स्वास्थ्य

ताप्लेजुङमा सञ्चालित आँखा शिविरमा १ सय ८ जना आँखाका बिरामीले पाए शल्यक्रिया सेवा

ताप्लेजुङ सदरमुकाम फुङलिङमा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा १ सय ८ जनाको आँखाको शल्यक्रिया गरिएको छ। नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार ९३ जनाको मोतिया बिन्दुका बिरामी र १५ जनाको साधारण गरी कूल १ सय ४ जनाको आँखाको शल्यक्रिया गरिएको हो। 

त्यसमध्ये दुबै आँखाका समस्या भएका ७ जनाको शल्यक्रिया गरिएको नेत्र ज्योति संघले जनाएको छ। शिविरमा २ सय ६९ महिला र २ सय ४५ पुरुष गरी कूल ५ सय १४ जनाले आँखाको परीक्षण तथा उपचार सेवा लिएका छन्।  नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा फुङलिङ नगरपालिका,सेवा फाउण्डेसन,लायन्स क्लव अफ काठमाण्डौ,हाम्रो रुपान्तरण अभियान,सानिमा मध्य तमोर जलबिद्युत परियोजना र सानिमा बैंकको साझेदारीमा आँखा शिविर सञ्चालन गरेको हो। 

मेची आँखा अस्पताल झापाका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीको नेतृत्वमा आएको चिकित्सक तथा प्राविधिक सहित १३ जनाको टोलीले उपचार तथा परीक्षण गरिरहेको छ। पूर्व प्रहरी संगठन ताप्लेजुङ र फुङलिङ स्थित लिटलबुद्ध आवासीय माविले स्वयंसेवी सेवा पु¥याई रहेको नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ। फुङलिङको शिविर सकिनासाथ मेची आँखा अस्पतालको यहिँ टोलीले पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकस्थित आँखा उपचार केन्द्रको भवनमा मंसिर २४ र २५ गते दुईदिने निःशुल्क शिविरमा चिकित्सकीय तथा प्राविधिक सहयोग पु¥याउने भएको छ। 

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा यासोक बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। त्यहिँ केन्द्रमा शिविर सञ्चालन हुन लागेको हो। मेची आँखा अस्पतालका नेत्र अधिकृत कविता कार्की कडरियाले आँखाका समस्या भएका बिरामीहरुको सेवाका लागि कार्य व्यस्ततालाई व्यवस्थापन गरेर मेची आँखा अस्पतालको टोली पूर्वी पहाडी जिल्लामा सञ्चालित आँखा शिविरमा प्राविधिक सहयोगको क्रममा खटिएको बताइन्। यासोक बजारमा नेत्र ज्योति संघले अघिल्लो बर्ष पनि शिविर आयोजना गरेका थियो। नेत्र ज्योति संघ ताप्लेजुङले पाँचथरकै याङ्वरक गाउँपालिकास्थित थर्पु बजारमा समेत आँखा उपचार केन्द्र सञ्चालनको तयारी गरिरहेको छ। नेत्र ज्योति संघ ताप्लेजुङ शाखाका सभापति मुक्तिराज पौडेलले अबको केहिदिनमै थर्पु बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आउने बताए। ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक साझेदारीमा दोभान बजारमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ। डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज गुरुङले फागुन महिनामा मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी आँखा शिविर सञ्चालन गर्ने प्रारम्भिक कार्ययोजना तयार भएको जानकारी दिए। 

प्रकाशित: २३ मंसिर २०७९ ०७:२७ शुक्रबार

ताप्लेजुङ फुङलिङ