स्वास्थ्य

अस्थायी साधन प्रयोगमा महिलाको आकर्षण

बाजुरा- सानु बुढा (नाम परिवर्तन) उमेरले ४४ वर्ष पुगिन्। चार छोरा र दुई छोरी गरी ६ जना सन्तान छन्। उनको महिनावारी रोकिएको छैन् । श्रीमानसँगै बस्छन् । अर्को सन्तान हुन्छकी भन्ने डर छ उनलाई।

६ जना सन्तान भईसके, अब नभईदिए हुन्थ्यो, त्यसको उपाय खोज्दैछु, उनले भनिन्। गाउँमा मासिकाले परिवार नियोजनका अस्थायी साधान प्रयोग गर्न सल्लाह दिएपछि स्वास्थ्य संस्था पुगेकी बुढाले डिपो लगाउने निर्णय गरेकी छन्।

श्रीमानलाई सोधेँ, हुन्छ भन्नु भयो, तरपनि डिपो के हो ? थाह छैन्,सन्तान हुँदैनन् भन्ने सुनेर डिपो लगाउन रुगीन स्वास्थ्य संस्था पुगेकी बुढाले भनिन्  डिपो लगाउन बुढासँगै गाउँका अन्य महिलाहरुपनि सँगै थिए। पछिल्लो समय महिलाहरुको परिवार नियोजनका अस्थायी साधान प्रति आकर्षण बढेको स्वास्थ्यकर्मीले बताउने गरेका छन्।

संगीना बुढापनि सोही दिन स्वास्थ्य सस्था पुगेकी थिईन् । उनको समस्या पनि उही हो । सन्तानको रहर पुगेपछि उनले डिपो प्रयोग गर्न थालेकी हुन्। पुरुषकै सल्लाहमा डिपो प्रयोग गर्ने गरेको उनले भनिन्।

श्रीमानका लागि पनि अस्थायी साधान छन्, भन्छन्, तर कहिल्यै प्रयोग गर्दैनन्, डिपो लगाउन पनि सजिलै छ, तीन महिनाको एक दिन आयो, ढुक्क भईदो रैछ, बेला बुढाले थपिन् । उनले डिपो लगाउन सुरु गरेको महिना पुग्यो।

उनीहरु जस्तै अधिकांश महिलाको अस्थायी साधन प्रतिको आकर्षण बढेको स्वास्थ्यकर्मी बताउँछन्। कपटी, डिपो लगाउने महिलाको संख्या बजार क्षेत्र भन्दा गाउँमा बढी रहेको रुगीन स्वास्थ्य चौकी इन्चार्ज धनबहादुर फडेराले बताए । बच्चा नपाएका भर्खर विहे गरेकाले पिल्स चक्की पनि बढी प्रयोग गर्ने गरेको उनले थपे।

गाउँका महिला स्वास्थ्य संस्था आउन डराउने, आएपनि समस्या नबताउने, लजाउने गथ्र्ये पछिल्लो समय सचेतना बढेको पाइएको छ । रुगीनको क्वीडी स्वास्थ्य संस्थाबाट चार घण्टाको पैदल दुरीमा छ । तरपनि महिलाहरुले तोकिएकै समयमा सेवा लिन आउने गरेका छन्।

गर्भजाँच गराउन कम ध्यान दिन्छन्, डिपो लगाउने, पिल्स चक्की लिनेमा महिला बढी सचेत देखिन्छ, स्वास्थ्यकर्मीको भनाई छ । सन्तान धेरै भए पालन पोषण गर्न समस्या हुने र भविष्य राम्रो नहुनेमा उनीहरु चिन्तित छन्।

जिल्लाको अवस्था हेर्दा तथ्याकंमा भने घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तीन वर्षको प्रतिवेदन हेर्दा वर्षेनी घट्दै गएको छ। जसमा आर्थिक वर्ष २०७०/०७१ मा ३६ प्रतिशत, २०७१/०७२ मा ३२ प्रतिशत र २०७२।७३ मा घटेर ३१ प्रतिशत रहेको छ।

बजार क्षेत्रमा महिला नीजि मेडिकलको प्रयोग गर्ने र गोपनीयता राख्ने गर्दा पनि अस्थायी साधान प्रयोग गर्नेको संख्या तथ्याकंमा कमी आएको जिल्ला स्वास्थ्यको भनाई छ। ग्रामिण क्षेत्रमा पछिल्लो समयमा संख्या उल्लेख्य बढेको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए।

महिलाको प्रजनन उमेर १५ बर्ष देखि ४९ वर्ष सम्म हुन्छ। जिल्लाका ग्रामीण बस्तीका महिलाले केही वर्षअघि पाँच देखि १० सन्तान जन्माउने गरेका तथ्य छन्।

 

प्रकाशित: १७ वैशाख २०७४ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App