अर्थ

स्वरोजगार कोषद्वारा १ करोड व्याज अनुदान वितरण

काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेडका असल व्यवसायीलाई व्याज अनुदान वितरण गर्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी ।

सहुलियत दरमा कर्जा प्रवाह गरेर रोजगारी सिर्जना गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले समयमा कर्जा तिर्ने व्यवसायीलाई करिब एक करोड रूपैयाँ व्याज अनुदान वितरण गरेको छ। कोषबाट कर्जा लगेर निर्धारित समयमा तिर्ने व्यवसायीलाई चालु आर्थिक वर्षको जेठसम्म एक करोड चार लाख रूपैयाँ व्याज अनुदान फिर्ता गरेको हो।

कोषले मुलुभरका करिब २३ सय वित्तीय संस्था मार्फत करिब ११ अर्ब २३ करोड रूपैयाँ लगानी गरेको छ। वित्तीय संस्थामार्फत लगेको कर्जा नियमित रूपमा तिर्ने व्यवसायीलाई व्याजको ६० प्रतिशत फिर्ता गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए।

‘उद्यमशीलता विकास गर्न सस्तो व्याजदरमा कर्जा प्रवाह गर्दै आएका छौं,’ अधिकारीले भने–‘समय तालिका अनुसार कर्जा तिर्ने व्यवसायीलाई व्याजको ६० प्रतिशत अनुदानको रूपमा फिर्ता गर्छौं।’ कोषले एक कार्यक्रमका बीच काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा रहेका काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेड र युवक कृषि सहकारीका सदस्यलाई कोषले ५ लाख ३ हजार रूपैयाँ व्याज अनुदान वितरण गरेको छ।

कोषले मुलुकभर सहकारी तथा वित्तीय संस्थामार्फत कर्जा प्रवाह गर्दै आएको छ। कोषले करिब ८४ हजार आठ सय रोजगारी सिर्जना गरेको छ। कोषले अहिलेसम्म रोटेसनमा करिब नौ अर्ब रूपैयाँ लगानी गरेर ९८ हजार रोजगारी सिर्जना गरेको छ। कोषले लगानी गरेपछि कृषि, घरेलु उद्योग, रिक्सा, अटोरिक्सा, ठेलागाढा व्यवसाय, दूधजन्य व्यवसाय, प्लम्बिङ, इलेक्ट्रिसियन, साना तथा घरेलु व्यवसाय गरेर उद्यमी बनेको कोषको अनुसन्धान तथा कार्यक्रम प्रवर्द्धन शाखाका प्रमुख नारायणदत्त देवकोटाले बताए।

कर्जा लगेर सिकर्मी, डकर्मी, रङरोगन, शिल्पकार, खुद्रा तथा किसाना पसल सञ्चालन गरेका छन्। कोषको सहयोगले स्वदेशमै श्रम, सीप, ज्ञान र सानो पुँजीबाट स्वरोजगार बन्न टेवा पुगेको छ। कोषले वित्तीय संस्थालाई ३.२ प्रतिशत व्याजमा कर्जा दिएर उद्यमशीलता विकास गर्न सघाएको छ। वित्तीय संस्थाले सुरुमा ८ प्रतिशतभन्दा नबढ्ने गरी लगानी गरे पनि कोषले पछि व्याज बापतको ६० प्रतिशत रकम फिर्ता गर्ने गरेको छ।

कोषले व्याजसहित इन्स्योरेन्सको प्रिमियममा पनि अनुदान दिन्छ। स्वरोजगार बन्न चाहनेलाई बिनाधितो ऋण लगानी गर्ने गरेको छ। कोषबाट कर्जा लिएर लगानी गर्दा रोजगारी सिर्जना गर्न सघाउ पुगेको काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा रहेका काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामसुधन भण्डारीले बताए।

समयमा कर्जा तिर्नेलाई व्याजको ६० प्रतिशत अनुदान फिर्ता गरेको भण्डारी बताए।स्वरोजगारमूलक उद्यमका लागि प्रस्तावका आधारमा ऋण लगानी गर्दै आएको छ। कोषले बैंक तथा वित्तीय संस्थालाई अधिकतम पाँच करोड रूपैयाँ र सहकारीलाई कम्तिमा २० लाख र बढीमा एक करोड रूपैयाँ कर्जा दिन्छ।

