शिक्षा

बाँके २ ‘शैक्षिक हब’ बनाउने कांग्रेसको संकल्प

बाँके प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा २(१) र (२) का उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रलाई शैक्षिक हब बनाउने संकल्प गरेका छन्। नेपालगन्जमा सोमबार निर्वाचनलक्षित संकल्प पत्र विमोचन गर्दै उनीहरूले यस्तो संकल्प गरेका हुन्।

उक्त कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेशसभा २(१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेशसभा २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हामाले क्षेत्र नं २ मा रहेका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका क्षेत्रलाई शैक्षिक हब बनाउने प्रमुख संकल्प रहेको बताए। शिक्षाको विकास भएपछि मात्र समग्र रूपमा क्षेत्रकै समृद्धि हुने भएकाले यसलाई प्रमुखताका साथ उठाइएको उम्मेदवारहरूको जोड छ। पश्चिम नेपालका लागि नेपालगन्ज सहर शिक्षाको केन्द्र रहेकाले यस क्षेत्रमा रहेका विद्यालयहरूको स्तरोन्नतिका लागि आफूहरूले प्रमुख एजेन्डा बनाएर लैजाने बताए।

सार्वजनिक गरिएको संकल्प पत्रमा नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसलाई स्तरोन्नति गर्न विशेष जोड दिइएको छ। उक्त क्याम्पसलाई नेपालगन्ज विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्दै डिजिटल प्रणालीमा लैजाने उल्लेख गरिएको छ।

त्यस्तै मंगलप्रसाद कन्या क्याम्पसका छात्राहरूलाई उपयोगी नवीन विषयमा अध्ययनका लागि प्रोत्साहित गर्ने, यस क्षेत्रका विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन प्रशिक्षण र प्रविधि प्रयोग गर्ने, प्राविधिक उच्च शिक्षालाई प्राथमिकता दिँदै भेरी प्राविधिक शिक्षालयलाई प्रतिष्ठानका रूपमा विकास गर्ने, डुडुवा गाउँपालिकामा उच्च शिक्षाका लागि क्याम्पस स्थापनादेखि प्राविधिक धारका विषय अध्यापन गर्ने, छात्राहरूका लागि पुस्तक तथा छात्रवृत्तिको व्यवस्था, नैतिक शिक्षाका लागि संस्कृत, उर्दू र अवधी भाषालाई प्रोत्साहन गर्ने संकल्प गरिएको छ।

यस्तै स्वास्थ्य क्षेत्रलाई सुधार गर्न भेरी अस्पताललाई मेडिकल कलेजका रूपमा रूपान्तर गर्ने संकल्प गरिएको छ। स्वास्थ्य बिमालाई सरल र सुलभ बनाउने, प्रत्येक नागरिकलाई स्वास्थ्यको पहुँच, डुडुवा क्षेत्रमा निःशुल्क प्रयोगशाला, एम्बुलेन्स, ज्येष्ठ नागारिक उपचार, पशुपालक किसानलाई निःशुल्क पशु उपचार, बिमा तथा सम्पूर्ण नागरिकलाई सबै किसिमका औषधी निःशुल्क उपलब्ध गराउने कार्यक्रम ल्याउने कांग्रेसले संकल्प गरेको छ।

यहाँको कृषि क्षेत्रलाई पनि सबल बनाउन विभिन्न किसिमका कार्यक्रम ल्याउने संकल्प गरिएको छ। किसानलाई सहज रूपमा मलखाद, बीउविजन उपलब्ध गराउने, घरमा रहेका फोहोरबाट कम्पोस्ट मल उत्पादन, सिक्टा सिँचाइलाई व्यवस्थित बनाई किसानलाई नहरसँग जोड्ने, ग्रामीण वडा तथा डुडुवालाई तरकारी पकेट क्षेत्रमा विकास गर्ने, कोल्ड स्टोरको व्यवस्थापनलगायतलाई संकल्प पत्रमा समेटिएको छ। त्यसैगरी खानेपानी तथा सरसफाइका लागि राप्ती नदीको पानीलाई खानेपानीमा रूपान्तर गर्ने, ल्यान्डफिल साइडलाई प्रविधियुक्त बनाउने, ठाउँठाउँमा आवश्यकताअनुसारका सार्वजनिक शौचालय निर्माण, मूल सडक र राजमार्गका दुवैतिर वृक्षरोपण गर्ने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको छ।

प्रकाशित: १ मंसिर २०७९ ०२:२८ बिहीबार

आम निर्वाचन २०७९