शिक्षा

ल क्याम्पसमा १२ हजार विद्यार्थी भर्ना

काठमाडौं – नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यसपटक बाह्र हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । यो संख्या अझै बढ्ने क्याम्पसले जनाएको छ । ‘आज बाह्र हजार जनाको भर्ना भइसकेको छ । लाममा बसेर पैसा तिरिसकेका केही भर्ना हुन बाँकी छन्,’ क्याम्पसका सहप्राध्यापक ताराप्रकाश पौडेलले मंगलबार भने, ‘यो संख्या अझै केही बढ्ने अनुमान गरेका छौं।’

यति धेरै विद्यार्थी भर्ना भएको ल क्याम्पसको इतिहासमै पहिलोपटक हो । यसअघि एक शैक्षिक सत्रमा तीन हजारसम्मले भर्ना पाएका थिए।

पौडेलका अनुसार असोज १५ गते भर्नाको अन्तिम म्याद भए पनि लाममा बसेर पैसा तिरिसकेकाले भर्ना गर्न पाउने भएकाले संख्या बढ्ने अनुमान गरिएको हो । ‘क्याम्पसको क्षमता हजारसम्म भए पनि बाह्र हजार विद्यार्थीलाई पढाउने भौतिक संरचना नभएको हामीलाई थाहा छ तर भर्ना गर्न सबैले पाउनुपर्छ भन्ने दबाब आएपछि हामीले रोक्न सकेनौं,’ पौडेलले स्पष्ट पारे । क्याम्पसमा क्रियाशील ११ विद्यार्थी संंगठनले सबै विद्यार्थीलाई भर्ना लिन दबाब दिएका थिए।

पटकपटकको विवादपछि गत असारमा क्याम्पसले भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो । त्यति बेला विद्यार्थीले सबै उत्तरपुस्तिका च्यातेपछि विवाद चर्र्किएको थियो । त्यसपछि कृतज्ञा ढकालसहितको विद्यार्थी समूहले सर्वाेच्च अदालतमा रिट दिई गुणस्तरीय शिक्षाका लागि केही न केही सर्त तोक्नुपर्ने माग गरेकोमा सर्वाेच्च अदालतबाट समेत अन्तरिम आदेश नभएपछि क्याम्पस इच्छुक सबैलाई भर्ना गर्न बाध्य भएको हो।

‘सबै विद्यार्थी आए भने त हामीले भृकुटीमण्डपमा भेला गराएर माइक लगाउनुको विकल्प छैन,’ पौडेलले भने, ‘तर एक हजारसम्म उपस्थित भए भने हामी जसरी तसरी व्यवस्थापन गर्छाैं ।’ पछिल्ला दिनमा कानुन अध्ययनमा आकर्षण बढेकोे सरोकारवालाको बुझाइ छ । निजामती कर्मचारीलाई बढुवा हुन पनि कानुन अध्ययनले सहज बनाउने गरेको छ।

भर्नाको अपेक्षा गरेका विद्यार्र्थीले कोटा निर्धारण गर्दा आफ्नो शिक्षाको हक हनन हुने भएकाले कोटा प्रणाली आफूहरुलाई अमान्य भएको बताउँदै आएका थिए । सोही आधारमा विद्यार्थी संगठनले आन्दोलन गरेपछि तीन महिनासम्म भर्ना प्रक्रिया रोकिएको थियो । एलएलबीमा भर्ना भएका विद्यार्थी अशोक तिम्सिनाले अध्ययनका लागि अन्य विषयभन्दा कानुन उपयुक्त भएकाले आफू यसतर्फ आकर्षित भएको बताए।

प्रकाशित: १७ आश्विन २०७५ ०१:४२ बुधबार

नेपाल_ल_क्याम्प विद्यार्थी_भर्ना कानुनमा_आकर्षण