दार्चुला, शिखर–४ बलाँचमा निर्माणाधीन ३० मेगावाट आयोजनाको सुरुङ निर्माण, बाँध र विद्युतगृहको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ।
सरकारले आयोजना सम्पन्न गर्ने समय पहिले सन् २०११ त्यसपछि २०१३ र २०१४ तोकेको थियो। पछि यसै वर्षको फागुन (२७ मार्च २०१६) तोकेको छ। त्यो समयमा आयोजना निर्माण सम्पन्न नहुने आयोजनाकै प्राविधिक बताउँछन्।
'९० प्रतिशतभन्दा बढी काम सकिएको छ,' चमेलिया आयोजनाका उपनिर्देशक अजय दाहालले नागरिकसँग भने, 'कुनै अवरोध नआए सन् २०१६ को अन्तिमतिर सकिन्छ।' यसको निर्माण सन् २००७ मा सुरु भएको हो। लक्ष्यभन्दा करिब ३ वर्षपछि सम्पन्न हुन लागेको हो।
आयोजनाको सुरुङ निर्माण क्रममा भत्किएर फेरि बनाउँदा थप खर्च लाग्ने भएकाले काम रोकिएर ढिलो उपनिर्देशक दाहालले बताए। यसमा ८ अर्ब रुपैयाँ लाग्ने सरकारको प्रारम्भिक अनुमन थियो। अहिलेसम्म १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ। निर्माणको काम ९ महिनादेखि अवरुद्ध छ। यो नेपालमा सबैभन्दा बढी लागतको आयोजना बन्दैछ।
यो ६ घन्टासम्म पानी सञ्चय गर्ने क्षमताको आयोजना हो। आयोजनाको ड्याम निर्माण भइसकेको छ। ओभरफ्लो क्षमतासहितको ड्याम छ। यो 'पिकिङ रन अफ द रिभर' प्रकृतिको हो। यसले वार्षिक सरदर १८४.२ गिगावाट घन्टा बिजुली उत्पादन गर्नेछ।
सरकारी क्षेत्रबाट सुदूरपश्चिममा निर्माणाधीनमामध्ये अहिलेसम्मकै ठूलो आयोजना हो। सुरुङ पुनर्निर्माणमा 'भेरिएसन' बढी गरेको भन्दै संसदीय लेखा समितिले ठेकेदार चिनियाँ कम्पनीलाई अनाश्यक बढी रकम भुक्तानी रोक लगाएपछि काम रोकिएको आयोजनाले जनाएको छ।
सुरुङ र पावरहाउसको काम तीव्र गतिमा भइरहेको छ। मुख्य सिभिल निर्माणको काम चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनीले गरिरहेेको छ। काम गरेको पैसा नदिएको भन्दै ९ महिनादेखि गेजुवाले काम रोकेको छ। यसमा कोरिया सरकारको चार करोड ५० लाख डलर (चार अर्ब ५० करोड रुपैयाँ) लगानी रहेको उपनिर्देशक दाहालले बताए। 'अहिलेसम्म १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ,' उनले भने, 'थप निर्माणमा २ अर्ब लाग्नेछ।' यो नेपाली परामर्शदाताले काम गरेको पहिलो आयोजना हो।
यसको बाँध ५४ मिटर अग्लो छ। नेपालका जलविद्युत आयोजनामध्ये यो सबैभन्दा ठूलो हो। आयोजनामा ५ सयभन्दा बढी कामदारले काम गरिरहेका छन्। स्थानीयबासी भने आयोजनाको लापरबाहीका कारण निर्माण ढिलो भएको बताउँछन्। स्थानीय लक्ष्मीदत्त पाण्डेयले भने, 'अनिनियतता गर्न विभिन्न कामको भेरिएसन गर्छन्।'
आयोजनाको बिजुली केन्द्रीय प्रसारणमा जोड्ने १ सय ३१ किलोमिटर लामो १३२ केभीको प्रसारण लाइनको काम ९० प्रतिशत सकिएको छ।
सरकारले जति ढिलो रकम दियो त्यत्ति नै धेरै लागत बढ्ने उपनिर्देशक दाहाल बताउँन्। पहिलोपटक स्वदशी इन्जिनियर सहभागी साह सिल्ट आइकन जेभी परामर्शदाताले यसमा काम गरेको छ। अहिलेकै लागत अनुसार पनि प्रतिमेगावाट ४० करोड रुपैयाँभन्दा बढी पर्ने देखिन्छ। अन्य आयोजनामा प्रतिमेगावाट लागत सरदर १५ करोड रुपैयाँ हुन्छ।
सुरुङ निर्माणमा अझै समस्या
आयोजनाको सुरुङमा अझै समस्या आउने प्राविधिक बताउँछन्। पहिले निर्माण गरेर भास्सिएको सुरुङ फेरि बनाउन थालिएको छ। करिब ८ सय ४३ मिटर सुरुङमध्ये ६ सय ११ मिटर निर्माण भएको छ। बाँकी २ सय ३२ मिटर बनाउन बाँकी छ। पूरै निर्माण गर्न १ अर्बभन्दा बढी थप रकम लाग्ने आयोजनाले भेरिएसन गरेपछि संसदको लेखा समितिले छानबिन गरेको थियो। त्यही छानबिनको विरोधमा चिनियाँ ठेकेदार कम्पनीले ९ महिनादेखि काम रोकेको छ।
प्रकाशित: १२ श्रावण २०७२ २१:०२ मंगलबार