सम्पादकीय

शिक्षामा चोरीचकारी

शिक्षाको गुणस्तर खस्किँदै गएको थाहा पाउने अनेकन तरिका हुन्छन्। शैक्षिक उत्कृष्टता हासिल गरी कार्यक्षेत्रमा क्रियाशील हुन तत्पर जनशक्तिको यहाँ सर्वथा अभाव देखिन्छ। प्रायः उत्कृष्ट अंक ल्याउने विद्यार्थीले चिकित्सक, डाक्टर आदि पेसा अपनाउन त्यहीअनुसारको शैक्षिक कार्यक्रममा आफूलाई सहभागी गराउँछन्। देश विदेशमा माग भएका यस्ता विषयमा अध्ययन गर्न उच्च प्रतिस्पर्धा हुनु स्वाभाविक हो। यी विषयमा अध्ययन गर्न छात्रवृत्तिका निम्ति हुने परीक्षामा पनि उत्तिकै कडा प्रतिस्पर्धा हुन्छ।

त्यस्तो प्रतिस्पर्धामा आफूलाई उम्दा बनाउन आकांक्षी विद्यार्थीले लामो समयदेखि तयारी गरेका हुन्छन्। उत्कृष्टताकै आधारमा मेहनती र प्रतिभावानले मौका पाउँछन्। यस्ता विद्यार्थीका निम्ति पहुँच पारिवारिक आर्थिक स्थितिले भन्दा सम्बन्धितको क्षमताकै आधारमा हुन्छ।

मानव जीवनसँग जोडिएको महत्वपूर्ण पेसा चिकित्सक बन्ने आकांक्षी विद्यार्थीले नक्कली परीक्षार्थी लगाएर जाँच दिन लगाएको देखिनु आफैँमा नैतिक मूल्यको विघटन हो। नक्कली विद्यार्थी बनेकाहरू छात्रवृत्ति पाएर अध्ययन गरिरहेका अब्बल विद्यार्थी हुन्।

छात्रवृत्तिमा अध्ययन गरिरहेका ती विद्यार्थीले नक्कली विद्यार्थी बन्न तयार हुनु पनि समाजमा नैतिकताको धरातल भत्किएको संकेत हो। अहिले अध्ययन गरिरहेका बेला छात्रवृत्ति प्राप्त भएको छ। अध्ययन सकिनासाथ तिनले राम्रो मौका पाउँछन्। यस्तो अवस्थामा रहेका विद्यार्थीले समेत लोभलालचमा परेर नक्कली परीक्षार्थी हुन खोज्नु आफैँमा चिन्ताको विषय हो। छात्रवृत्ति पाइरहेका विद्यार्थीले आफूलाई यस किसिमको काममा लगाउनु अपराध हो भन्ने महसुस किन गरिएन होला?

चिकित्सा शिक्षा आयोगले चैत १८ गते सञ्चालन गरेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सरकारी छात्रवृत्तिमै शिक्षा लिइरहेका विद्यार्थी सरिक भएको पाइनु आश्चर्यजनक छ। यस्ता विद्यार्थीले दुईदेखि १८ लाख रुपियाँसम्मको प्रलोभनमा पारेको देखिन्छ। चिकित्सा सेवामा सरिक हुने लक्ष्यका साथ अध्ययन गरिरहेका विद्यार्थी यस्तो कर्ममा सरिक भएका कारण पनि नीति निर्माता र सरोकारवालाले चिन्ता गर्नुपर्ने अवस्था छ।

बलिउड सिनेमा ‘मुन्नाभाइ एमबिबिएस’ शैलीमा प्रतिभाशाली छात्रले कमजोरलाई कार्यक्रममा ल्याउन मद्दत गरेको देखिन्छ। अहिले बल्ल आएर यस्ता विद्यार्थीको पहिचान भई पक्राउ परेका छन्। पक्राउ नपरेका भए स्वतः कम क्षमताका विद्यार्थीले मौका पाउने अवस्था रहन्छ। जसले नक्कली परीक्षार्थी प्रयोग गरे तिनले मौका पाउनु भनेको क्षमतावान अन्य विद्यार्थीका निम्ति मौका समाप्त हुनु पनि हो।

मुलुकका शिक्षा क्षेत्रका नीतिकारहरूले यो घटनाको गम्भीर अध्ययन गर्नु आवश्यक छ। यस्तो प्रवृत्ति कहिलेदेखि मौलाउँदै आएको हो? त्यो थाहा पाउने र निराकरण गर्ने व्यवस्था हुनुपर्छ। परीक्षाका प्रश्नपत्र पहिल्यै सार्वजनिक हुने वा निश्चित गेस पेपरवालाले पहिल्यै मिल्दाजुल्दा प्रश्न सार्वजनिक गरेर कमाइ गरिरहेको अवस्था पनि छ। यसले शिक्षा क्षेत्रमा विकृति ल्याएको छ। विद्यालयदेखि विश्वविद्यालयलाई उत्कृष्टताका केन्द्र बनाउन नसक्दा यो अवस्था आएको हो। शिक्षा आर्जनको विषय स्वतः रमाइलो हुनुपर्छ।

