अर्थ

विमानस्थलभित्रको क्यान्टिन अवैध

होटल सेन्ट्रल प्लाजाले नेपालगन्ज विमानस्थलमा सञ्चालन गरिरहेको क्यान्टिन अवैध रहेको पाइएको छ भने खाद्य पदार्थ पनि गुणस्तरहीन बिक्री गरिरहेको खुलासा भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको अगुवाइमा भएको संयुक्त अनुगमन टोलीले विमानस्थलमा होटेलले क्यान्टिन दर्ता नगरीकनै सञ्चालन गरिरहेको फेला परेको हो।

खाद्य स्वच्छताको अवस्थाका बारेमा शुक्रबार गरिएको अनुगमनका क्रममा विमानस्थलमा सञ्चालित क्यान्टिन दर्ता नगरिएको मात्रै होइन, लेबल विवरण नभएको खाद्य पदार्थ राखिएको, उत्पादन मिति उल्लेख नभएको, गुणस्तरहीन खाद्य पदार्थ राखेर सञ्चालन गरेको पाइएको अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरीक्षक विवेक सुवेदीले जानकारी दिए।

तयारी पेस्ट्री, ब्रेड, चाउमिनमा उत्पादन मिति उल्लेख नभएको पाइएको सुवेदीले बताए। साथै फ्रिजमा साकाहारी र मांसाहारी खाद्य पदार्थ एकै ठाउँमा राखिएको पाइएको छ। सुवेदीका अनुसार अनुगमनपछि क्यान्टिनबाट लेबल नभएको तीन किलो चाउमिन, २५ प्याकेट ब्रेड, पाँच पिस बन, चार पिस पेस्ट्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

यसैगरी सञ्चालनका लागि आवश्यक व्यवसाय दर्ता नगर्दासम्म कारोबार रोक्का गर्ने, आवश्यक दर्ता गरेर मात्र सञ्चालन गर्ने, उत्पादन मिति र लेबल भएका सामान मात्र बिक्रीका लागि राख्ने लिखित निर्देशन होटलका फाइनान्स प्रमुख आशिष गुप्तालाई दिइएको छ। अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपालगन्ज उपमहानगरपालिका र प्रहरीको सहभागिता रहेको थियो।

प्रकाशित: २५ जेष्ठ २०७९ ०४:४१ बुधबार

विमानस्थलभित्रको क्यान्टिन अवैध होटल सेन्ट्रल प्लाजा