शिक्षा

चितवनबाट ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण, १६ जनाले ल्याए ४ जिपिए

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चितवनबाट ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार, जिल्लाबाट दश हजार ८ सय ३२ जना विद्यार्थीले परीक्षा दिएकोमा छ हजार ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

संख्यात्मक रुपमा उत्तीर्ण विद्यार्थीको संख्या कम भएपनि गुणात्मक रुपमा चितवनको नतिजा गत वर्षभन्दा राम्रो रहेको शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए।

उत्तीर्ण मध्ये १६ जनाले ४ जिपिए ल्याएका छन्। गत वर्ष चितवनमा ६ जनाले मात्र ४ जिपिए ल्याएका थिए। यस्तै, जिल्लामा ‘ए’ प्लस ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ९२ रहेको छ।

यो संख्या अघिल्लो वर्षभन्दा ४ सय ८१ जनाले बढी हो। ‘ए’ ग्रेड ल्याउनेको संख्या १ हजार ९ सय ९९ रहेको छ। अघिल्लो वर्ष १ हजार ५ सय ९९ जना रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए।

जिल्लामा यस वर्ष ६ हजार ४१ जना विद्यार्थी अनुउत्तीर्ण भएका छन्। अघिल्लो वर्ष ४ हजार ७ सय ९१ जना अनुउत्तीर्ण भएका थिए।

चितवनमा ४ जिपिए ल्याउने विद्यालयमा संस्थागत विद्यालय बढी छन्। ९ वटा संस्थागत विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याउन सफल हुँदा सामुदायिक तर्फका २ वटा विद्यालयका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन्।

सामुदायिक विद्यालय तर्फ चितवन माध्यमिक विद्यालय र बालकुमारी कन्या माध्यमिक विद्यालयका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन्।

संस्थागत विद्यालय तर्फ देवी सेकेण्डरी स्कुल खैरहनी, नारायणी पब्लिक स्कुल भरतपुर, लिटल फ्लावर, अर्किड र स्मल हेबन मोडेल स्कुलबाट समान २/२ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्।

यस्तै पञ्चकन्या विद्यामन्दिर शिवनगर, स्काइ राईडर, पोलार स्टार र अरोमा माध्यमिक विद्यालयबाट समान १/१ जनाले ४ जिपिए ल्याएका छन्।

प्रकाशित: १३ असार २०८१ २०:२३ बिहीबार