स्वास्थ्य

गेटा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिमबासी आन्दोलित

आज सुदूरपश्चिम बन्द

फाइल तस्बिर

कैलालीको गेटामा मेडिकल विश्वविद्यालय स्थापना गरिनुपर्ने माग राख्दै सुदुरपश्चिममा आन्दोलन चर्किदै गएको छ। एक सातादेखि सडक वहस, प्रदर्शन, चक्काजाम, धर्ना लगायतका संघर्षको कार्यक्रम गर्दै आएको शहिद दशरत चन्द राष्ट्रिय स्वास्थ्य बिज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितीले आइतबार सुदूरपश्चिममा आमहडताल गरेको छ।  

मेडिकल माफिया र भ्रष्टाचारी नियतका नेताहरुको गठजोडले गेटामा मेडिकल विश्वविद्यालय बनाउने काम विफल पार्ने प्रयास भैरहेको उल्लेख गर्दै शालिन र अनुशासित ढंगले विरोधका कार्यक्रम गरेर गरेका सुदूरपश्चिम वासिका माग नसुनेकाले आमहड्ताल गर्न वाध्य हुनुपरेको संघर्ष समितीका संयोजक लोकराज पाण्ड्ेय(आगो) ले बताएका छन। गेटा मेडिकल बिश्वबिद्यालयको माग राखेर भैरहेको आन्दोलनमा याहाँका सबै वासिन्दाको समर्थन भएकाले आईतवार बन्दको पुर्ण प्रभाव परेको छ। यस अघि बन्दको बिरोध गर्ने यतायात व्यवासायीको संगठन, व्यापारीको छाता संगठन उद्योग वाणिज्य सँघ, बिभिन्न विद्यार्थी संगठन लगायतले पनि बिज्ञप्ती जारी गरेर नै मेडिकल विश्वविद्यालयको माग राखेर गरिएको आमहड्तालमा एक्यबद्धता जनाएका छन।

मेडिकल विश्वविद्यालय स्थापनाको माग राखेर गरिएको बन्दमा यतायात व्यवसायी, उद्योगी, व्यापारी, वुद्धिजिवी, पत्रकार, नगारिक समाज, राजनीतिक कर्मी र आम जनसुमुदायको समर्थन रहेको संयोजक पाण्डेयले बताएका छन। सरकार गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने आफ्नै निर्णयबाट पछि हटेर बजेटमा स्वास्थ बिज्ञान प्रतिस्ठान बनाउने घोषणा गरेपछि सुदूरपश्चिम वासी आन्दोलित भएका हुन्। प्रतिपक्ष दल नेकपा एमालेले सरकारको निर्णयको बिरोधमा प्रदर्शन गर्दै आएको छ भने संघर्ष समितीले मेडिकल विश्वविद्यालय स्थापना गरिनुपर्ने माग राखेर गरेको आन्दोलनमा याहाँ स्थित सबै राजनीतिक दलको समर्थन छ। तर आज गरिएको बन्दमा भने नेपाली काग्रेस र नेकपा माओवादी(केन्द्र) को असहमती छ। यी दुई दलले बिज्ञप्ती जारी गरेर नै बन्द फिर्ता लिन आह्वान गरेका थिए।

गत माघ २९ गते मन्त्रिपरिषदको बैठकले गेटामा शहिद दशरत चन्द राष्ट्रिय स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। भने जेठ ५ गते राष्ट्रपतिले संघिय सदनमा प्रस्तुत गरेको निती तथा कार्यक्रममा पनि गेटा विश्वविद्यालय स्थापना गर्ने उल्लेख गरिएको थियो। जेठ १५ गते प्रस्तुत गरिएको बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिस्थान स्थापाना गर्ने भनेर उल्लेख गरिएपछि याहाँका वासिन्दा विरोधमा उत्रेका हुन्। करिव डेढ साता देखि निरन्तर बिरोधका कार्यक्रम गर्दै आएपनि सरकारका तर्फबाट कुनै जवाफ नआएकाले आन्दोलन चर्किएको छ। अर्बौका संरचना बनिसकेको गेटामा तत्काल अस्पताल संचालन गरिनुपर्ने र मेडिकल विश्वविद्यालय स्थापना हुनुपर्ने यहाँका वासिन्दाको माग छ। बिगतका वर्षमा पनि गेटामा मेडिकल विश्वविद्यालय बनाउन हुने गरेका अनेक अड्चनका विरुद्ध पटक पटक स्थानिय वासिन्दाले संघर्ष गरेका थिए।

मेडिकल माफिया सँग भ्रष्ट नेताहरुको साँठगाठका कारण गेटामा तुरुन्तै ३, ४ सय शैयाको अस्पताल संचालन गरेर याहाँका वासिन्दालाई उपचार दिन सकिने भएपनि यो हुन नदिएर बनेका संरचना अलपत्र पार्ने काम भैरहेको स्थानिय बताउँछन। ‘गेटामा अस्पताल संचालन हुन नदिन र मेडिकल विश्वविद्यालय स्थापना हुन नदिन मेडिकल माफिया पुरै तागत लगाएर लागिपरेका छन’एक चिकित्सकले भने, ‘जनताको आन्दोलनको वलले हुन सके फरक कुरा हो, नत्र कहिले मेडिकल विश्वविद्यालय बनाउने, कहिले प्रतिस्ठान बनाउने, कहिले अन्य कुनै बिषय ल्याएर यसलाई जतिसक्यो त्यति पछाडी धकेल्ने चलखेल भैरहेको छ’। गेटामा बनेका अर्वौका संरचना अलपत्र परेका छन।  

तीन दशक देखिको सुदूरपश्चिम बासिको सपना  

करिव तीन दशक अघि सुदूरपश्चिमका जनताले गेटा मेडिकलको सपना देखेर अवाज उठाए। याहाँका जनताले माग गरेको एक दशक पछि विं.सं. २०६६ मा सरकारले गेटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेर बजेट बिनियोजन गर्यो। विभिन्न अवरोध र लापरवाहीका कारण त्यसको दुई दशक बितिसक्दा मात्र भौतिक संरचना निर्माण लगायतको करिव ९० प्रतिशत काम सम्पन्न हुन सक्यो। शुरु देखि नै सुस्त गतिमा अघि बढेको प्रस्तावित गेटा मेडिकल कुन प्रारुपमा संचालन गर्ने भनेर सरकारले शुरुमा ऐन बनाउन चासो नै दिएन।  

गेटा मेडिकल कलेज संचालन कुन प्रारुपमा गर्ने भनेर सरकारले ऐन नबनाउदाँ उपकरण,जनशक्ती र मेडिकल कलेज भित्र आवश्यक अन्य सेटअपको काम हुन सकेका छैनन्। गेटामा करिव साढे ४ अर्वको लागतमा ५१.८ हेक्टर क्षेत्रफलमा निर्माण भएका भवनहरु प्रयोग बिहिन भएर जिर्ण हुने चिन्ता उत्पन्न भएको युवा नेता आनन्द भट्ट बताउँछन।

अस्पताल, कलेज, छात्रवास, आवाश लगायत भवनहरु तयार भइसकेका छन्। अस्पताल, कलेज सञ्चालनका लागि आवश्यक भवन लगायत ३० वटा  भन्दा बढी आधुनिक भवनहरु निर्माण भइसकेका छन्।

मेडिकल कलेजको गुरुयोजनामा आर्थिक वर्ष २०७६÷०७७ मा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिइएको थियो। तर पूर्वाधार निर्माणमा ढिलाइ भएपछि सञ्चालनको लक्ष्य २०७८ मा सारिएको थियो। सरकारले २०६६ सालमा गेटा मेडिकल कलेज स्थापनाको निर्णय गरे पनि रुख कटानको आदेश नपाउँदा लामो समयसम्म पूर्वाधार निर्माण शुरु हुन सकेको थिएन। स्थानियले बन्चरो लगेर आफै रुख काटेर बिरोध प्रदर्शन गरेका थिए। २०७१ मा प्रशासनिक भवनको शिलान्यास भएको थियो तर साइड विवादका कारण उक्त काम पनि अगाडि बढ्न सकेको थिए। रुख कटानको आदेश पाएसँगै २०७३ बैशाखदेखि नयाँ संरचना निर्माणको काम शुरु भएको हो।

राम्रो र आधुनिक सुविधा सहितको अस्पताल यस क्षेत्रमा नहुदाँ सर्वसुलभ स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने वाध्यता रहेका सुदूरपश्चिम प्रदेश वासिको गेटामा मेडिकल विश्वविद्यालय र सुविधा सम्पन्न अस्पताल संचालन भएको देख्ने सपनामा मेडिकल माफियाको चलखेलले तुषारापात हुदै आएको छ।

प्रकाशित: २८ जेष्ठ २०८० ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App