सम्पादकीय

व्यवसायीलाई राहत

कोरोना विषाणु कहर सुरु भएपछि यसको प्रभाव नपर्ने विरलै क्षेत्र छन्। सबैभन्दा बढी पर्यटन क्षेत्रलाई यसले आक्रान्त तुल्याएको छ। हाम्रो मुलुकका हिमाच्छादित पर्वत शृृंखला, मोहनीलाग्दा पर्यटकीयस्थल र मुस्काइरहने अनुहारले पर्यटकलाई लोभ्याउँदै आएको हो। तिनै पर्यटक यहाँ आउन थालेका कारण मुलुकभर स्तरीय होटल निर्माण भएका छन्। काठमाडौँ उपत्यकासहित बाहिर पनि पाँचतारे सुविधा सम्पन्न होटल निर्माणमा प्रतिस्पर्धा चलेको छ। देशकै पुरानो होटल सोल्टीको समेत लगानीमा नेपालगन्जमा अर्को स्तरीय होटल खोलिएको छ। विदेशमा गएर विभिन्न पेसा÷व्यवसाय गरेका गैरआवासीय नेपाली नागरिकले यहाँ आएर स्तरीय होटल खोल्न थालेका छन्। पर्यटक बढेकै कारण निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको व्यवसाय विस्तार भएको छ। पर्यटन क्षेत्रभित्र रहेका अनेकौँ उपक्षेत्रमा मुलुकको ठूलो जनशक्ति क्रियाशील छ।  

मुलुकमा पर्यटक आगमन बढ्नुको एउटा प्रमुख कारण पर्वतारोहण हो। वैशाख–जेठ र असोज–कात्तिक हाम्रा निम्ति विदेशी पाहुना आउने र आरोहणमा सरिक हुने व्यस्त बेला हो। यसो त विगतका वर्षमा सगरमाथामा धेरै आरोही पुग्दा ‘ट्राफिक जाम’ भएको गुनासो पनि नभएको होइन। तर यस वर्ष एउटा पनि आरोहण हुन सकेन। नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने एउटा महत्वपूर्ण गतिविधिमा आरोहण पर्छ। संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा र अन्य हिमाल चढ्न बर्सेनि हजारौँको संख्यामा विदेशी आउने गरेका छन्। आफ्नो छुट्टीको समय प्रयोग गर्दै आरोहण र पदयात्राको मजा लिनका निम्ति कोसौँ टाढाबाट विदेशी पाहुना यहाँ आउने गर्छन्। तर कोरोना विषाणुका कारण चैत ११ देखि बन्दाबन्दी सुरु भएपछि आरोहण र पदयात्रा गतिविधिमा अवरोध आएको छ। सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथा शिखर चुमेयता पहिलोपटक आरोहण हुन नपाएको यो वर्ष हो। मुलुक बन्दाबन्दीका बेला सुदूर पर्यटकीय क्षेत्रमा रहेका पर्यटक पनि क्रमशः आफ्नो घर फर्केका छन्। अहिले पर्यटकीय गतिविधि शून्य बराबर छ। यो वर्ष यस्ता गतिविधि नहुनु भनेको आफैँमा हामीलाई आर्थिक क्षतिमात्र होइन, हामीलाई सम्झेर आउने व्यक्तिको कमी हुनु पनि हो।

कोरोना विषाणुले हामीमाथि बहुआयामिक क्षेत्रमा प्रभाव पारेको महसुस गर्न सकिन्छ। हाम्रो दैनिक जीवनलाई यसले कष्टकर तुल्याएकोमात्र छैन, मानव जातिले स्वतन्त्रपूर्वक हिँडडुल गर्ने मौकासमेत गुमाएको छ। आरोहण क्षेत्रमा लाग्ने व्यक्तिहरूको जीवन यापनलाई कठिन तुल्याएको छ। अन्यथा, यो काम गरेर वर्षभरिका निम्ति उनीहरूले जोहो गर्थे। त्यसैगरी कतिपय कीर्तिमानी आरोहीले यस वर्ष थप कीर्ति थप्न सम्भव हुन्थ्यो। तर यसपटक यो सबै सम्भव भएन। वास्तवमा पर्यटन उद्योग मुलुकका निम्ति सिधा विदेशी मुद्रा कमाउने माध्यम पनि हो। हाम्रा दाजुभाइ दिदीबहिनीले अरबका कपाल दुखाउने गर्मीमा मेहनत गरेर पठाएको रेमिटेन्ससमेत यसपटक घटेको छ। धेरैले आफ्नो काम छाडेर थातथलो फर्कनुपरेको छ। हाम्रो मुलुकमा विदेशी मुद्रा कमाइ गर्न सक्ने प्रमुख क्षेत्र वैदेशिक रोजगारी र पर्यटन बनेका छन्। कोरोनाले यी दुवै क्षेत्रलाई थला पारेको छ। विदेशी मुद्रा कमी हुँदा मुलुकको अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने देखिएको छ। अर्कोतिर पर्यटन क्षेत्रको बेरोजगार समुदाय पनि आर्थिक विपन्नताको पंक्तिमा लामबद्ध हुनेछ। हामीले जसरी निम्न मध्यम आय मुलुकका रूपमा आफूलाई अग्रसर गराएका छौँ, त्यसमा टिकिरहन पनि आर्थिक गतिविधि अघि बढ्नुपर्छ। अहिलेको स्थितिबाट सामान्यतर्फ कसरी र कहिले अग्रसर हुन पाइने हो ? अहिल्यै भन्न सक्ने अवस्था छैन।  

आफूलाई उच्च प्रगतिमा पु-याएका कतिपय मुलुकको आम्दानीको एउटा गतिलो स्रोत पर्यटन उद्योग हो। संसारकै ठूला अर्थतन्त्र भएका दुई छिमेकी मुलुक चीन र भारतका बीचमा हामी छौँ। उनीहरूका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा हामी छैनौँ। त्यसैले हाम्रो मुलुकको विकासका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य जस्तै बनेको छ। हाम्रो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको हिस्सा ५ प्रतिशत पनि पुग्न नसकेको अवस्थामा यसको महत्वलाई हेरेर सरकारले थप लगानीको वातावरण मिलाउनु आवश्यक छ। कोरोना कहरमा सबैभन्दा प्रताडित क्षेत्र पर्यटन नै हो। अबका केही महिनामा कोरोना विषाणुको भ्याक्सिन बने पनि पर्यटकको चहलपहल सुरु हुन अर्को वर्ष लाग्नेछ। अहिले संसारभर आर्थिक मन्दी देखिएको र अधिकांशको रोजगारी र आम्दानी घटेका बेला घुमफिरमा निस्कन सक्नेको संख्या ठूलो हुने छैन। त्यसैले कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई सरकारले कसरी संरक्षण गर्न सकिन्छ भन्ने योजना ल्याउनुपर्छ। अहिलेसम्म सरकारले यो क्षेत्रका व्यवसायीले लिएको ऋणको साँवा र ब्याज तिर्ने समय पर सार्नेबाहेक ‘सुको’ पैसा राहत दिएको छैन। यो क्षेत्रका व्यवसायी डुब्नु भनेको सरकारका लागि पनि समस्या आउनु हो। आगामी वर्षको बजेटले व्यवसायीलाई खासै राहत नदिए पनि आउन लागेको मौद्रिक नीतिबाट सहयोग गर्न सक्छ।

प्रकाशित: ३० असार २०७७ ०५:३५ मंगलबार

कोरोना विषाणु सम्पादकीय पर्यटकीयस्थल