अर्थ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा र विद्यार्थी आन्दोलित

इलामस्थित जिल्ला प्रशासन कार्यालयको प्रांगणमा पेट्रोलियमको मूल्यवृद्धि फिर्ता माग गर्दै धर्नामा बसेका युवा विद्यार्थी। तस्बिरः नागरिक

पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता गर्न माग राख्दै युवा र विद्यार्थी आन्दोलित भएका छन्। युवा र विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा १ घन्टा धर्नासमेत दिएका छन्।  

युवा संघ नेपाल, ओरास्ववियूूलगायतको अगुवाईमा उनीहरूले प्रशासन कार्यालयको प्रांगणमा धर्ना दिएका हुन्। मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। संघका जिल्ला सचिव दिनेश ढकालले सरकारले पेट्रोलियमको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको बताए। ‘पटक–पटक सरकारले पेट्रोलियममा गरेको मूल्यवृद्धिले उपभोक्ता चरम मारमा परेका छन्,’ उनले भने, ‘भारतमा पेट्रोलियमको मूल्य घटेका बेला निर्वाचनमा सबै नागरिक व्यस्त भएको मौका छोपेर हाम्रो देशमा चाहिँ बढाइएको छ।’  

उनले मूल्यवृद्धिविरुद्ध सबै युवा र विद्यार्थी एकजुट हुन थालेको बताए। ‘मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छ,’ ढकालले भने, ‘जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुुझाइने छ, त्यसले पनि नभए चक्काजामलगायत आन्दोलनका कार्यक्रम तय गरिने छ।’  

उनले बजारमा निर्वाचनका बेला हरेक बहाना गरी सबैखाले उपभोग्य वस्तुको मूल्य बढाइएको बताए। ‘पेट्रोलियमलगायत दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु भएको छ,’ उनले भने, ‘सबैखाले मूल्यवृद्धि फिर्ता र कालोबजारी अन्त्य हुनुपर्छ।’

प्रकाशित: १० जेष्ठ २०७९ १२:४६ मंगलबार