शिक्षा

बेनी सामुदायिकबाट सिक्दै अन्यत्रका स्कुल

देशभरका १ सय २३ विद्यालयले भ्रमण गरे

बेनी सामुदायिकमा भ्रमण गर्न आएको तनहुँ दमौलीस्थित सत्यवती माविको टोली । तस्बिरः नागरिक

बेनी सामुदायिक माविमा शनिबार तनहुँको दमौलीस्थित सत्यवती माविको टोलीले अवलोकन ग¥यो । जिल्लामा रहेका निजी विद्यालयसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको सत्यवतीले विद्यालयमा हुने गरेका राम्रा अभ्यास सिको गर्ने उद्देश्यले बेनी सामुदायिकमा आएको थियो ।

सत्यवतीको टोलीका पदाधिकारी बेनी सामुदायिक विद्यालयको व्यवस्थापन समिति, अभिभावकको नियमित अनुगमन, शिक्षकको सामुहिक सहकार्य, प्रयाप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगति, विद्यार्थीमैत्री संरचना लगायत लोभलाग्दो प्रगति देखेर दंग परे । सत्यवतीका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलको नेतृत्वमा आएको ६२ जनाको टोलीलाई बेनी सामुदायिक विद्यालयमा स्वागतसँगै शैक्षिक अभ्यास र शिक्षकको सामुहिक सहकार्यको नमुना समेत प्रस्तुत गरिएको थियो ।  

अवलोकन भ्रमणको क्रममा विद्यालयमा अभिभावक र शिक्षकको नियमित सहकार्यले शैक्षिक नतिजामा सुधारका अभ्यास उत्कृष्ट लागेको प्रअ पौडेलले बताए । ‘शिक्षकको मात्रै प्रयासले विद्यालयको प्रगति हुदैन्, अभिभावकको निगरानीले पनि ठूलो भूमिका खेल्छ,’ प्रअ पौडेलले भने । उनले सानो ठाउँ भएपनि पूर्वाधार सहित विद्यार्थीको आर्कषण देखेको बताए । उनले आफ्नो विद्यालयका राम्रा अभ्यासलाई समेत जानकारी गराएका थिए भने नयाँ अभ्यासलाई विद्यालयमा लागु गर्ने बताए ।  

सत्यवती मावि देशभरका उत्कृष्ट नमुना सामुदायिक विद्यालयभित्र पर्छ । भ्रमणको क्रममा बेनी सामुदायिका प्रअ दिपक श्रेष्ठले सामुदायिक विद्यालयबीचको सहकार्यलाई बलियो बनाउनुपर्नेे बताए । उनले छिमेकी जिल्लाबाट समेत विद्यार्थी आउने भएकाले यातायात सहित अन्य सुविधा थप्ने तयारीमा रहेको बताए । उनले विद्यार्थीको चाप अनुसारको पुर्वाधार नहुदाँ प्रवेश परीक्षा लिनुपर्ने बाध्यता रहेको बताए ।  

सरकारले बेनी सामुदायिकलाई २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म देशभरबाट १ सय २३ विद्यालयले भ्रमण गरेका छन् । सर्वोत्कृष्ट भएपछि बालमन्दिर मावि नदीपुर पोखराको टोली पहिलो भ्रमणमा आएको थियो ।  

शैक्षिक अवलोकनमा आएकालाई चालु वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को श्रेणीगत नतिजा, तिनवर्ष भित्रको एसएलसी उत्र्तिण प्रतिशत, विद्यालय स्तरिकरण (भौतिक पुर्वाधार, मानविय स्रोत), कक्षा ९ मा भर्ना भएका विद्यार्थीको संख्या र एसइइमा उत्र्तिण संख्या, अंग्रेजी माध्यमबाट अध्ययन, आन्तरिक स्रोतको प्रयोग, अभिभावको निगरानी, सिकाई उपलब्धी, कक्षाकोठा सजावट, शिक्षक र अभिभावकबीचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेराको जडान लगायत विभिन्न गतिविधिलाई डिजिलट माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ ।  

२०११ सालबाट अस्थायी रुपमा सञ्चालन भएको यो विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो । २०६३ साल देखि माध्यामिक तहको परीक्षामा सहभागिता जनाएको विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । जिल्लामा शैक्षिक भ्रमणमा आउनेलाई जिल्लाका पर्यटकीयस्थलका बारेमा समेत जानकारी गराउने गरिएको छ । यता भ्रमणमा आउने अधिकांश विद्यालयले एक रात बेनीमा बिताउने भएकाले होटल ब्यवसायी समेत उत्साहित हुने गरेका छन् । शैक्षिक भ्रमणले आर्थिक कारोबारमा समेत सघाइरहेको ब्यवसायीको भनाई छ ।

प्रकाशित: १ चैत्र २०७७ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App