शिक्षा

प्रशासनलाई चुनौती दिँदै पुनः आवास–गृह कब्जा

काठमाडौं – त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालय तथा त्रिविमा जारी बेथितिविरुद्ध चलिरहेको विद्यार्थी आन्दोलनलाई चुनौती दिँदै शिक्षाशास्त्र संकायका गणित शिक्षक अवतार सुवेदीले बलजफ्ती आवास–गृह कब्जा गरेका छन्। प्रिन्सिपल कार्यालयका प्रिन्सिपल कृष्ण आचार्य भने मोबाइल फोन अफ गरेर बसेका छन्।

मंगलबार शिक्षा संकायका गणित विभाग प्रमुख लक्ष्मीनारायण यादवको आवास–गृहको म्याद सकिएपछि ६ ए नम्बर आवास–गृह खाली भएको थियो। तर यादवले आवास–गृहमा बसेबापत तिर्नुपर्ने ५२ हजार ६ सय ७१ रुपैयाँ नतिरेरै आवास–गृह छाडे। उता, नियमानुसार उनले आवास–गृह खाली गरेर चाबी प्रिन्सिपल कार्यालयमा बुझाउनुपर्नेमा चाबी बुझाउन नपाउँदै विभाग प्रमुख आवास–गृहमा हुँदै शिक्षाशास्त्र संकायकै गणित शिक्षक सुवेदी सोझै सोही आवास–गृह कब्जा गर्न पुगे।

विश्वविद्यालय हाताभित्र रहेको आवास–गृह बल प्रयोग गरी कब्जा गर्ने विकृति वर्षाैंदेखि चलिआएको छ। आवास–गृह सञ्चालक समिति त्रिवि प्रिन्सिपलको अध्यक्षतामा गठन भएको हुन्छ। यो कार्यालयले आवास–गृह खाली हुनासाथ सूचना प्रकाशन गरी आवेदन माग गर्नुपर्ने प्रक्रिया पु-याएर मापदन्डको आधारमा शिक्षक–कर्मचारीलाई आवास–गृह उपलब्ध गराउनुपर्ने त्रिवि आवास–गृह सञ्चालन व्यवस्थापनसम्बन्धी नियम २०७६ संशोधनसहित व्यवस्था गरिएको छ।

विश्वविद्यालय क्याम्पस कीर्तिपुरको हाताभित्र रहेका आवास–गृह सञ्चालनसम्बन्धी विनियम २०६५, संशोधित विनियम २०७२ र पछिल्लो संशोधित विनियम २०७६ सहितमा व्यवस्था गरिए अनुसार विश्वविद्यालय हाताभित्रका ६४ वटा क्वाटर र ५५ वटा टहरालाई सुविधाका आधारमा चार प्रकारको वर्गीकरण गरिएको छ। चार कोठेलाई ‘क’, तीन कोठेलाई ‘ख’, दुई कोठेलाई ‘ग’ र टहरालाई ‘घ’ श्रेणीमा वर्गीकरण गरिएको छ। विश्वविद्यालय क्याम्पस हाताभित्र कार्यरत शिक्षकका लागि ७० प्रतिशत, र कर्मचारीलाई २० प्रतिशत र विश्वविद्यालय केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीका लागि १० प्रतिशतका आधारमा आवास–गृह वितरण गरिने व्यवस्था छ। त्यस्तै, परिच्छेद ३ मा छनोटका आधारहरू बुँदामा उल्लेख भए अनुसार विश्वविद्यालय क्याम्पस हाताभित्र कार्यरत शिक्षक–कर्मचारीलाई आवास–गृह वितरण गर्दा आवास–गृहमा बस्न प्रिन्सिपल कार्यालयले आह्वान गरेको सूचनाको आधारमा निवेदन दिएका शिक्षक–कर्मचारीहरूले प्राप्त गरेको अंकलाई तालिकीकरण गरी बढी अंक प्राप्त गर्नेलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ।

प्रिन्सिपलले समस्या समाधान गरी विश्वविद्यालयमा विधिको शासन व्यवस्था कार्यान्वयन गर्नु÷गराउनुको साटो प्रिन्सिपल आचार्य मोबाइल फोन अफ गरी कसैसँग सम्पर्कमा आएनन्। त्रिविका शिक्षकहरूले प्रिन्सिपलकै मिलेमतोमा शिक्षकहरूले क्वाटर (आवास–गृह) कब्जा गर्ने गरेको आरोप लगाउँछन्। एक साताअघि नागरिक खोजका क्रममा त्रिविका ३० शिक्षक–कर्मचारी बिनाआधार, गैरकानुनी रूपमा क्वाटर कब्जा गरी बसेको तथ्य फेला पारेको थियो। त्यसरी अनधिकृत कब्जा गरिएका आवास–गृहको समस्या समाधान तथा नियमन गर्न खोज्दा राजनीतिक दबाबसमेत आउने गरेको शिक्षकहरू बताउँछन्। यसैबीच, शिक्षक–कर्मचारीबाट गैरकानुनी रूपमा गरिएको कब्जाबाट क्वाटर खाली गराउन त्रिविका विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन्।

‘प्रिन्सिपल आचार्यलाई मंगलबार शिक्षक सुवेदीले कब्जा गरेको विषय हामीले जानकारी गरायौं,’ विश्वविद्यालयका एक प्राध्यापकले नागरिकसँग भने, ‘तर पनि प्रिन्सिपल सरले कुनै एक्सन लिनुभएन। उल्टै मोबाइल नै अफ गर्नुभयो। नियम कार्यान्वयन गराउने निकाय नै मौन भएकोमा हामीलाई पनि आश्चर्य लागेको छ।’

यति मात्र होइन, विश्वविद्यालयमा आवास–गृहमा बस्ने प्राध्यापकहरूले नियमानुसार दिनुपर्ने भाडा, पानी–बिजुलीको बिलसमेत तिर्दैनन्।

प्रिन्सिपल कार्यालयका प्रशासन प्रमुख मानबहादुर भट्टले विश्वविद्यालयमा ३० वर्षअघिदेखि क्वाटर अनियमित तरिकाले कब्जा गर्ने विकृति कायम रहेको बताउँदै यसलाई समाधान गर्न निकै चुनौती रहेको भन्दै निरिहता प्रकट गरे। ‘म प्रशासन प्रमुख भएको दुई महिनामात्र हुँदै छ। त्रिविमा कायम रहेको विकृति र बेथिति हटाउन निकै चुनौती छ,’ प्रशासन प्रमुख भट्टले भने ‘यसको व्यवस्थापन गर्न त्रिवि प्रशासन कडा रूपमा लाग्नुपर्छ।’

विश्वविद्यालयका रजिस्ट्रार पेशल दहालले शिक्षक अवतार सुवेदीले प्रक्रिया नबुझेर आवास–गृह बलजफ्ती प्रवेश गरेको बताए। उनले त्रिवि प्रशासन उक्त आवास–गृह खाली गराइछाड्ने दाबी गरे। ‘रजिष्ट्रार कार्यालयमा सूचना प्राप्त हुनासाथ हामीले प्रिन्सिपल कार्यालयलाई यसबारे सोधीखोजी गरेका छौं,’ रजिष्ट्रार दाहालले नागरिकसँग भने, ‘अवैध रूपमा प्रवेश गर्ने अवतर सुवेदी सरलाई क्वाटर खाली गरेर जान भनिएको छ। मान्नुभएन भने अरू कानुनी उपाय प्रयोग गरेर खाली गराइनेछ।’

प्रकाशित: ३० फाल्गुन २०७६ ०५:१५ शुक्रबार

त्रिवि बेथिति