अर्थ

नेप्से २२ सय नजिक, कारोबार साढे ४ अर्ब

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो साता १५२ अंकले बढेको बजारमा आइतबार पनि सुधार आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबारको कारोबारबाट परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा पुगेको छ। यो २.५५ प्रतिशतको वृद्धि हो। कारोबार रकम पनि साढे ४ अर्ब माथि पुगेको छ।

एक्सचेन्जका अनुसार २१४२ बिन्दुबाट सुरू भएको कारोबार लगातार जसो बढेको थियो। दिनभरमा तीन चार पटक सामान्य रूपमा कारोबारमा गिरावट आए पनि त्यसले बजार बढ्ने क्रमलाई रोक्न सकेन। लगातारको वृद्धिपछि नेप्से २१९५ बिन्दुमा रोकिएको हो।

एक्सचेन्जका अनुसार आइतबार नेप्सेका अतिरिक्त प्रमुख तीन सूचक सबै बढेका छन्। सेन्सेटिभ सूचक ९.७२ बिन्दुले बढेको छ। फ्लोट १६.१० र सेन्सेटिभ फ्लोट ३.८४ बिन्दुले बढेका छन्। प्रतिशतका आधारमा हेर्दा सबै भन्दा बढी फ्लोट ११.८७ ले बढेको छ। यो तथ्यांक अनुसार आइतबारको बजार वृद्धि फ्लोट सूचक अन्तर्गतका कम्पनीहरूको सेयर मूल्य बढेकाले भएको देखिन्छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचक मध्ये १२ बढेका छन् भने फाइनान्स उपसूचक घटेको छ।

कारोबारमा सुधार आउने १२ उपसूचकमध्ये सबैभन्दा धेरै अंकले जीवन बिमा उपसूचक बढेको छ। यो ४१२ अंकले बढेको हो। त्यसपछि धेरैले बढ्नेमा निर्जीवन बिमा उपसूचक परेको छ। यो ३७४ अंकले बढेको हो। अन्य उपसूचकहरू भने एक सय अंकले पनि बढ्न सकेका छैनन्। पचास अंकभन्दा धेरैले बढ्नेमा उत्पादन तथा प्रशोधन ९८, होटल तथा पर्यटन ८०, व्यापार ७५, लघुवित्त ५४ र अन्य ५२ छन्। यस्तै बैंकिङ उपसूचक पनि ४० अंकले बढेको छ। फाइनान्स उपसूचक ३१ अंकले गिरावट आएको हो। सबैभन्दा कमले कारोबार बढ्नेमा सामूहिक लगानी कोष ०.११ अंक रहेको छ। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले लगानी उपसूचक परेको छ। यो ४.७६ प्रतिशतले बढेको छ। सबैभन्दा कम सामूहिक लगानी कोष ०.७५ प्रतिशत रहेको छ।

एक्सचेन्जका अनुसार आइतबार ५ वटा कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशतले बढेको छ। यी सबै बिमा कम्पनी हुन्। यस्तै ९ प्रतिशतले प्रतिसेयर मूल्य बढ्ने कम्पनी पनि ५ वटै परेका छन्।

यस्तै कारोबार भएका कम्पनीमध्ये चार वटा कम्पनीको प्रतिसेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ। यस्तै ११ वटा कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेका छन्।

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको २१ करोड ३४ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यस्तै नेपाल दूरसञ्चार कम्पनीको १५ करोड २३ लाख, एसियन लाइफको ११ करोड ५४ लाख र हिमालयन डिष्टिलरीको १० करोड ३७ लाख रूपैयाँको कारोबार भएको छ।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर कुमारी बैंकको प्रमोटर सेयर भएको छ। यसका ७ लाख कित्ता सेयर बिक्री भएका हुन्। एक्सचेन्जका अनुसार आइतबार २२० कम्पनीका १ करोड १३ लाख ३९ हजार ४ सय ८६ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि ४ अर्ब ६० करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर ३१ खर्ब ३४ अर्ब रूपैयाँ पुगेको छ । 

प्रकाशित: १६ श्रावण २०७९ ००:४७ सोमबार

नेप्से २२ सय नजिक कारोबार साढे ४ अर्ब