अर्थ

व्यवसायी र राजस्वबीच सम्बन्ध सुधारको प्रयास

नेपालगन्जका उद्योगी, व्यवसायी तथा राजस्व अनुसन्धानबीच सम्बन्ध सुधारका लागि नेपालगन्जमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। 

राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको अन्तक्र्रिया कार्यक्रममा व्यवसायीहरुले कोरोनापछि व्यवसाय धराशायी भएको अवस्थामा राज्यले अनेक बाहनामा दुःख दिइरहेको दुखेसो पोखे। उनीहरुले व्यवसायीलाई परेको असर कम गर्न राज्यका तर्फबाट सहयोग नपाइएको तर, राजस्व छलीका नाममा दुःख दिन मात्रै खोजिएको गुनासो गरे।  

उनीहरुले राजस्व असुल गर्ने कार्यालयका कर्मचारीहरुको रुखो व्यवहार हुने गरेको, भन्सार छलर सामान भित्र्याउनेहरुलाई राजस्व अनुसन्धानले कारबाही नगर्ने गरेको, क्रिप्टोकरेन्सीका नाममा नेपाली पैसा बाहिर गइरहेकोमा अनुसन्धान गर्नुपर्नेमा सोझा व्यापारीहरुलाई मात्रै दुःख दिने गरिएको बताएका थिए। नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संघीयतापछि नेपालगन्जको व्यापारमा सिथिलता आएको, भन्सार छलीका सामानले समस्या सिर्जना गरेको, खुला सिमानाको तस्करहरुले फाइदा उठाइरहेको बताए। राजस्व अनुसन्धानले असल व्यापारीहरुका व्यवहारिक गल्तीहरु माफ गरिदिनुपर्ने पनि बताए।    

व्यापारीहरुले राखेका गुनासा तथा जिज्ञासाहरुको जवाफ दिँदै महानिर्देशक अधिकारीले आफ्नो अनुमतिबिना कुनै पनि कर्मचारी छापा हान्न पसलमा पस्न नसक्ने बताए। उनले जहाँ छापा मारिएको छ त्यहाँ कुनै न कुनै गल्ती भएको आशंंकामा नै छापा हानिने गरेको प्रष्ट्याए। उनले आफूहरुको काम पारदर्शी व्यापार गराउने, भन्सार र राजस्व छली हुन नदिने र स्वच्छ व्यापारिक वातावरण बनाउने रहेकोमा जोड दिए। उनले राजस्व अनुसन्धानले लाखौँको भन्सार छलेका सामानका गाडीहरु समातेर कारबाहीको दायरामा ल्याइएको बताउँदै व्यवसायीहरुलाई आश्वस्त पार्न खोजे। उनले व्यवसायीहरुले आफ्नो व्यावसायिक अधिकारको कुरा गर्दा कर्तव्य पनि बिर्सन नहुने बताए।  अधिकारीले भने, ‘अधिकारको रेल चलाउन कर्तव्यको इन्धन चाहिन्छ व्यापारी साथीहरु। ’  

नेपालगन्जमा केही दिनअघि राजस्व अनुसन्धान कार्यालय कोहलपुरले छापा मार्ने क्रममा भएको विवादपछि उत्पन्न परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन कार्यक्रमको आयोजना गरिएको संघका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए।

प्रकाशित: २६ भाद्र २०७९ ११:२० आइतबार