शिक्षा

नेकलाई विश्वविद्यालय बनाउँछौं : मेयर मिश्र

चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले नेपाल इन्जिनियरिङ कलेज (नेक)लाई विश्वविद्यालय बनाउने बताएका छन्। उनले दुवाकोटमा रहेको सो कलेजलाई तीनचार वर्षभित्र विश्वविद्यालय बनाउने बताएका हुन्। कलेजको २७ औं स्थापना दिवसको अवसरमा शनिबार कलेजमा भएको कार्यक्रममा उनले यस्तो बताए।  

कलेज व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मिश्रले कुनै हाललमा कलेजलाई प्राइभेट बनाउन नदिने बताए। ‘तपाईँहरु ढुक्क हुनुहोस्, कक्षा नियमित रुपमा सञ्चालन गर्नहोस्, हामी सडकदेखि सदनसम्म लडेर कलेजलाई निजी हुन दिन्नौंं, उनले भने।  

स्थापना दिवसको प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए। समारोहको अवसरमा प्रमुख अतिथि प्राडा थापाले २० वर्षदेखि कलेजमा अविच्छिन सेवारत २० जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेका थिए। उनीहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो।  

कार्यक्रममा अतिरिक्त क्रियाकलापबाट शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमकै अवसरमा कलेजमा आइसोलेसन केन्द्र सञ्चालन गर्न विशेष योगदान पुर्याए वापत कलेजका कर्मचारी मनोहर खनाललाई सम्मान गरिएको थियो। कलेजको कार्यक्रम हलमा कोभिडको बेला आइसोलेसन सञ्चालन गरिएको थियो।  

समारोहकै अवसरमा कलेज सञ्चालनका संस्थापकहरु हरिप्रसाद पाण्डे र इन्जिनियर सलिल भट्टराईलाई सम्मान गरिएको थियो। सोही अवसरमा नेकबाट प्रोफेनल इन्जिनियरिङ सर्टिफिकेट प्राप्त गर्न सफल कलेजमा अध्यापनरत तुसिता चाँंदनी शाह र कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो।  

सोही अवसरमा कलेजको स्नातक र स्नातकोतर तहमा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल स्नातक तहका पाँंच जना र स्नातकोतर तहका चार जना विद्यार्थीलाई पनि सम्मान गरिएको कलेजले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा थापा, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, जल तथा उर्जा आयोगका सचिव मणिराम गेलाल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं कलेज सञ्चालक समितिका सदस्य मुकेश केशरी, कलेजका संस्थापक एवं पूर्वमन्त्री हरिप्रसाद पाण्डे, विश्वविद्यालयका प्रतिनिधि उपप्राध्यापक अर्जन गौतम, कलेजका सहायक प्राचार्य एवं स्थापना दिवस समारोह समितिका संयोजक सह प्राध्यापक दुर्गाप्रसाद भण्डारी, प्रशासन प्रमुख श्रीमा शर्मा, कर्मचारी प्रतिनिधि मनोहर खनाल, शिक्षक प्रतिनिधि उप प्राध्यापक धर्मराज बगालेलगायतले कलेजका विविध पक्षकाबारेमा आआफनो धारणा राखेका थिए।

कलेज २०५१ साल साउन ९ गतेबाट सञ्चालनमा ल्याइएको थियो।

प्रकाशित: ९ आश्विन २०७८ १०:५१ शनिबार

चाँगुनारायण नगरपालिका नेपाल इन्जिनियरिङ कलेज