स्वास्थ्य

जलेका विरामीमा प्रत्यारोपण गर्ने ‘छाला’ अभाव, खाली छ एक मात्र छाला बैंक

जनचेतना अभाव, दान गर्न डराउँछन सर्वसाधारण

कीर्तिपुर बर्न अस्पतालले सन् २०१४ मा छाला बैंक स्थापना गर्‍यो। तर विगत ९ बर्षमा मात्र ३१ जनाले मात्र छाला दान गरे।

दान  भएको छाला धेरै जलेका बिरामीहरुको शरिरमा प्रत्यारोपण गरिनछ। तर छाला दान गर्न सर्वसाधारणहरु नै आउँदैनन।

चिकित्सकका अनुसार ३० प्रतिशतभन्दा बढी गहिरो जलन भएका बिरामीलाई आफ्नै छालाले पुग्दैन। त्यस्तो अवस्थामा अरुको मानिसको छाला प्रत्यारोपण गरेर बिरामी बचाइन्छ। छाला लिने काम दाताको मृत्युपश्चात गरिन्छ। मृत्यु भएको ६ घण्टा वा शव फ्रिजमा भए १२ घण्टाभित्र छाला निकाल्न मिल्छ।

कीर्तिपुर बर्न अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा.किरण नकर्मी मृत्यु पश्चात गरिने छाला दानमा कागज जस्तो पातलो छाला निकाल्ने र भित्रि छालाको केहि भाग छाला बाँकी राखेर नै निकाल्ने बताउँछन्। त्यस्ता दान भएको छालाबाट २ जनालाई बचाउन सकिने उनले बताए। ‘एक जना मान्छेको छालाले दुई जना बचाउन सकिन्छ’, उनले भने, ‘दान भएको छालालाई ५ वर्षसम्म भण्डारण गरेर प्रयोग गर्न मिल्छ।’

डा.नकर्मी भन्छन्,‘छाला बैंक कुनै पनि बिरामीको शरिर ३० प्रतिशत भन्दा बढी जलेको छ भने आफ्नो छालाले पुग्दैन्। सकेसम्म आफ्नै छाला प्रत्यरोपण गर्नु सबैभन्दा राम्रो हो। तर नपुगेको अवस्थामा मृत्यु पश्चात गरिने छालादानबाट पाइएको छालालाई प्रयोग गरि बचाउन सक्छौं।’

नेपालमा छालादानसम्बन्धी जानकारी र जनचेतना नै कम भएका कारण छाला दान नहुने गरेको उनको तर्क छ।

‘नेपालमा छालादानको बारेमा जनकारी नै छैन्। कतिपय मान्छेलाई मरेपछि स्वर्ग पुग्न सग्लै शरीर जानुपर्छ भन्ने बुझाई छ’, उनले भने, ‘विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा हामीले जनचेतना फैलाइरहेका छौं। तरपनि दान दिन आउनेको संख्या बढेको छैन।’

नेपालमा छाला दान नहुँदा भारतबाट छाला ल्याउनु परेको डा.नकर्मीको भनाइ छ। तर त्यसरी भारतबाट छाला ल्याउदा लाखौं खर्च लाग्ने उनले बताए।

‘बाहिरबाट छाला ल्याउन अत्यधिक महँगो छ। हामीले छाला मुम्बइबाट ल्याउने गर्दछौं। बिरामीको मान्छे छाला लिन जानुपर्छ। छाला को नै ४०/५० हजार भारतीय रुपैया पर्छ। त्यहा“ जान/आउन बस्नका लागि गर्ने खर्चको हिसाब गर्दा लाखौं रुपैया हुन आउँछ। त्यसैले नेपालमै दान भयो भने त त्यति खर्च हुन आउदैन्’ , डा. नकर्मीले भने।

अहिले नेपालमा दान गरेको छाला बाँकी नभएको उनले जानकारी दिए। डा. नकर्मीका अनुसार १८ वर्षभन्दा माथिका मृतकको पेट, तिघ्रा, खुट्टा र हातको छाला प्रत्यारोपण गरेर जलेका बिरामीलाई बचाउन सकिन्छ।

गम्भीर जलन भएका मानिसको प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले उनको शरीरले प्रत्यारोपण गरिएको छालाले तीन हप्ता चिन्दैन।

‘तीन–चार हप्तापछि बिरामीको प्रतिरक्षा शक्ति बढ्दै जाँदा बिरामीको शरीरले प्रत्यारोपण गरिएको छाला फाल्दै गएर नयाँ छाला पलाउन थाल्छ’, डा. नकर्मी भन्छन्, ‘त्यसरी प्रत्यारोपण गरिएको अरुको छालाले जलेका बिरामीलाई बचाउँछ।’

कीर्तिपुर बर्न अस्पतालको अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ। कमजोर आर्थिक अवस्था भएकाहरु नै बढी जलनको बिरामी हुने गरेको पाइएको छ। उपचारमा पटक–पटक शल्यक्रिया र महँगो औषधि लाग्ने हुँदा उनीहरुको धेरै खर्च हुने गरेको छ।

सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन। तर छालाको विकल्पमा प्रयोग गर्ने साधनहरु धेरै भएपनि नेपालमा भने त्यो प्रयोग गर्न सक्ने अवस्था नभएको डा. नकर्मीको भनाइ छ।

छाला नभएको अवस्थामा बिरामीको आफ्नै छालालाई धेरै फैलाउने गरेको उनले बताए। अस्पतालमा अहिले मिट माइक्रोग्राफ्स भन्ने प्रविधिबाट छाला बढाउने गरेको उनले बताए। 

डा. नकर्मीले भने,‘अस्पतालमा अहिले मिट माइक्रोग्राफ भन्ने प्रविधि प्रविधि छ। त्यसबाट हामीले बिरामीको १ भाग छालालाई ९ भागसम्म बढाउने गर्दछौं। त्यो पनि महँगो छ। त्यसलाई चाहिने सामानहरु बिरामीलाई किन्न लगाउने गरेका छैनौ। विभिन्न संघसंस्थाको सहयोगमा चलाइरहेका छौं।’ 

छाला दान गर्न चाहानेले कीर्तिपुर बर्न अस्पतालमा गएर छाला दानको फर्म भर्नुपर्ने हुन्छ। यदि मृत्यु पश्चात पनि परिवाले छाला दान गर्न चाहेमा दान गर्न सक्नेछन्। मृत्यु भएको ६ घण्टाभित्र छाला निकाल्नुपर्ने हुन्छ।  

प्रकाशित: २८ फाल्गुन २०७९ १४:०४ आइतबार

कीर्तिपुर बर्न अस्पताल डा.किरण नकर्मी छाला दान