शिक्षा

विद्यालयबाटै निष्काशन गर्न पत्र लेखेकी बालिकालाई सहयोगको ओइरो

म्याग्दी– चरम गरिबीको कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी म्याग्दीकी एक बालिकालाई सहयोगको आइरो लागेको छ। बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीले बृद्ध हजुरबुबा, भाईबहिनीको रेखदेख, विहान बेलुकी हातमुख जोड्न समेत गाउँघरमा माग्न हिड्नुपर्ने भएकाले विद्यालयमा प्रयाप्त समय दिन नसक्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्र सहितका समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोग आउन थालेको छ। जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले गत भदौ १ गते विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई रहर भएपनि बाध्यताले नियमित विद्यालयमा आउन नसक्ने अवस्थालाई जनाउ दिदैं आफ्नो नाम कक्षाको रजिष्टरबाट हटाइदिन अनुरोध गरेको पत्रले सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो। 

खत्रीलाई जन्मदिनको अवसरमा शुक्रबार कर्मचारी मिलन केन्द्र म्याग्दी १५ हजार ५ सय, म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष राम खड्का १० हजार, मोना एशिया प्यासिफिक संयोजक ददीवल खड्काले १० हजार, लायन्स क्लव बेनी पिस सिटीले १० हजार बराबरको भान्सामा आवश्यक पर्ने भाडाकुँडा घरमै पुगेर म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, वडा अध्यक्ष कृष्ण बहादुर बानियाँ, राष्ट्रिय अनुसन्धान अधिकृत अर्जुन शर्मा, कोष नियन्त्रक छविन्द्र बेलबासे, विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगाना लगायतको उपस्थिति रहेको थियो। ‘घरको अवस्था निकै नाजुक रहेछ, यहाँको अवस्थाले मन छोयो’, प्रजिअ अधिकारीले भने। उनले पुजासहित उनका तीन भाईबहिनीको शिक्षादिक्षाका लागि निरन्तर सहयोगको प्रतिबद्धता आइरहेको बताउँदै सहयोग सदुपयोगका लागि बैंकमा खाता खोलिएको बताए।

बुबा र आमाले साथ छाडेपछि बिचल्लीमा परेका बालबालिकालाई अपाङ्ग हजुरबुबाले गाउँघरमा खाद्य साम्रगीको खोजी गरी खर्च टार्ने गरेका थिए। ‘नातिनातिनालाई उद्धार गरिदिनुहोस्,म यही घरमै बस्छु’, पुजाका हजुरबुबाले भने। उनले छोराबाट जोगिनै मुस्किल भएको गुनासो समेत गरे।

यता बेनपा–६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले पुजाको नाममा खोलिएको खातामा विभिन्न जिल्लाबाट करिब ८० हजार जम्मा भएको बताए। ‘पत्रकार सम्मेलन गरी सहयोगको सम्पूर्ण विवरण सार्वजनिक गरिन्छ, गरिबीको एउटा नुमना उदाहरण बनेकी पुजाको परिवारलाई थप सहयोग आवश्यक छ’, उनले भने। वडा अध्यक्ष बानियाँ र प्रधानध्यापक ढुंगाना र पुजाको अनिवार्य हस्ताक्षर हुने गरी सदरमुकाम बेनीमा रहेको गरिमा विकास बैंकमा पुजाको नाममा खाता खोलिएको छ। 

प्रकाशित: ८ भाद्र २०७५ १६:११ शुक्रबार

पुजा_खत्री गरिबी पढार्इ निष्काशन