शिक्षा

जन्तेढुंगा गाउँपालिकाको लेटरहेडमा किरात लिपि प्रयोग

खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याएको छ। ६ वडा रहेको गाउँपालिकाले साउन १ गतेदेखि आफ्नो लेटरहेडमा नेपाली भाषाको अतिरिक्त किरात लिपि प्रयोगमा ल्याएको हो।

किरात समुदायको बाहुल्यता रहेको एवं पुरापूर्व कालदेखि प्रयोग हुँदै आएको किरात लिपिको संरक्षण एवं संवद्र्धनका लागि गाउँपालिकाको लेटरहेडमा किरात लिपि प्रयोग सुरु गरिएको रोजगार संयोजक विज्ञान पुमा राईले जानकारी दिए।  

गाउँपालिकाको गत असार २७ गतेको कार्यपालिकाको बैठकले साउन १ गतेदेखि गाउँपालिका तथा गाउँपालिका मातहतका कार्यालयको लेटरहेडमा गाउँपालिकाको नाम किरात लिपिमा समेत उल्लेख गर्ने निर्णय गरेको थियो। हालका लागि गाउँपालिका तथा ६ वडा कार्यालयमा गाउँपालिकाको नाम नेपाली भाषासँगै किरात लिपिमा लेखिएको लेटरहेड प्रयोगमा ल्याइएको छ। ‘गाउँपालिकाको लेटरहेडमा नेपाली भाषामा जे लेखिएको छ, त्यसैलाई ट्रान्सलेट गरेर किरात लिपिमा राखिएको छ,’ राईले भने, ‘गाउँपालिका र वडा कार्यालयमा प्रयोगमा ल्याइएको लिपिलाई क्रमशः गाउँपालिका मातहतका कार्यालयमा पनि कार्यान्वयनमा ल्याउने निर्णय भएको छ।’  

खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकाले गत वर्षदेखि नै आफ्नो लेटरहेडमा चाम्लिङ राई भाषा प्रयोगमा ल्याइसकेको छ।  यस्तै, वाम्बुले राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा तिलुङ भाषालाई सरकारी कामकाजमा मान्यता दिइएको छ। बाहुनीडाँडा र डिकुवाको लेटरहेडमा वाम्बुले तथा च्यास्मीटारको लेटरहेडमा तिलुङ भाषालाई प्रयोगमा ल्याइएको मेयर इवन राईले बताए। 

प्रकाशित: २० श्रावण २०७८ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App