सम्पादकीय

सुरक्षा सावधानी

निर्माणाधीन आयोजना क्षेत्रमा केही वर्षयता दुर्घटना भइरहेका छन्। न्यूनतम सुरक्षा मापदण्ड अपनाउने हो भने अनाहकमा कसैको ज्यान जाँदैन। कसैको अनाहकमा जीवन जान नदिन सुरक्षाबारे पूर्वतयारी हुनुपर्छ। यसतर्फ निर्माण कम्पनीहरूको ध्यान गएको देखिँदैन। सुरक्षा सावधानीका कारण उस्तै प्रकृतिका घटना पटक–पटक भइरहेका देखिन्छ। कम्तीमा एउटा घटनाबाट सिकेर भविष्यमा यस्तै प्रकृतिको अर्को घटना नहुने वातावरण बनाउनु पर्छ। प्रायः हामीकहाँ लापरबाहीपूर्ण ढंगले व्यवहार गर्ने गरेको पाइन्छ। केही भइहाल्दैन भन्ने मानसिकता राखेर काम गर्नु भन्दा कथं दुर्घटना भइहाल्यो भने जोगिनुपर्छ भन्ने सावधानी सबै भन्दा महत्वपूर्ण पक्ष हो।

विद्युत् उत्पादन, खानेपानी आयोजना, भवन रंगरोगन जस्ता कैयन् क्षेत्रमा यस्ता दुर्घटना भएर प्राविधिक कर्मचारी, कामदार र सर्वसाधारणको ज्यान गएको छ। पछिल्लो पटक सोलुखुम्बुमा निर्माणाधीन सोलु दूधकोशी जलविद्युत् आयोजनाको पेनस्टक पाइप परीक्षणका क्रममा दुर्घटना हुँदा दुई इन्जिनियरको ज्यान गएको छ। त्यसैगरी गत वर्ष असार ३० गते मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्ने क्रममा पनि इन्जिनियरको ज्यान गएको थियो भने आयोजनाका चालक बेपत्ता भएका थिए। २०७५ फागुन ९ गते वीर अस्पतालको सर्जिकल भवनको सामान ओसार्ने लिफ्ट चुडिँदा दुई जनाको ज्यान गएको घटना अहिले आएर धेरैले बिर्सिसकेका छन्। सीतापाइलामा पाइप खन्ने र बिछ्याउने क्रममा २०७४ असार ३० गते भएको दुर्घटनामा पनि तीन कामदारले जीवन गुमाएका हुन्।

यी केही प्रतिनिधि घटना हुन्। प्रायः यस्ता घटनामा थोरैको मात्र चर्चा हुन्छ। समयक्रममा यी सबैले बिर्सिदै जान्छन्। सबैजसो घटनाको समाचारसमेत बन्दैन। आयोजनाको काम गरिरहेका ठेकेदार कम्पनीले सुरक्षामा पर्याप्त ध्यान नदिँदा निर्माण क्षेत्रमा आइपुगेका व्यक्तिको अनजानमै ज्यान गएको, अंगभंग भएको वा जीवनभरि दुःख पाएर मर्नु न बाँच्नुको जिन्दगी भोग्नुपरेको छ। काठमाडौँ उपत्यकामै पनि प्रायः ठूला भवनको काम अत्यन्त असुरक्षित ढंगले भइरहेको देखिन्छ। त्यहाँ कुनैबेला कामदारमात्र होइन, सर्वसाधारणको पनि ज्यान जान सक्ने स्थिति हुन्छ। निर्माण गरिरहेका ठाउँमा ढुंगा, फलाम वा अन्य निर्माण सामग्री झरेर ठहरै पार्न सक्छ। यस्ता काम भइरहेका ठाउँमा यथोचित सुरक्षा सावधानी अपनाएको छ÷छैन भनी अनुगमन गर्नुपर्ने निकायले काम गरेको देखिएको छैन।

कतिपय अवस्थामा इनार सफा गर्दासमेत सर्वसाधारणको ज्यान गएको छ। यस्तो काम गर्ने दक्ष व्यक्ति भए/नभएको पहिचान गरी जिम्मेवारी लिन सक्ने व्यक्तिको अनुगमनमा मात्र यस्ता काम गराउनु उचित हुन्छ। त्यसो गर्दा धेरै खर्च लाग्न सक्छ। तर कसैको जीवन भन्दा महँगो अन्य पक्ष हुन सक्दैन। कसरी कम भन्दा कम क्षतिमा काम गराउन सकिन्छ भन्ने ध्यान निर्माणकर्ता, जिम्मेवारी लिएको कम्पनी र अन्य सरोकारवालाको पुग्नु उचित हुन्छ। यस्ता निर्माणमा मात्र होइन, सडकमा अझ धेरै लापरबाही देखिने गरेको छ। प्रायः सडक निर्माण पूरा नगरी अधुरो अवस्थामा छाडिएको हुन्छ। एक, कतिपय सडकको निर्माणमा न्यूनतम गुणस्तरसमेत कायम गरिएको हुँदैन। दुई, निर्माण कामलाई असरल्ल छाडेर हिँड्दा त्यहाँ दुर्घटना पर्ने सम्भावना हुन्छ।