मानिसले आफूलाई रमाइलो नलाग्ने क्षेत्रमा सरिक हुन गाह्रो छ। जुन विद्यार्थीलाई प्रवेश परीक्षामा सरिक हुनसमेत गाह्रो लाग्छ र खेताला खोज्नुपर्छ, तिनले भविष्यमा उम्दा काम गर्न सक्दैनन्। अझ यसरी उत्तीर्ण भएका वा मौका पाएका व्यक्तिको हातमा हाम्रो स्वास्थ्य पर्नु भनेको आफैँमा खतरा उत्पन्न गर्नु पनि हो। वास्तवमा शिक्षा भनेको आफूलाई रमाइलो लाग्ने विषयमा रोचक किसिमले आर्जन गरिने जीवनको उपयोगी पक्ष हो।

शिक्षा जहिल्यै आर्जन गरिन्छ। शिक्षा क्षेत्रको कुनै उपाधि आर्जन गर्नु भनेको गर्व लाग्ने विषय हो। जीवनभरि गर्व लाग्ने यस्तो आर्जनलाई समेत कलंकित तुल्याउन खोज्नु उचित होइन। भनिन्छ, विद्याले विनय दिन्छ। तर आर्जन नगरिएको विद्याले त्यो विनयशीलतामा पुर्‍याउँदैन।

हाम्रा विद्यार्थीलाई शिक्षार्जन किन रोचक लाग्न छाड्यो? यो आफैँमा चिन्ताको विषय हो। केही वर्षयता अन्य क्षेत्रजस्तै शिक्षा पनि धराशायी बन्दै गएको छ। खासगरी जनआन्दोलन २०६२/०६३ यता सबै क्षेत्र बिग्रँदै गएका छन्। शिक्षा क्षेत्रमा त अहिले तीव्र गतिले विकृति आइरहेका छन्। शिक्षाको गुणस्तर खस्किँदै जाँदा सिक्ने/सिकाउने वातावरण कमजोर भएको छ।

शिक्षाको उपाधि औपचारिकरूपमा चाहिने भएकाले मात्र जसरी पनि यसलाई पाउन प्रतिस्पर्धा हुन थालेको छ। विद्यालय/महाविद्यालयमा नसिकेको ज्ञानले भावी जीवनमा केही गर्न सकिँदैन भन्ने सोच राख्न नसकेको देखिन्छ। शिक्षा आर्जनको प्रमाणपत्र मेहनतका आधारमा पाउनु नै गर्व हुने हो। यसो नगरी चोरीचकारी गरेर लिएका प्रमाणपत्र भनेका मानिस मार्ने हतियारमात्र हुन्छन्।

शिक्षा क्षेत्रमा विकृति बढिरहेका छन्। प्रश्नपत्रको व्यापार पनि चलिरहेको छ। भइरहेका सार्वजनिक विद्यालय र विश्वविद्यालयको क्षमता विस्तार गर्न सकिएको छैन। हिजोको उत्कृष्टताबाट तिनीहरू क्रमशः खस्किरहेका छन्। सार्वजनिक विद्यालयको गुणस्तर उकास्दै शिक्षालाई सुलभ र भरपर्दो तुल्याउने नेतृत्वको सर्वथा अभाव यतिबेला देखिन्छन्। शिक्षा आर्जन गर्ने आकांक्षी र शिक्षादाता दुवैथरीले आफूलाई मूल्यांकन गर्न ढिला भइसकेको छ।

हाम्रै छिमेकी मुलुकहरूले शिक्षालाई आमूल परिवर्तन गरेका छन्। हाम्रो शिक्षा क्षेत्रमा अति राजनीतीकरण छ। राज्यले गरेको लगानी बालुवामा पानीजस्तो भएको छ। सार्वजनिक शिक्षा भरपर्दो नभएका कारण सर्वसाधारणले दुःख गरेर छोराछोरीलाई निजी क्षेत्रमा शिक्षा दिनु परिरहेको छ। यो विषम परिस्थितिको परिणाम नै नक्कली परीक्षार्थी बन्ने र बनाउने परिपाटीको विकास हो। सुधारका निम्ति ढिला भइसकेको छ। बेलैमा ध्यान दिनु आवश्यक छ।

प्रकाशित: २४ चैत्र २०७८ ०१:२० बिहीबार

शिक्षाको गुणस्तर