन्छ भन्ने विश्वास उनमा पलाएको छ। ‘२० वर्षदेखि खाएको हो, पुरा मात्रा निकोटेक्स लिएपछि चुरोट पनि छाड्छु’, उनले भने।

सुर्तीजन्य पदार्थ छाड्न चाह्नेलाई सुरुमा परामर्श दिएर बढीमा ६ सातासम्म स्वास्थ्यकर्मीको निगरानीमा ‘निकोटेक्स’ सेवन गर्न दिइन्छ। चुइँगमजस्तै हुने निकोटेक्स मुखमा खैनीजस्तै च्याप्न सकिन्छ। यसको प्रयोगपछि खैनी, चुरोटलगायत सुर्तीजन्य पदार्थको लत छोड्न सकिन्छ। विश्व स्वास्थ्य संगठनको नमुना परियोजनाअन्तर्गत नेपालमा निकोटेक्स वितरण सुरु गरिएको हो।

अहिले अस्पतालामा चुरोट, खैैनीलगायत सुर्तीजन्य पदार्थ छाड्ने इच्छा लिएर निकोटेक्स लिन पुग्ने धेरै छन्। तर नयाँका लागि यो सेवा दिन सकिने स्थिति नभएकोे भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. प्रभु शाहले बताए। ‘नयाँ आउनेलाई थप निकोटेक्स आएपछि जानकारी दिन्छांै भनेर फर्काएका छौं’, उनले भने।

वीर अस्पतालकी नर्स रिसालका अनुसार अहिलेसम्म परामर्श दिएर मात्र निकोटेक्स वितरण गरिएको छ। परामर्शका क्रममा सुर्तीजन्य पदार्थको अम्मल छाड्न दृढ संकल्प व्यक्त गर्नेलाई मात्र निकोटेक्स दिइन्छ। निकोटेक्स प्रयोग अवधि दुईदेखि ६ सातासम्मको हुन्छ। विश्व स्वास्थ्य संगठनको नमुना परियोजनाअन्तर्गत नेपालमा चुरोट, खैनीलगायत सुर्तीजन्य पदार्थको सेवन छुटाउने औषधिका रूपमा निकोटेक्स वितरण सुरु गरिएको हो।  

प्रकाशित: ११ असार २०८० ०१:३० सोमबार

चुरोट खैनीको लत छुटाउन ‘निकोटेक्स’ वीर अस्पताल अन्कोलोजी विभागको निकोटेक्स युनिटकी नर्स विमला रिसाल