शिक्षा

शिक्षाका लागि २९ अर्ब विदेशियो

नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले पाँच महिनाकै अवधिमा करिब २९ अर्ब रूपैयाँ लगेका छन्। उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम बढेपछि मोटो रकम विदेशिएको हो।

वैदेशिक रोजगारीमा गएका नेपालीले अर्बौं रूपैयाँ रेमिटेन्स पठाए पनि शिक्षाका लागि विदेशिने नेपालीले विदेश लैजाने रकम दोब्बरले बढेको छ। पोहोरको तुलनामा चालु आर्थिक वर्ष ०७९/८० को मंसिरसम्म शिक्षातर्फ करिब दोब्बरले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो वर्षको मंसिरसम्म शिक्षातर्फ २८ अर्ब ८१ करोड रूपैयाँ विदेशिएको छ। पोहोरको सोही अवधिमा शिक्षाका लागि १३ अर्ब ५३ करोड रूपैयाँ मात्र विदेश गएको थियो। नेपाली विद्यार्थीहरू अध्ययनका लागि अस्ट्रेलिया, बेलायत, क्यानाडा, जापान लगायतका मुलुकमा जाने गरेका छन्। स्वदेशमा गुणस्तरीय शिक्षा नहुँदा ठूलो संख्यामा नेपाली विद्यार्थीहरू विदेश जाने गरेका छन्।

कोभिडको प्रकोप घटेपछि नेपालबाट अध्ययन तथा भ्रमणका लागि विदेश जानेको संख्या बढेसँगै विदेश जाँदा खर्च गर्ने रकम ६४ प्रतिशतले बढेको छ। यो वर्ष पाँच महिनामा नेपालीले विदेश भ्रमणमा जाँदा ४२ अर्ब ८ करोड रूपैयाँ खर्च गरेका छन्। पोहोर सोही अवधिमा २५ अर्ब ६५ करोड रूपैयाँ मात्र लगेका थिए । नेपालीले विदेश जाँदा डलर साटेर लैजाने गरेको छन्। यसले नेपालमा रहेको डलर विदेश जाँदा अर्थतन्त्रमा थप चाप पर्ने गरेको छ। नेपाल दैनिक उपभोग्य लगायतका अधिकांश वस्तुमा परनिर्भर हुँदा मोटो रकम बाहिरिने गरेको छ।

आयातमा मात्र नभएर शिक्षा र भ्रमणमा पनि ठूलो रकम विदेसिँदा अर्थतन्त्रमा थप चाप पर्ने सरोकारवाला बताउँछन्। भ्रमण र शिक्षाका नाममा विदेशिएको रकम अन्य प्रयोजनका लागि लगिएको हुन सक्ने आंशका पनि गरिएको छ। नेपालीले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको भए पनि विभिन्न बहानामा नेपालबाट रकम विदेशिने गरेको छ। विदेशी मुद्राको सञ्चितिमा चाप परिरहेको अवस्थामा नेपालबाट आयातमा मात्र नभएर शिक्षा र भ्रमणको लागि रकम विदेशिने गरेको छ ।

नेपाल राष्ट्र बैंकले हालै एक सूचना प्रकाशन गरी विदेशमा लगानी गर्न प्रतिबन्ध रहेको जानकारी गराएको छ। अध्ययनका लागि विद्यार्थीले विश्वविद्यालय, कलेजलाई तिर्नुपर्ने शुल्कको लागि भन्दै रकम लैजाने गरेका छन्। विदेशमा रकम गएको आशंकामा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले एक सूचना प्रकाशन गरी विदेश विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्ध गरेको स्मरण गराएको छ। नेपाल बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्ध रहेको समेत जानकारी गराएको छ। विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार गर्नका लागि रकम लैजान नपाइने जनाएको छ। बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्न÷नगराउन अनुरोध गर्दै प्रचलित कानुन विपरीत रकम लगेमा कारबाही गर्ने समेत जनाएको छ।

नेपालबाट रकम विदेश गएपछि विदेशबाट नेपालमा आउने विप्रेषण पनि बढेको छ। चालु आवको पाँच महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रूपैयाँ आएको छ। यो पोहोरको तुलनामा २३ प्रतिशतले बढी हो। पोहोर सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको भए पनि यो वर्ष बढेको छ।  

विदेशी पर्यटकहरूको आगमनमा वृद्धि हुँदा उनीहरूबाट हुने आम्दानीमा भने बढेको छ। पर्यटनबाट हुने आम्दानी १० अर्ब रूपैयाँबाट बढेर २३ अर्ब रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। जनवरीदेखि डिसेम्बरसम्ममा ६ लाख १४ हजार पर्यटक नेपाल भ्रमण गरेका छन्। पोहोर जनवरीदेखि डिसेम्बरसम्म १ लाख ४९ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए। कोभिडको प्रकोप घटेसँगै विदेशी पर्यटक आगमन निकै बढेको छ। त्यसको प्रभाव आम्दानीमा पनि देखिएको छ।

प्रकाशित: ३ माघ २०७९ ०२:५० मंगलबार

वैदेशिक रोजगारी