कोष र वित्तीय संस्था तथा सहकारी संस्थालाई पहिलो किस्तामा ५० प्रतिशत र दोस्रो किस्ता ५० प्रतिशत रकम दिन्छ। सोही रकमलाई आवश्यकता अनुसार बिनाधितो लगानी गर्छन्। यसले एक गाउँ एक उत्पादन र एक परिवार एक रोजगार परियोजना पनि अघि बढाएको छ। व्यक्तिलाई बढीमा दुई लाख रूपैयाँ लगानी गर्ने व्यवस्था छ।

स्वरोजगारमूलक उद्यम गर्न चाहनेले आफूलाई अनुकुल हुने गरी सहकारी तथा बैंकमा प्रस्ताव पेश गरेर स्वीकृत भए पछि रकम पाउँछन्। व्यक्तिगत मात्र नभएर समूहमा पनि लगानी गर्ने गरिएको छ। समूहमा लगानी गर्नका लागि बढीमा १५ जनालाई प्रतिव्यक्ति दुई लाख नबढ्ने गरी ३० लाख रूपैयाँ कर्जा लगानी गर्न सक्ने व्यवस्था छ।

बैंक, वित्तीय संस्था र सहकारी संस्थाले परियोजनाको आधारमा कोषलाई बढीमा पाँच वर्षभित्र कर्जा भुक्तानी गर्नुपर्ने व्यवस्था छ। सहुलियत दरमा कर्जा पाउँदा व्यवसाय गर्न सजिलो भएको तारकेश्वर नगरपालिका वडा नं २ की कमला खड्काले बताइन्। खड्काले स्थानीय काभ्रेस्थली कृषि सहकारी संस्थाबाट एक लाख ५० हजार ऋण लिएर व्यवसाय सुरु गरेकी थिइन्।

कोषले सहकारीलाई लगानी गरेको थियो। ‘बिना धितो ऋण पाएपछि व्यवसाय सुरु गरें’, खड्काले भनिन्–‘अहिले व्यवसाय विस्तार गरेर १२/१३ लाख लगानी पुगेको छ।’ खड्काले एक जनालाई रोजगारी दिएर आफूले पनि राम्रो आम्दानी गरेकी छिन्। ‘स्वरोजगार कोषको सहयोगले ठूलो सहयोग पुग्यो,’ खड्काले भनिन्-‘अहिले तिरेको व्याजको ६० प्रतिशत फिर्ता पाउँदा खुशी लागेको छ।’

युवा स्वरोजगार कर्जा लिएका व्यवसायीहरूको जीवन बिमा तथा स्वरोजगार कर्जाबाट सञ्चालित परियोजनाको एकमुष्ट बिमा गर्ने र प्रिमियम बापतको खर्च कोष मार्फत सरकारले भुक्तानी गर्ने व्यवस्था मिलाएको छ। युवा व्यवसायीलाई साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्दै स्वदेशमा नै स्वरोजगारका अवसर सिर्जना गर्न कार्यक्रम फलदायी बनेको छ।

व्यवसायीले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापनमा पनि कोषले सघाएको छ। उत्पादित वस्तु स्थानीय स्तरमै खपत गर्न उत्पादन तथा बजारीकरणका लागि पनि प्रोत्साहन गर्दै आएको छ। स्थानीय स्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यावसायिक परियोजनाअघि बढाउन सहयोग पुगेको छ।

स्थानीय स्तरमा सुलभ र सुरक्षित व्यावसायिक कर्जा उपलब्ध गराउँदा उद्यमशीलताको विकास मार्फत मुलुकमा रोजगार सिर्जना गर्न टेवा पुग्ने विश्वास गरिएको छ। आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्ग, घाइते तथा शहीद परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन तालिम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने उद्देश्य राखी कोषले लगानी गर्दै आएको छ।

प्रकाशित: २२ जेष्ठ २०७९ ०३:३७ आइतबार

युवा तथा साना व्यवसायी स्वरोजगार कोष