शिक्षा

‘कानुन’मा विद्यार्थी आकर्षण बढ्दो

काठमाडौं - एसइई पार गरेपछि कुन विषय पढ्ने भन्दै धेरैजना अलमलमा परिरहेका बेला केही विद्यार्थी भने निर्धक्क भएर कानुन विषय पढ्ने भनेर लागिपरेका भेटिन्छन्। अर्थात् अचेल कक्षा ११ मा कानुन विषय लिएर पढ्न चाहने विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ।

अध्ययनकै लागि राजधानीमा बस्ने सोच लिएर आएका दाङका रमेश केसीको विशेष रोजाइमा कानुन विषय परेको छ। कानुन पढ्ने उद्देश्य लिएका उनी त्यसका लागि तयारी गर्दै गरेको बताउँछन्। ‘घरमा नै बसेर स्वाध्ययन गर्दै छु,’ उनले भने, ‘पछि पढ्न सजिलो होस् भनेर साधारण कानुनबारे बुझ्दै छु।’ नेपालमा उच्च शिक्षाका लागि धेरै विषय भए पनि भविष्यमा राम्रो हुने ठानेर कानुन विषय पढ्ने सोच बनाएको उनी बताउँछन्। ‘भविष्यमा कानुनी क्षेत्रमा राम्रो गर्ने धोको छ,’ उनी भन्छन्, ‘यो विषय मेरा लागि नितान्त नौलो हो, तसर्थ मेहनत गरेर नै कानुनको क्षेत्रमा काम गर्ने मन छ।’

उच्च शिक्षाको पाठ्यक्रममा विकल्पका रूपमा धेरै विषय भए पनि कानुनको माग भने निकै रहेको बताउँछन् युनिग्लोब हाइएर स्कुल÷कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्ना। ‘उच्च शिक्षाका लागि कानुन विषय निकै राम्रो रोजाइ हो, यो विषय अध्ययन गर्दा पछि बिएएलएलबी पढाइका लागि राम्रो आधार तयार हुन्छ।’ विद्यार्थीहरूमा कानुन विषयप्रतिको आकर्षण विगतमा भन्दा बढेको अनुभव उनको छ। कक्षा ११ र १२ मा यो विषयप्रतिको माग बढेकाले काठमाडौं कमलादीस्थित युनिग्लोब हाइएर स्कुल÷कलेजमा यो वर्षदेखि सो विषय राखिएको उनले बताए। ‘एसइई दिएर बसेका विद्यार्थीहरूले कलेज भिजिटका बेला कानुन विषयबारे बुझ्न चाहे, अभिभावकको सक्रियता पनि त्यस्तै भेटियो,’ उनले भने, ‘कानुनप्रतिको आकर्षण बढेको बुझेरै हामीले सो विषय सुरु गरेका हौं।’

प्रदेश र स्थानीय तहमा कानुनी सल्लाहकार, मेयर, उपमेयरका लागि पनि देशको संविधान, ऐनकानुन बुझ्न मद्दत गर्ने भएकाले राष्ट्रका नेतृत्वलाई गुणस्तरीय बनाउन कानुन विषयले मद्दत गर्ने उनी बताउँछन्। कानुनमा नै भविष्य बनाउन चाहनेहरूका लागि प्लस टुबाट नै त्यसतर्फ उन्मुख हुँदा भविष्यमा सहज हुने उनी बताउँछन्। युनिग्लोबमा कानुन विषय अध्ययनका लागि ४० सिट रहेको उनी बताउँछन्। अन्य विषयहरूमा जस्तै नेपाली र अंग्रेजी विषय उही नै रहे पनि कानुनका विषयहरू भने विकल्पका रूपमा राखिएको उनले जानकारी दिए।

२०७५ सालमा एसइई पास आउट गरेकी सुष्मिता शर्मा कानुन विषय पढ्ने चाहना हुँदाहुँदै पनि कलेज नपाएपछि अर्को विषय अध्ययन गर्नुपरेको बाध्यता सुनाउँछिन्। ‘मलाई ल विषय लिएर पढ्न निकै रहर थियो, बिएएलएलबी पढ्न सहज हुने भएकाले प्लस टुमा नै बेस राम्रो बनाउने सोच थियो, पूरा भएन।’ पायक पर्ने ठाउँमा कलेज नभएको र कानुन विषयमा पढाइ सञ्चालन नगरिएकाले पढ्न नपाएको उनको भनाइ छ। प्लस टुमा कानुन पढ्न नपाए पनि ब्याचलरमा भने अध्ययन गर्ने योजना बनाएको उनले बताइन्।

गत वर्षदेखि नै विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११÷१२ मा कानुन विषय राख्ने योजना बनाए पनि विविध प्राविधिक कुरा मिलाउन नसक्दा सो योजना पूरा भएन। यो वर्षदेखि भने सो विषयमा पढाइ सञ्चालन गर्न लागिएको प्रिन्सिपल हेरम्बराज कँडेल बताउँछन्। ‘ल विषय राख्नुपर्ने भन्दै धेरैतिरबाट सुझाव आएपछि प्राविधिक विषय मिलाएर कानुनकोपढाइ सुरु गर्न लागेका हौं,’ उनी भन्छन्। ल विषय आफैंमा राम्रो विषय रहेको उनको बुझाइ छ। देशको नीतिनियमबारे सुसूचित गर्न मद्दत गर्ने भएकाले सो विषयप्रति विद्यार्थी, अभिभावकको मोह बढेको उनी बताउँछन्। विद्यार्थी र अभिभावकको यो विषयको चासोलाई मूल्यांकन गरेरै विभिन्न कलेजले त्यसप्रति जोड दिएको उनको भनाइ छ।

प्लस टुमा म्यानेजमेन्ट पढेकी स्वीकृति थापा बिएएलएलबी चौथो सेमेस्टरमा अध्यनरत छिन्। प्लस टुमा म्यानेजमेन्ट अनि ब्याचलरमा ल विषय पढ्दा अलिक अप्ठ्यारो भएको उनको अनुभव छ। ‘निकै कम प्लस टुुमा ल विषय पढाइ हुन्थ्यो, मलाई त्यसबारे जानकारी नै भएन। त्यसैले सबैले पढ्ने म्यानेजमेन्ट पढें, तालमेल मिलाउन निकै मेहेनत गर्नुप¥यो,’ उनी भन्छिन्। प्लस टुबाटै कानुन विषय अध्ययन गर्न पाए ब्याचलरलाई राम्रो बेस हुने उनी बताउँछिन्। कानुन विषयमा आवश्यक जानकारी प्लस टुमा नै थाहा पाउन सकिए ब्याचलर अध्ययनका लागि सहज हुने उनको बुझाइ छ। ‘एकातिर सेमेस्टर प्रणाली, अर्कोतिर अगाडि कहिल्यै नपढेको ल विषयको हाउगुजी, सुरुमा त अत्तालिएकी थिएँ तर केही समयपछि रुचि बढ्न थाल्यो। बेस कानुन भएको भए त्यस्तो समस्या आउँदैनथ्यो,’ उनले तीतो अनुभव सुनाइन्।

प्रकाशित: १९ असार २०७६ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App