शिक्षा

नमूना मावि गाईघाटलाई भारतीय दुतावासको स्कुल बस

प्रअ विष्ट र अध्यक्ष पाण्डेलाई बसको साँचो हस्तान्तरण गर्दै मन्त्री खड्का।

भारतीय दुतावासले गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालय (१–१२) लाई स्कुल बस उपलब्ध गराएको छ।

टाढाटाढाका विद्यार्थीलाई घर–विद्यालय आउजाउ गर्न सहज बनाउने उद्देश्यले विद्यालयको आग्रह अनुसार दुतावासले बस उपलब्ध गराएको हो। प्राप्त स्कुल बस मंगलबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले विद्यालयलाई हस्तान्तरण गरे।

विद्यालय परिसरमै आयोजित एक कार्यक्रममा प्रधानाध्यापक (प्रअ) सुभाष विष्ट र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद पाण्डेलाई मन्त्री खड्काले बसको साँचो हस्तान्तरण गरे। विद्यालयको आग्रह अनुसार दुतावासले पहिलो चरणमा स्कुललाई एउटा बस उपलब्ध गराएको हो। केही समयपछि थप बस दिने प्रतिबद्धता जनाएको छ।

बसको साँचो हस्तान्तरण गर्दै डा. खड्काले छिमेकी मुलुक भारतले परापूर्वकालदेखि नेपाललाई सहयोग गर्दै आएको सिलसिलामा स्कुल बस दिएको बताए। उदयपुर निर्वाचन क्षेत्र १ का संघीय सांसदसमेत रहेका खड्काले नेपालको हरेकक्षेत्रमा भारतले सहयोग गर्दै आएको स्मरण गर्दै खासगरी शिक्षाक्षेत्रको सहयोग निकै फलदायी र उपलब्धीमूलक भएकोमा प्रशंसा गरे।

डा. खड्काले उदयपुरमा भारत सरकारको सहयोगले दर्जन बढी विद्यालय र क्याम्पस भवनहरु निर्माण भइसकेको बताउँदै अन्य क्षेत्रमा पनि सहयोग गर्ने भारत नेपालको एक ‘सच्चा मित्र राष्ट्र’ भएको बताए। विव्यस अध्यक्ष पाण्डेले दुतावासले ३ वर्षअघि नै विद्यालयलाई बस उपलब्ध गराउने तयारी गरेकोमा कोभिड कहरले गर्दा अहिले आएर पाएको बताए।

दुतावासलाई ३ वर्षअघि नै ४ वटा बस सहयोग मागे अनुसार दिने तयारी हुँदाहुँदै कोभिड महामारी आइपरेपछि रोकिएर महामारी साम्य भएपछि बस दिएको पाण्डेले बताए। ‘हामीले बस सहयोग माग्दै ०७५ भदौमै दुतावासलाई पत्राचार गरेका थियौँ’ अध्यक्ष पाण्डेले भने ‘त्यतिबेलै दिने भन्दाभन्दै कोभिडले रोकियो, बल्ल कोभिड साम्य भएकाले एउटा पाइएको छ।’ अझै ३ वटा बस थपिदिने प्रतिबद्धता दुतावासले जनाएको उनले बताए। त्रियुगा माविले पाएको बस टाढाका विद्यार्थीलाई घर–विद्यालय गर्न प्रयोग गर्ने जनाएको छ।

पढ्न चाहे पनि भौगोलिक रुपमा टाढाका विद्यार्थीलाई ग्राह्यता दिएर सेवा दिने प्रअ विष्टले बताए। लालपत्ता, कालीखोला, चुहाडे, जलजलेलगायत टाढाका विद्यार्थी ओसार्न बसको उपयोग गरिने बताउँदै प्रअ विष्टले अरु बस थपिएपछि सबैतिर चलाउन सहज हुने बताए।

उनका अनुसार छिमेकी जिल्लाहरु सिराहा र सप्तरी सीमा जोडिएको लालपत्तासम्मका विद्यार्थी सुरुमा लाभान्वित हुनेछन्। सदरमुकामको पनि मुटुस्थलमा रहेको एक मात्र अगुवा सामुदायिक विद्यालय त्रियुगामा नेपाली र अंग्रेजी दुबै माध्यममा पठनपाठन हुँदै आएको छ।

प्राविधिक धारतर्फ कक्षा ९ देखि नै सिभिल इन्जिनियरिङमा पढाइ भइरहेको विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन, आम सञ्चार, शिक्षा र कम्प्युटर विज्ञानमा पढाइ भइरहेको प्रअ विष्टले बताए। हाल शिशुदेखि कक्षा १२ सम्म अंग्रेजी माध्याममा १ हजारसहित २ हजार ८ सय ४५ विद्यार्थी सो विद्यालयमा अध्यनरत रहेको विष्टले बताएका छन्।

प्रकाशित: २१ असार २०७९ ०८:०९ मंगलबार

भारतीय दुतावास त्रियुगा नमूना माध्यमिक विद्यालय