अर्थ

व्यापार घाटामा साढे १० प्रतिशतले कमी

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कुल वस्तु व्यापार घाटामा १०.४ प्रतिशतले कमी आएको छ।

राष्ट्र बैंकका अनुसार यो वर्ष साउनमा १ खर्ब १६ अर्ब ४८ करोड वस्तु व्यापार घाटा पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो। अहिले निर्यात-आयात अनुपात ११.३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः ३६.५ प्रतिशत र २४.४ प्रतिशतले घटेको छ। अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पाम तेल, जिंक सिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पन्ज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम.एस.विलेट, दूरसंचार उपकरण तथा पार्टस्, कच्चा सोयाविन तेल, हट रोल्ड सिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ।

राष्ट्र बैंकका अनुसार यो साउनमा खुद सेवा आय ११ अर्ब ६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष खुद सेवा आय १० अर्ब १३ करोडले घाटामा थियो। यस्तै सेवा खाता अन्तर्गत भ्रमण आय ५६ प्रतिशतले बढेर २ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १ अर्ब ६७ करोड थियो। यस्तै सेवा खाता अन्तर्गत भ्रमण व्यय ८३.८ प्रतिशतले बढेर १० अर्ब ५ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ७ अर्ब १३ करोड रहेको छ।

बैंकका अनुसार साउनमा महँगी ८.२६ प्रतिशत पुगेको छ। यो अघिल्लो वर्षको भन्दा झण्डै दोब्बर बढी हो। गत वर्ष साउनमा महँगी ४.३५ प्रतिशत मात्र थियो। साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ९.१८ प्रतिशत पुगेको हो।

बैंकका अनुसार गत साउनको तुलनामा यो साउनमा खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत पुगेको छ।

यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरू, शिक्षा र घरायसी उपयोगका वस्तु उपसमूहको महँगी क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ।

साउनमा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत महँगी बढेको छ। गत साउनमा यी क्षेत्रमा क्रमशः ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत महँगी थियो।

यस्तै साउनमा वार्षिक बिन्दुगत थोक मँहगी १२.५८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ४.२५ प्रतिशत रहेको थियो। उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.६२ प्रतिशत, १४.६८ प्रतिशत र ६.८७ प्रतिशत पुगेको छ। साउनमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३६ प्रतिशत रहेको थियो। यो वर्ष साउनमा नेपालको वार्षिक बिन्दुगत महँगी ८.२६ प्रतिशत रहेकामा छिमेकी भारतमा गत अगष्ट महिनामा महँगी ७ प्रतिशत रहेको छ। 

प्रकाशित: ३१ भाद्र २०७९ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App