शिक्षा

त्रिवि सेवा आयोगको कर्मचारी प्रशासन परीक्षाको नतिजाः ९८ प्रतिशत फेल

त्रिभुवन विश्वविद्यालयले कर्मचारी प्रशासन तर्फको आन्तरिक बढुवातर्फ संचालन गरेको परीक्षामा आवश्यक पद अनुसार उम्मेदवार परीक्षामा सफल हुन नसक्दा एकातिर पदपुर्ति हुन सकेन भने अर्कोतर्फ १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको छ।

आयोगले  माघ १४ गतेदेखि २५ गतेसम्म संचालन गरेको परीक्षामा कूल  १८ प्रशासनिक पदको लागि आन्तरिक बढुवाको लिखित परीक्षा भएको थियो। जसमध्ये १३ वटा पदको नतिजा शून्य रहे भने पाँचवटा पदमा केही उम्मेदवार मात्र सफल रहेको आयोगको सामान्य विश्लेषण छ।

आयोगका प्रशासन प्रमुख केदारनाथ ढकालका अनुसार यसपटक कूल १८ पदको लागि एक सय २६ पद संख्या माग रहेको थियो। जसमा कुल परीक्षार्थीहरु तीन सय ८६ जना सहभागी रहेका थिए। कूल पास भने ९ मात्र भए। ‘२.३३ मात्र पास हुन सके,  ९७.८८ फेल भएका छन्। यसले हाम्रा विश्विद्यालयका कर्मचारीहरुमा लेखपढ गर्ने बानी नै हराएको बुझिन्छ,’ प्रमुख ढकालले नागरिकसँग भने, ‘वस्तुगत प्रश्नमा निकै कमजोर देखिन्छ। पाठ्यक्रम परिमार्जन गर्नुपर्ने देखियो।’  उनले थपे, ‘आयोगले निष्पक्ष काम गरिरहेको छ। त्यो नतिजामा देखिहाल्यो। अब नपढी नलेखी कोही पनि त्रिविमा पास हुन सक्दैनन्।’

उनका अनुसार मुख्य कार्यालय सहायक पदका लागि २१ पदको लागि परीक्षामा २६ उम्मेदवार सहभागी थिए। तर नतिजा शून्य रह्यो। यसैगरी कार्यालय सहायक पदका लागि १३ पद संख्या माग गरिएकोमा ३७ जना सहभागी भए। नतिजा शून्य रह्यो।

यसैगरी आर्थिक उपनियन्त्रक पदमा ८ जना माग रहेकोमा १५ सहभागी थिए। लेखा अधिकृत तहको बढुवाका लागि ५ पदमा २३ परीक्षार्थी थिए। लेखा सहायकमा पाँच जना माग गरिएकोमा २३ सहभागी थिए। सह–पुस्तकालयाध्यक्ष पदको लागि एक पदको लागि २ जना सहभागी थिए। तर यी सबै पदमा नतिजा शून्य आएको छ।्

यतिमात्र होइन, उप–पुस्तकालयाध्यक्ष, पुस्तकालय सहायक र नर्सिङ्ग सहनियन्त्रक , नर्सिङ्ग अधिकृत, ल्याब अधिकृत, मुख्य प्राविधिक सहायक र प्राविधिक सहायक पदमा पनि नतिजा शून्य रहेको छ।

‘प्राविधिकतर्फ पनि नतिजा शून्य आउनुले विश्वविद्यालयमा कर्मचारीहरुको क्षमता उजार गरेको छ,’ प्रमुख ढकाल भन्छन्, ‘त्रिवि प्रशासनतर्फ कर्मचारीहरु काम त गरिरहनु भएको छ। तर लेखपढतर्फ शून्य छ। खै के भन्ने?’

उनी थप्छन्, ‘सह–प्रशासक, उप प्रशासक, शाखा अधिकृत र  आर्थिक सहनियन्त्रक तर्फको पदमा माग अनुसार पदपुर्ति हुन सकेन। अब के गर्ने यसबारे आयोगले समीक्षा गर्दैछ।’

विगतदेखि नै केन्द्रमा भएको राजनितिकरणको उपज नै त्रिविमा असक्षम कर्मचारीहरु थुप्रिएको जनप्रशासन क्याम्पसका प्राध्यापकहरुको विश्लेषण  छ। ‘भ्रष्ट  र असक्षमहरुलाई चोरबाटो हुँदै दुलोबाट देशको सार्वजनिक संस्थाहरुमा छिराएर ती संस्थाहरुलाई ध्वस्त बनाउने नियमको परिणाम हो त्रिवि कर्मचारी प्रशासन तर्फको नतिजा’, जनप्रशासन क्याम्पसका एक शिक्षकले भने, ‘योग्य र सक्षम कर्मचारीलाई पाखा लगाएर नेता र दलको चाकडी गर्नेहरुलाई थुपार्ने थलो त्रिवि लगायतका सार्वजनिक संस्था बन्दै गएको छ।’

ति शिक्षकले सुझाए, ‘यस्ता विकृतिहरुलाई समयमै सार्वजनिक निकायहरुबाट हटाएर स्वायत्त निकायहरुमा योग्यता र क्षमताको आधारमा कर्मचारी नियुक्ति गर्नुपर्छ।’

प्रमुख ढकालका अनुसार परीक्षामा मर्यादाविपरित कार्य गर्ने शाखा अधिकृत पाँच, सह प्रशासक पाँच, उपप्रशासक पदका आठ, कार्यालय सहायक एक र आर्थिक उपनियन्त्रक एक गरी कूल २० जना परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ।

प्रकाशित: १९ मंसिर २०७८ ०८:४९ आइतबार

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय