शिक्षा

सरकारी आदेश लत्याउँदै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन

फोटो क्याप्सनः विद्यालय जाँदै बालबालिका। तस्विरःमिथिलेश/नागरिक

सरकारले विद्यालय तथा शैक्षिक संस्थाहरूमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक उपस्थितिमा संचालन नगर्न निर्णय गरेको छ।

मधेस प्रदेशका जिल्ला संकट व्यवस्थापन केन्द्रहरूले पनि भौतिक उपस्थितिमा कक्षा संचालन गर्न नपाउने निर्णय गरेको छ। तर सरकारी निर्णय लत्याउँदै संस्थागत(निजी) विद्यालयका संचालकहरू भौतिक उपस्थितिमा विद्यालय संचालन गर्दै आएको छ।

कोरोना महामारीको तेस्रो लहर सुरुवात भएपछि  सरकारले पहिलो चरणमा माघ १५ गते र दोस्रो चरणमा माघ मसान्तसम्मका लागि भौतिक उपस्थितिमा विद्यालय संचालन नगर्न भनेको छ। परीक्षणको दायरामा आउनेमध्ये करिब ४० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भैरहँदा संक्रमणको जोखिम व्यापक छ।

सरकारी निर्णय अवज्ञा गर्दै भौतिक उपस्थितिमा पठनपाठन संचालन हुँदा बालबालिकामा संक्रमणको जोखिम बढेको छ। अभिभावक, विद्यार्थी, शिक्षकहरू त्रासका बीच शैक्षिक गतिविधिमा जुट्दा संक्रमण झनै फैलिने हो कि भन्ने चिन्ता पनि बढेको छ ।

मधेस प्रदेशको जनकपुरधामसहित सिरहा, सप्तरीलगायतका जिल्लामा भौतिक रूपमै शिक्षक–विद्यार्थी कक्षाकोठामा जुटेर पठनपाठन हुन थालेको छ । विद्यालयले भौतिक उपस्थितिमा थालेको पठनपाठनबारे स्थानीय प्रशासन र स्थानीय तह चुपचाप छ।

जिल्ला सकट व्यवस्थापन केन्द्र सप्तरी र सिरहाले सूचना जारी गरेर भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन नगर्न भनेको छ।  जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गराउन थालेपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सूचना जारी गरी भौतिक रूपमा विद्यालय, कलेज, तालिम केन्द्र र परीक्षा सञ्चालन नगर्न आदेश जारी गरेको छ।

जिल्लामा कोरोना संक्रमण फैलिएकाले शिक्षण संस्थालगायत भीडभाड हुने गतिविधिमा रोक लगाइएको समेत प्रजिअ गौतमद्वारा जारी आदेशपत्रमा उल्लेख छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले पनि भौतिक रूपमा शैक्षिक गतिविधि सञ्चालनमा रोक लगाएको छ। ‘यहाँका विद्यालयले भौतिक उपस्थितिमा कक्षा चलाएको पाइको छ’ प्रजिअ कवाडीले भने,‘सरकारी निर्णय अवज्ञा गरी भैरहेको कार्य मंगलबारबाट बन्द हुन्छ। सरकारी आदेश अवज्ञा गर्नेउपर कारवाही अघि बढाउँछौं, उनले भने।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादव भन्छन्,‘कोरोना संक्रमणको जोखिम व्यापक रहेको हुँदा भौतिक उपस्थितिमा कक्षा संचालन केहि समय रोक्दा नै उपयुक्त हुन्छ।’ वैकल्पिक सिकाइ विधिबाट(भर्चुअल) कक्षा सञ्चालन गर्दा बालबालिका तुलनात्मक रुपमा सुरक्षित रहन्छ, उनले भने।

सरकारी आदेश उलंघन गरी भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा त्यसको जिम्मेवारी सम्बन्धित शिक्षण संस्थाले लिनुपर्ने उनले बताए। प्रशासनले आदेश कार्यान्वयनमा कडाईका साथ अघि बढ्नुपर्ने उनले भने।

जनस्वास्थ्य विज्ञहरुले जोखिमको ख्याल नै नगरी जनस्वास्थ्य मापदण्ड समेत पूरा नगरेर तत्काल भौतिक रूपमा पठनपाठनलाई निरन्तरता दिँदा बालबालिकामा संक्रमणको जोखिम बढ्न सक्ने बताउँछन्।  

विद्यालयहरुमा अधिकांश शिक्षक, विद्यार्थी र कर्मचारीले मास्क लगाउँदैनन् । भौतिक दूरी कायम गर्दैनन्। कक्षाकोठा, खानेपानी, शौचालय, चमेना गृह सुरक्षित छैनन्। जसले विद्यार्थी–विद्यार्थी, विद्यार्थीबाट शिक्षक र शिक्षकबाट विद्यार्थीलाई पनि संक्रमण फैलिन सक्ने जोखिम छ।

स्थानीय स्तरमा कोरोना संक्रमणको अवस्था विश्लेषण गरिएको छैन। संक्रमणको अवस्था विश्लेषण बिना शिक्षण संस्थामा(विद्यालय) भौतिक उपस्थितिमा पढाई सञ्चालन गर्नु जोखिम बाहेक केहि नभएको जनस्वास्थ्य विज्ञहरु बताउँछन्।

एउटा कक्षा कोठामा कम्तिमा ४० जना विद्यार्थी हुन्छन्। एउटा बेन्चमा तीन देनि चार जना विद्यार्थी कोचिएर बस्छन् । विद्यार्थी ओर्सार्ने स्कुल बसमा पनि विद्यार्थी कोचिएका हुन्छन्। चालक, सह चालक र अधिकांश विद्यार्थी मास्क लगाएका हुँदैनन्। कोरोनाको तेस्रो लहर सुरु भएपछि मधेस प्रदेशमा १ हजार ८ सय ४१ सक्रिय संक्रमित छन्।

प्रकाशित: १८ माघ २०७८ ०३:३४ मंगलबार

मधेस प्रदेशका जिल्ला संकट व्यवस्थापन केन्द्रहरू भौतिक उपस्थितिमा कक्षा संचालन