देशमा रोजगारीको अवसर नपाएको भन्दै विदेशिने युवाको संख्या इलाममा पनि थोरै छैन। कृषि क्षेत्रमा उर्बर मानिने इलामका युवा प्रोत्साहन र प्रविधिको अभावले कृषि क्षेत्रबाट विमुख हुँदै रोजगारी खोज्न विदेश जाँदैछन् तर यहीं सम्भावना देखेर मेहनत गर्ने युवाले चाहिँ निराश हुनु परेको छैन। ती युवा अहिले अरूका लागि समेत प्रेरणाको स्रोत बनिरहेका छन्। यतिसम्म कि शारीरिक अपांगता भएर पनि कृषि क्षेत्रमा उदाहरणीय बनेका युवकको सफलताको कथा पढ्न अब इलामभन्दा बाहिर गइरहनुपर्दैन। माइजोगमाई गाउँपालिका–३, गुप्तीका युवक भानु थामी अपांग छन् तर उनी कृषिकर्मबाट सफल युवा उद्यमीका रूपमा चिनिँदैछन्।
थामीको दाहिने हातको नाडीभन्दा तलको भाग छैन। ६ वर्षको हुँदा हातमा घाउ भयो। त्यतिबेला इलामकै बांगिनमा घर भएका थामीको तत्काल उपचार सम्भव भएन। पछि भारतको दार्जिलिङमा उपचार त भयो तर हात काम लागेन। काटेर फाल्नुपर्ने भएपछि उनले नाडीभन्दा तलको भाग गुमाउनुपर्यो तर थामी निराश भएनन्। आर्थिक अवस्था कमजोर भएको परिवारको गर्जाे टार्नेक्रममा थामीले हरेस खाएनन्। ‘एउटा हातको मुख्य भाग नभए पनि म अरूभन्दा कमजोर छैन भन्ने नै लाग्थ्यो र लाग्छ,’ उनले सुनाए, ‘आफूलाई कमजोर ठानेर कहिल्यै प्रगति गर्न सकिँदैन।’
बिहान–बेलुका हातमुख जोर्ने चाँजो मिलाउन उनले सुरुमा व्यापार–व्यवसाय गरे । गाउँमा उत्पादन भएको अदुवा, अलैंची, कुचो, मटरजस्ता नगदेबाली खरिद गर्दै घोडामा बोकाएर बजार लगेर बेच्न थाले। बजारबाट उपभोग्य सामग्री गाउँबासीलाई घर–घरमा पुर्याइदिन थाले। शुक्रबारे, गुप्ती, नयाँबजार र लप्सीबोटेमा उनका किराना पसल थिए। पत्नी संगीताले हरकाममा उत्तिकै साथ दिइन्। छोराहरू वैदेशिक रोजगारीमा गए, परिवार छुट्टियो। व्यवसाय राम्रो चलिरहे पनि त्यसलाई निरन्तरता दिन सकेनन्।
व्यवसायबाट अलि–अलि जम्मा भएको पैसाले गुप्तीमा करिब ४० रोपनी जग्गा किने। ३० रोपनी जमिन पहिला नै थियो। निर्वाहमुखी हिसाबले खेतीपाती र पशुपालन गरिरहेका थामी अब विस्तारै व्यावसायिक खेतीतिर आकर्षित भए। जीवन चलाउन सहज बन्दैगयो।
२०७२ सालतिर उनले करुणा फाउन्डेसनबाट खेतीपातीसम्बन्धी तालिम लिने अवसर पाए। मौसमी–बेमौसमी खेतीको सीप सिके। मौरी, गाईवस्तु, बाख्रापालनको प्राविधिक ज्ञान हासिल गरे। उद्यमशीलता तालिम पाए। उनलाई अहिलेको सफलता हात पार्ने ‘टर्निङ’ पोइन्ट नै करुणासँगको सम्पर्क भइदियो। ‘करुणासँग जोडिएपछि मैले कृषिमा काम गर्ने आशारशीला पाएँ,’ उनले भने, ‘खेती गर्छु भनेर मात्र नहुनेरहेछ, थोरै लगानी र मेहनतबाट राम्रो आम्दानी लिन त्यहीअनुुसारको ज्ञान र सीप चाहिनेरहेछ ।’
