शिक्षा

संस्कृत विश्वविद्यालयको गोप्य सूचना चुहाएको आरोपमा रजिस्ट्रार अधिकारी निलम्बित

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयको अति गोप्य र संवेदनशील सूचना चुहाएको भन्दै विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक माधव अधिकारीलाई बिहीबार निलम्बन गरेका छन्। विश्वविद्यालयले सोधेको स्पष्टीकरणमा रजिस्ट्रारले चित्तबुझ्दो जवाफ नदिएको भन्दै उपकुलपति लामिछानेले रजिस्ट्रारलाई विश्वविद्यालयको ऐननियमले दिएको अधिकार  प्रयोग गरी निलम्बन गरेको विश्वविद्यालयले जनाएको छ।

रजिस्ट्रार अधिकारीले विश्वविद्यालयका गोप्य तथा अति संवेदनशील सूचना, अभिलेख र निर्णय (कार्यकारी परिषद्को माइन्युटसहित) चुहाएको सम्बन्धी विश्वविद्यालयले छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। सोही छानबिन समितिले २०८१ वैशाख २४ गते विश्वविद्यालयलाई बुझाएको प्रतिवेदनअनुसार रजिस्ट्रार एवं कुलसचिवले नै गोप्य सूचना चुहाएको ठहर गरेको छ। सोही विषयमा उपकुलपति प्राध्यापक डा. लामिछानेले रजिस्ट्रार अधिकारीलाई चार पृष्ठ लामो पाँच बुँदे स्पष्टीकरण सोधेका थिए।

‘नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ (शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७७ सहित) को दफा १६ को उपदफा ८, १०, १२ मा व्यवस्था भएअनुसार नेसंविका उपकुलपतिको उल्लिखित निहित अधिकार प्रयोग गरिएको छ,’ स्पष्टीकरणमा उल्लेख छ, ‘मिति २०८० चैत २२ गते विश्वविद्यालयका गोप्य तथा अति संवेदनशील सूचना, अभिलेख र निर्णय बाहिरिएको विषयमा छानबिन समितिद्वारा विश्वविद्यालयभित्र ती विषयमा समस्या उब्जिएका छन्। यसकारण जिम्मेवारी प्राप्त निकायका पदाधिकारी, शिक्षक एवं कर्मचारीसमेतसँग विभिन्न छलफल, अन्तरक्रिया तथा बयानका आधारमा समितिले २०८१ वैशाख २४ गते अन्तिम प्रतिवेदन प्रस्तुत  गरेको थियो।’

रजिस्ट्रारलाई सोधिएको स्पष्टीकरणमा थप उल्लेख गरिएको छ, ‘प्रतिवेदन अनुसार तपाईं कुलसचिव प्रा. माधव अधिकारीले विश्वविद्यालय शैक्षिक तथा संगठनसम्बन्धी नियम २०६७ संशोधनसहित २०७७ अनुसार परिच्छेद ४ को उपनियम ३८ को निर्णय पुस्तिकासम्बन्धी शीर्षकअनुसार कार्यकारी परिषद्को निर्णय तथा कारबाहीको अभिलेख सदस्य सचिवले सुरक्षित राख्नेछ भन्ने उल्लेख भए पनि त्यहीअनुसार जिम्मेवारी पूरा नगरेको तपाईंलाई कारबाही प्रक्रियामा ल्याउनुपर्ने उल्लेख भएको स्पष्टीकरण सोधिएको हो।’ 

प्रकाशित: २८ असार २०८१ ०८:०९ शुक्रबार

#Sanskrit University #Vice Chancellor Professor Dr. Yadav Prakash Lamichhane #Accused of leaking confidential information