अर्थ

अपर अरूण जलविद्युत् आयोजना:एचआईडिसिएलको नेतृत्वमा ५३ अर्ब स्वदेशी लगानीको प्रतिबद्धता

अपर अरूण जलविद्युत् आयोजनाको लागि नेपालका स्वदेशी कम्पनीले ५३ अर्ब ४४ करोड रूपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। अपर अरूण १०६१ मेगावाट क्षमताको जलविद्युत् आयोजना हो। जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडिसिएल)को नेतृत्वमा नेपालका विभिन्न बैंक तथा वित्तीय कम्पनीले झण्डै आधा खर्ब रूपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता गरेका हुन्।

एचआईडिसिएलको नेतृत्वमा कन्सोर्टियमबीचको ऋण लगानी सम्बन्धी समझदारीपत्रमा बिहीबार राजधानीमा हस्ताक्षर भएको छ। अरूण हाइड्रो इलेक्ट्रिक लिमिटेडका अध्यक्ष कुलमान घिसिङ, कम्पनीका प्रबन्ध सञ्चालक फडिन्द्रराज जोशी, एचआईडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

एचआईडिसिएलको नेतृत्वमा नागरिक लगानी कोष, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले कन्सोर्टियम मार्फत ५३ अर्ब ३४ करोड रूपैयाँ लगानी गर्नेछन्।

अरूण हाइड्रो इलेक्ट्रिक लिमिटेडका अध्यक्ष घिसिङले अपर अरूण जलविद्युत् आयोजना सन् २०३० भित्रै दुई खर्ब १४ अर्ब रूपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए।

‘यो आयोजना निर्माणमा वैदेशिक ऋण बापत ९७ अर्ब ६ करोड रूपैयाँ विश्वबैंकको तर्फबाट लगानी जुटाइनेछ,’ उनले भने-‘स्वदेशी वित्तीय संस्थाको तर्फबाट ५३ अर्ब ३४ करोड रूपैयाँको स्रोत व्यवस्थापन गरिनेछ।’

यो आयोजना ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लगानीमा निर्माण गर्न लागिएको हो।

यो परियोजनाको स्वपुँजी ६४ अर्ब ४६ करोड र वैदेशिक र स्वदेशी ऋण गरेर कुल एक खर्ब ५० अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

अध्यक्ष घिसिङले यो परियोजना निर्माण भएसँगै नेपालको जलविद्युत् क्षेत्रमा नयाँ फड्को मार्ने बताए। ‘यो परियोजना निर्माण भएसँगै नेपालको जलविद्युत् क्षेत्रमा रूपान्तरणकारी परिर्वतन आउने छ’-उनले भने। यो आयोजनाको ६४ अर्ब ४६ करोड स्वपुँजीमध्ये नेपाल विद्युत् प्राधिकरण, सर्वसाधारण र स्थानीय आयोजना प्रभावित क्षेत्रका जनताबाट लगानी व्यवस्थापन गरिनेछ। यो परियोजनामा प्राधिकरणको ४१ प्रतिशत शेयर संरचना रहनेछ।

एचआईडिसिएलका प्रमुख कार्यकारी अधिकृत गौतमले अपर अरूण जस्तो आयोजनामा स्वदेशी ऋणको व्यवस्थापन गर्ने जिम्मेवारीलाई कुशलतापूर्वक अगाडि बढाउने बताए। ‘हाम्रो नेतृत्वमा ५३ अर्ब ३४ करोड रूपैयाँ स्वदेशी लगानी जुटाउने अभिभारा पाएका छौं। त्यसलाई सफलतापूर्वक अघि बढाउनेछौं,’ उनले भने-‘यो आयोजनामा सरकारी तथा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने प्रतिबद्धता जनाएकाले पनि अघि बढ्न सहज हुनेछ।’

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफ्नो कार्यकालमा अपर अरूण जलविद्युत् आयोजना अघि सार्ने पाएकोमा निकै गौरवान्वित भएको बताइन्। ‘मुलुकै लागि गेमचेन्जर आयोजना अघि बढाउने अवसर पाएकी छु,’ उनले भनिन्-‘यो परियोजनालाई सफलतापूर्वक अघि बढाउन सबैलाई निर्देशन दिन चाहन्छु।’

अपर अरूण जलविद्युत् आयोजनाको सन् २०२२ भित्रै फाइनान्सियल क्लोजर (वित्तीय व्यवस्थापन जुटाइसक्ने लक्ष्य राखिएको छ। यो १०६१ मेगावाटको (पिकिङ रनअफ दी रिभर) अर्धजलाशययुक्त आयोजना हो। २०७५ असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरण मातहतकै सहायक कम्पनी अपर अरूण जलविद्युत् लिमिटेडमार्फत निर्माण गर्ने निर्णय गरेको थियो। जसमा १७३.३ मेगावाटको ६ वटा युनिटबाट बिजुली उत्पादन गर्न सकिनेछ ।’ संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित यस पिकिङ रन-अफ-रिभर आयोजनाको हालसम्मको अध्ययन अनुसार अरूण नदीमा १८३ मी. लामो र करिब १०० मिटर उचाइको बाँध निर्माण गरी ८.५ कि.मी. लामो सुरुङमार्फत पानी ल्याई छोंग्राकस्थित भूमिगत जलविद्युत्गृहमा खसालिने छ।

यो आयोजनाबाट वार्षिक करिब ४ अर्ब ५१ करोड युनिट विद्युत् उत्पादन हुनेछ। जसमध्ये करिब ३० प्रतिशत बिजुली सुक्खा याममा उत्पादन हुनेछ। उत्पादित विद्युत्लाई पावर हाउसदेखि करिब ६ किमी ४०० केभी डबल सर्किटको प्रशारण लाइन निर्माण गरी हाइटार संखुवासभास्थित सबस्टेसनमा जोडिने योजना रहेको छ।

कम्पनीका प्रबन्ध सञ्चालक जोशीले यो आयोजना सन् २०२४ को अन्त्यतिर शुरु भई सन् २०३० को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको बताए। ‘यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाइन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनौट गर्ने कार्य भइरहेको छ,’ उनले भने-‘आयोजनाको पूर्व तयारी कार्यमध्ये आयोजनाको २१ किलोमिटर लामो पहुँचमार्ग निर्माण कार्यको लागि बोलपत्रदाता छनौट गर्न प्राप्त बोलपत्रहरूको मूल्यांकन कार्य भइरहेको छ।’ आयोजनाको लागि आवश्यक करिब २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्ने क्रममा रहेको कम्पनीले जनाएको छ। आयोजनाबाट करिब २२ घरधुरी भौतिक रूपमा विस्थापित हुनेछन् भने आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरू तुलनात्मक रूपमा न्यून रहेको अध्ययनबाट देखिएको छ।

पहुँच मार्गको निर्माण कार्य सन् २०२३ को पूर्वार्धबाट सुरु गर्ने योजना कम्पनीको रहेको छ। सरकारले यस आयोजनालाई जनताको जलविद्युत् कार्यक्रम ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनीमा’ समावेश गरेको छ।

आयोजना निर्माणको लागी वित्तीय व्यवस्थापन सहुलियत ऋण तथा शेयर लगानीबाट गरिने भएको छ। अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाको लागि ऋण लगानी जुटाउन समन्वय भइरहेको छ। आयोजनाको अध्ययनको लागि आर्थिक सहयोग गरिरहेको विश्व बैंकले आयोजना निर्माणको लागि ऋण लगानी गर्ने इच्छा देखाउँदै आइरहेको छ।  

प्रकाशित: ३१ भाद्र २०७९ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App