अर्थ

४० प्रतिशत राजस्वको स्रोत इन्धन, वीरगन्जका नाकाबाट २ सय ५३ अर्ब राजस्व संकलन

वीरगन्जका दुईवटा नाकाबाट चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई सय ५३ अर्ब ५५ करोड ९३ लाख रूपैयाँ राजस्व संकलन भएको छ। देशको प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार कार्यालय र भारतीय रेलमार्गमार्फत अन्तर्राष्ट्रिय जलपारवहनबाट जोडिएको सुक्खा बन्दरगाह भन्सार कार्यालय गरी उक्त राजस्व उठेको हो।

वीरगन्ज भन्सार कार्यालयले चालु आव २०७८/०७९ को साउनदेखि असारसम्ममा निर्धारित लक्ष्यभन्दा ०.५० प्रतिशतले बढी दुई खर्ब ४ अर्ब १२ करोड २७ लाख ५६ हजार रूपैयाँ राजस्व असुली गरेको छ। २ खर्ब ३ अर्ब ६१ रूपैयाँ राजस्व संकलनको लक्ष्य यस भन्सारले लिएको थियो। सुक्खा बन्दरगाह भन्सार कार्यालयले भने लक्ष्यभन्दा ५.०२ प्रतिशतले कम उनन्चास अर्ब ४३ करोड ६५ लाख ४४ हजार रूपैयाँ राजस्व असुली गरेको छ।  

सुक्खा बन्दरगाह भन्सारलाई ५२ अर्ब ४ करोड ९९ लाख ४० रूपैयाँ राजस्व असुलीको लक्ष्य वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सारलाई थियो। यसरी वीरगन्ज नाकामा रहेका दुवै भन्सारको राजस्व असुली बितेको आवमा दुई खर्ब ५३ अर्ब ५५ करोड ९३ लाख रूपैयाँ रहेको छ। वीरगन्ज भन्सार कार्यालयले जनाएअनुसार इन्धन र सवारी साधन आयात योगदान राजस्व असुलीमा उल्लेखनीय छ।  

४० प्रतिशत राजस्व इन्धनबाट

मोतीहारी रक्सौल अमलेखगन्ज पाइपलाइनबाट तेल धेरै आउँदा राजस्वमा पनि यसको प्रतिफल देखिएको भन्सार अधिकृतले बताए। वीरगन्ज भन्सारबाट संकलन भएको कुल राजस्वमा पेट्रोलियम इन्धनबाट मात्र ४० प्रतिशत योगदान भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांक छ। कुल संकलित राजस्वमा डिजेलबाट २४.८८ प्रतिशत, पेट्रोलबाट ११.४० प्रतिशत र एलपी ग्यासबाट ३.२२ प्रतिशत योगदान छ। राजस्वमा प्रमुख आयातीत वस्तुको सूचीमा नरेहको मट्टीतेलबाट ०.०५ प्रतिशत र हवाई इन्धनबाट ०.२१ प्रतिशत योगदान भएको तथ्यांक छ।  

आर्थिक वर्षको अन्त्यमा असार महिनामा भने कुल असुलीमा इन्धनको ५४.३२ प्रतिशत योगदान छ। हवाई इन्धनबाहेक डिजेल, पेट्रोल र एलपी ग्यासबाट मात्र गर्दा ५४.३२ प्रतिशत राजस्व उठेको हो। असारमा डिजेलबाट मात्र ३५.४३ प्रतिशत, पेट्रोलबाट १४.३६ प्रतिशत र एलपी ग्यासले ४.५३ प्रतिशत योगदान गरेको छ।  

इन्धनबाहेक राजस्वमा अधिक योगदान गर्ने जिप, कार र भ्यानजस्ता सवारीबाट ९.२४ प्रतिशत राजस्व प्राप्त भएको वीरगन्ज भन्सारको तथ्यांकमा जनाइएको छ। मोटरसाइकल, भटमासको तेल, कोइला, औद्योगिक कच्चा पदार्थका रूपमा मगाइने फलामे सिट, तयारी कपडा, पिकिअप गाडी, ट्रक तथा मिनीट्रक, विभिन्न फलामलगायत वस्तुले यसपालि पनि मुख्य रूपमा राजस्व बढी दिएका छन्।  

सुक्खा बन्दरगाह भन्सार थोरैले असफल भएर लक्ष्य भेटाउन चुकेको देखिन्छ। सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेका अनुसार सरकारले केही वस्तु आयातमा रोक लगाएको र केहीको आयातमा कडाइ गरेका कारण त्यसको असर स्वाभाविक रूपमा राजस्वमाथि देखिएको छ।  

लक्ष्यभन्दा ५.२ प्रतिशतले घटी राजस्व उठाएको सुक्खा बन्दरगाहमा मुख्यरूपमा विदेशबाट आउने विभिन्नखाले मालबस्तु र भारतबाट आउने फलामलगायत औद्योगिक कच्चा पदार्थ आउने गरेको छ। विदेशी मुद्राको विनिमय दरमा फरक पर्दा यहाँको राजस्व संकलनमा असर पर्ने गरेको भन्सार अधिकृत बताउँछन्। त्यस्तै नेपालका उद्योगहरूको उत्पादन घट्दा पनि त्यसले असर गर्दछ।

प्रकाशित: ११ श्रावण २०७९ ०२:४७ बुधबार

वीरगन्जका नाका