शिक्षा

खोटाङमा फरेष्ट्री र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने अवसर

खोटाङको महुरेगढी प्राविधिक शिक्षालयले डिप्लोमा इन फरेष्ट्री र डिप्लोमा इन सिभिल इन्जिनियरिङको भर्ना खुलाएको छ। सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा स्थापना गरिएको प्राविधिक शिक्षालयमा डिप्लोमा इन फरेष्ट्री र डिप्लोमा इन सिभिल इन्जिनियरिङको भर्ना खुलाइएको हो।

डिप्लोमा इन फरेष्ट्रीमा ४० जना र डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जनाका लागि भर्ना खुलाइएको शिक्षालयका प्राचार्य ईन्द्रप्रसाद आचार्यले बताए। डिप्लोमा इन फरेष्ट्री र डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना हुन इच्छुक विद्यार्थीले आगामी भदौ १८ गतेसम्म फर्म भर्न सक्ने छन्।  

कम्तीमा एसईई उत्तिर्ण गरेर प्राविधिक शिक्षा तथा व्यवसायीक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको कार्यक्रममा भर्ना हुनसक्ने प्राविधिक शिक्षालयले जनाएको छ। प्राविधिक शिक्षालयमा क्रमशः फार्मेसी, एडभेञ्चर टुरिजम, कृषि लगायतका विषयको पठन–पाठनको व्यवस्थाका लागि प्रस्ताव गरिएको प्राचार्य आचार्यले बताए। तत्कालिन प्राचार्य भानु पौडेल अन्यत्र गएपछि साउन २० गतेदेखि आचार्यले शिक्षालयको प्राचार्य सम्हालेका हुन्।  

मध्यपहाडी लोकमार्गले छोएको र लेकको मनोरमस्थलमा रहेको प्राविधिक शिक्षालय तत्कालिन प्राविधिक शिक्षालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले २०७६ साल जेठ २८ गते उद्घाटन गरेका थिए। पूर्ण सरकारी शिक्षालय, पूर्ण छात्रवृत्ति, आंशिक छात्रवृत्ति र न्यूनतम शुल्कमा पढाइ हुने, प्रयोगात्मक सिकाईका लागि विशेष प्राथमिकता दिइने, शान्त तथा मनोरम वातावरणमा पढाई हुने, दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट प्रशिक्षण गराइने शिक्षालयले जनाएको छ।  

युवालाई जागीर, उच्च शिक्षा वा उद्यमशिलताको अवशर सिर्जना गर्ने लक्ष्यकासाथ सरकारले खोटाङमा प्राविधिक शिक्षालय स्थापना गरेको हो। ७ वटै प्रदेशमा एक–एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नुनथलामा प्रदेश नम्बर १ स्तरिय प्राविधिक शिक्षालय स्थापना गरिएको हो। 

प्राविधिक शिक्षालयमा खोटाङ वाहेक पूर्वपश्चिमका जिल्लाबाट विद्यार्थी अध्ययन गर्न आइरहेका छन्।

प्रकाशित: ३१ श्रावण २०७८ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App