उनले सुरुमा अकबरेका ७ हजार बिरुवा लगाए। त्यसबाट एक वर्षमा ३ लाख रूपैयाँ आम्दानी भयो। दोस्रो वर्ष अकबरेका ११ हजार बिरुवा रोप्दा झन्डै ५ लाख रूपैयाँ आम्दानी भयो। अहिले उनले बारीमा १ सय १५ मन (प्रतिमन ४० किलो) अदुवा लगाएका छन्। त्यसबाट करिब अढाई सय मन उत्पादन भयो। प्रतिमन ५ सयदेखि एक हजार २ सय रूपैयाँसम्मले अदुवा बिक्री भयो।
यसपटक उनको अलैंची खेती ‘जाँगरलाग्दो’ छ। ‘आउँदो वर्ष २० मन हाराहारी उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘गतवर्ष १ देखि ११ मनसम्म भएको थियो, आउँदो वर्षका लागि नयाँ खेतीबाट उत्पादन बढ्छ, मल र पानी पनि पुगेकाले उत्पादन राम्रो होला भन्ने आशा छ।’ यो वर्ष प्रतिमन ३६ हजारदेखि ४० हजार रूपैयाँसम्ममा बिक्री भयो। यो वर्ष उनले १० हजार अकबरे रोपेका छन्। उनी प्रतिगोटा ३ देखि ५ रूपैयाँसम्ममा अकबरेको बिरुवा पनि बेच्छन्। अकबरे खोर्सानी प्रतिकिलो २ सयदेखि ३ सय रूपैयाँसम्ममा बिक्री हुन्छ। यसबाहेक उनको बारीमा बर्सेनि ४० देखि ५० मन कुचो उत्पादन भइरहेको छ। यो वर्ष कुचो प्रतिमन ५ हजार रूपैयाँले बिक्री भयो।
उत्पादन भएको अलैंची, अकबरे, कुचो, अदुवालगायत कृषिजन्य बालीनाली बेच्न पनि खास समस्या छैन। ‘स्थानीय नयाँबजार, फिक्कल हुँदै भारतीय बजारमा पनि बेच्छौं,’ उनले भने, ‘अहिले गाउँतिरै गाडी आउन थालेकाले ढुवानी पनि सजिलो छ।’ उनले १५ रोपनीमा चियासमेत लगाएका छन्। सिजनका बेला सातामा १५ क्विन्टलसम्म हरियोपत्ती उत्पादन हुन्छ। उनी आफ्नो चिया खेती अर्गानिक बनाउँदैछन्।
उनले पशुपालनबाट पनि उत्तिकै राम्रो आम्दानी गरिरहेका छन्। उनको फार्ममा अहिले पुङपुङे जातका ४० खसी–बाख्रा छन्। गोठमा राँगा र गोरु पनि पालेका छन् तर खेतीपातीलाई मल नपुगेर बर्सेनि ८० हजार रूपैयाँसम्मको मल किन्नुपरेको थामीले सुनाए।
सुरुमा बैंकबाटै ऋण काढेर खेतीपाती गर्न थालेका थामीले अरूतिरबाट अनुदान पाएका छैनन्। जे–जति गरे आफ्नै बलबुतामा गरे। करुणा फाउन्डेसनले एक पटक २० हजार र अर्काेपटक ३० हजार रूपैयाँ ऋण दिएको थियो। बाँकी आफ्नै लगानी गरे। त्यसैबाट आम्दानी बढाउँदै उनले बैंकको ऋण तिरे। गतवर्ष पक्की घर बनाए। सबैतिरबाट वार्षिक आम्दानी कति हुन्छ भन्ने उनले स्पष्ट खुलाएनन्। ‘गाउँमा खेताला धेरै लगाउनुपर्छ, आधुनिक प्रविधिको सुविधा पुगिसकेको छैन,’ थामीले भने, ‘उत्पादनमा लगानी अलि बढी नै हुने गरेकाले अनुमान गरेजति आम्दानी लिन सकेको छैन तर म आफ्नो व्यवसायमा सन्तुष्ट छु।’
दाहिने हातको नाडीभन्दा तलको भाग नभए पनि थामी गाडी र मोटरसाइकलसमेत हाँक्छन्। ‘म अर्काे मान्छेपछि राखेरसमेत मोटरसाइकल हाँक्न सक्छु,’ उनले भने, ‘मानिसलाई कतिपय काम गर्न शारीरिक अपांगता निहुँ हुन्छ, मनैदेखि चाहने हो भने अपांगता भएका मानिसले धेरै काम गर्न सक्छन्, गरिरहेका पनि छन्।’
प्रकाशित: १९ असार २०७९ ०३:१३ आइतबार