प्रायः निर्माणाधीन वा निर्माण भर्खरै सम्पन्न भएका सडकको अवस्था सुरक्षाका दृष्टिकोणले कमजोर देखिने गरेको छ। त्यसैकारण पटक–पटक सडक दुर्घटना हुने गरेको छ। सडकमा गुड्ने सवारी साधनको अवस्थाबारे जाँच गर्ने काम पनि हुँदैन। कतिपय अवस्थामा यान्त्रिक गडबडीबाट समेत दुर्घटना भइ धेरैको ज्यान जाने गर्छ। यन्त्र/उपकरणको जाँच समय–समयमा गर्ने हो भने दुर्घटना हुनबाट जोगाउन सकिन्छ। हवाईजहाज, हेलिकोप्टर जस्ता हवाई माध्यममा जाँचको अत्यन्त धेरै व्यवस्था गरिएको हुन्छ। सुरक्षा मापदण्ड अपनाएका कारण कमैमात्र दुर्घटना हुन्छन्। निश्चित उडान र समयपछि यन्त्रको जाँच अनिवार्य हुन्छ। यही अवस्था सडक सवारीमा गरेको देखिँदैन। त्यही भएर बढ्ता लापरबाहीले दुर्घटना हुने र ज्यान जाने घटना हुने गरेका छन् ।

कतिपय ठूला भवन, अस्पताल, होटल, कार्यालय आदिमा लिफ्टको व्यवस्था गरिएको हुन्छ। तिनको नियमित जाँच हुनु आवश्यक हुन्छ। तिनको अवस्थाबारे बेलैमा जानकारी लिएर मर्मतसम्भार गर्नु उचित हुन्छ। वास्तवमा यस्ता लिफ्ट कहाँकहाँ छन् ? तिनको उमेर कति भइसकेको छ आदि जस्ता विषयमा ध्यान दिने र अनुगमन गरी सम्बन्धित व्यक्तिले त्यसमा हस्ताक्षर गर्नुपर्ने हुन्छ। विदेशतिर यस्ता यन्त्र/उपकरणको नियमित जाँचपछि प्रमाणित गरेर छाडेको देखिन्छ। यसो हुँदा अन्य व्यक्तिले सुरक्षित महसुस गरी उपयोग गर्न सक्छन्।

प्रायः सबै निर्माणको आयु हुन्छ। सडक, पुल, भवन वा यस्तै अन्य आयोजना कहिले निर्माण भएको हो ? त्यसको नियमित जाँच र अनुगमन कहिले गर्नुपर्ने हो भन्ने अभिलेखन आवश्यक हुन्छ। यी सबै सुरक्षाका बारेमा ध्यान दिँदामात्र सर्वसाधारणले सुरक्षित महसुस गर्न सक्छन्।

कुनै पनि पुलमा कति व्यक्तिसम्म उभिन सक्छन्। कति गह्रौँ भारीसम्म त्यहाँबाट पार हुन सक्छ भन्ने हिसाबले पनि उत्तिकै ध्यान दिनु आवश्यक हुन्छ। यस्ता पक्षको अनुगमन, जाँच र आवश्यकताअनुसार मर्मतसम्भार आवश्यक छ। यसो गर्न सकेमात्र सुरक्षाको प्रत्याभूति हुन्छ। जसले जतिसुकै असुरक्षित तबरबाट काम गरे पनि हुन्छ भन्ने होइन। 

सडकमा बाटो काट्ने, पेटीमा हिँड्ने जस्ता सामान्य विषयमा त हरेक व्यक्तिलाई जानकारी हुनु र सुरक्षित भएर अगाडि बढ्नु आवश्यक छ भने यस्ता आयोजनामा झनै सावधानी आवश्यक हुन्छ। हामीले निर्माण, उपभोग र यातायातका क्षेत्रमा आधुनिकता अपनाइरहेका छौँ भने सावधानीमा पनि उत्तिकै जोड दिनुपर्छ। पटक–पटक हुने असावधानीपूर्ण दुर्घटना र त्यसबाट हुने मृत्युबाट जोगाउने गरी काम गर्न ढिला नगरौँ ।

प्रकाशित: १५ पुस २०७८ ०५:५९ बिहीबार

Download Nagarik App
Download Nagarik App