अर्थ

उपत्यकामा सन् २०५० सम्ममा ३१ सय मेगावाट बिजुली आवश्यक

नेपाल विद्युत् प्राधिकरणले सन् २०५० सम्म काठमाडौं उपत्यकामा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। प्राधिकरणले काठमाडौं उपत्यकामा बढ्दो बिजुलीको माग धान्ने गरी नयाँ संरचना निर्माणको गुरुयोजना र आवश्यक स्रोत जुटाउन पहल गर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०५० भित्र काठमाडौं उपत्यकामा मात्रै बिजुलीको माग ३१ सय मेगावाट हुने भएकाले अहिलेदेखि नै सो बिजुलीको मागलाई सम्बोधन हुने गरी पूर्वाधार तयार गर्नुपर्ने बताएका छन्।

‘काठमाडौं उपत्यकामा बिजुलीको माग वर्षेनी बढ्दै गइरहेको छ’, उनले भने– ‘बिजुलीको लोड अनुसारको पूर्वाधार नबनाएको खण्डमा ठूलो समस्या आउन सक्छ। त्यसैले भविष्यलाई आवश्यक पर्ने संरचना निर्माणको थालनी अहिले गर्नु जरुरी छ।’

प्राधिकरणका अनुसार प्रस्तावित प्रसारण लाइन निर्माणका लागि करिव ४० देखि ५० अर्ब रूपैयाँ लाग्ने अनुमान गरेको छ। प्राधिकरणले निजगढबाट ४० किलोमिटर ४०० सय केभीको प्रसारण लाइन निर्माण गरेर ललितपुरको ढुकुछापमा ल्याउने योजना बनाएको छ।

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाभित्र १३२ केभी र २२० केभीको भूमिगत प्रसारण लाइन निर्माणको काम गर्दै आइरहेको छ। यसको अलावा नदी करिडोर र उपत्यका वरपरका डाँडाहरूमा प्रसारण लाइनको रिङरोड बनाउने योजनामा प्राधिकरण जुटेको छ।

प्राधिकरणले विश्व बैंक तथा एसियाली विकास बैंकसँग सहकार्य गरेर ठूला प्रसारण लाइनको लागि आवश्यक काम अघि बढाउने जनाएको छ। अहिले काठमाडौं उपत्यकामा मुस्किलले ५ सय मेगावाट बिजुलीको माग धान्ने संरचना मात्रै रहेको छ।

गत हिउँदमा अत्यधिक बिजुलीको माग हुँदा उपत्यकामा बिजुली झ्याप्प झ्याप्प जाने समस्या देखिएको थियो। उपत्यकामा बिजुलीको नियमित आपूर्ति तथा गुणस्तरीय सेवा प्रवाह गर्नकै लागि पनि पूर्वाधार निर्माण गर्नैपर्ने भएको कार्यकारी निर्देशक घिसिङ बताउँछन्।

६ महिनामा २९ अर्ब कमाउन सकिने

कार्यकारी निर्देशक घिसिङले भारतीय बजारमा देखिएको ऊर्जा संकट अहिलेकै अवस्थामा रहेको खण्डमा नेपालले भारतलाई ६ महिनाको अवधिमा २९ अर्बभन्दा धेरै रकम बराबरको बिजुली निर्यात गर्नुपर्ने हुन्छ।

‘वर्षा याम सुरु भएसँगै नेपालले भारतलाई दैनिक १९ करोड १६ लाख युनिटभन्दा धेरै बिजुली बेच्न सक्छ’, उनले भने–‘नेपालले प्रति युनिट भारु १२ रूपैयाँको दरले ६ महिनासम्म भारतलाई बिजुली बेच्न पाएको खण्डमा करिब २९ अर्ब रूपैयाँ बराबरको बिजुली निर्यात गर्न सक्छ।’

प्राधिकरणका एक कर्मचारीले भने नेपालले वर्षायाममा ९ अर्ब रूपैयाँ बराबरको बिजुली मात्र निर्यात गर्न सक्ने दाबी गरेका छन्। प्राधिकरणले भारतीय इनर्जी एक्सचेञ्ज बजारबाट पर्याप्त मात्रामा बिजुली आयात गर्न नसकेपछि निश्चित समय तोकेर औद्योगिक क्षेत्रमा गत बुधबारदेखि बिजुली कटौती गर्दै आइरहेको छ।

‘भारतीय इनर्जी एक्सचेञ्ज बजारबाट पनि प्राधिकरणले बिजुली आयात गर्न नसकेपछि केही समय औद्योगिक क्षेत्रको लोड कटौती गर्न लागिएको हो’ कार्यकारी निर्देशक घिसिङले भने–‘भारतबाट आयात गर्न सकेको खण्डमा उपलब्ध गराउनेछौं। आयात गर्न नसकेको खण्डमा केही समय औद्योगिक क्षेत्रमा बिजुली कटौती गरिनेछ।’

प्राधिकरणले गार्हस्थ्य ग्राहक (सर्वसाधारण) जनताको घरमा आउने बिजुली भने कटौती नगर्ने स्पष्ट पारेको छ। कार्यकारी निर्देशक घिसिङले औद्योगिक क्षेत्रको बिजुली कटौती १५ दिनभन्दा धेरै समय नहुने दाबी गरे। ‘औद्योगिक क्षेत्रको बिजुली कटौती धेरै समयको लागि होइन’, उनले भने–यो निकै थोरै समयको लागि हो। अबको केही समयभित्रै नेपालका हिमालहरूबाट हिउँ पग्लिएर नदीनालाको बहाव बढ्नेबित्तिकै औद्योगिक क्षेत्रको बिजुली कटौती हटाइनेछ।’

प्राधिकरणले अहिले पिक आवरमा तीन/चार सय मेगावाट बिजुली आयात गरेर स्वदेशी माग धान्दै आइरहेको थियो। अहिले प्राधिकरणले मुस्किलले ७० देखि १ सय मेगावाट बिजुली मात्रै आयात गर्न पाएको छ। नेपालले अहिले भारतबाट प्रतियुनिट भारु १२ रूपैयाँमा बिजुली आयात गर्दै आइरहेको छ। प्राधिकरणले भारतीय इनर्जी बजारमा बोलकबोल गरेको बिजुली पाउने नपाउने निधो बेलुकाको पाँच बजे मात्रै हुने गर्छ।

प्राधिकरणले उद्योगी व्यवसायीलाई बेलुका ६ बजे आगामी १८ घण्टामा बिजुलीको उपलब्धता हुने/नहुने विषयमा जानकारी गराउने भएको छ। ‘औद्योगिक क्षेत्रमा दैनिक यति नै घण्टा बिजुली कटौती गर्ने भन्ने विषय निर्क्योल भएको छैन’, उनले भने–‘बिजुलीको उपलब्धताको आधारमा कटौती हुने समय तलमाथि हुन सक्नेछ।’

अहिलेको बिजुलीको माग धान्न प्राधिकरणलाई २४ सै घण्टा तीन सय मेगावाट थप बिजुली आवश्यक छ। माग अनुसार बिजुली उपलब्ध नभएकाले अहिले उद्योगमा आवश्यकतानुसारको बिजुली उपलब्ध गराउन नसकिएको हो। प्राधिकरणका अनुसार गत वर्षको तुलनामा अहिले पिक आवरमा तीन सयदेखि ४ सय मेगावाटसम्म बिजुलीको माग बढेको छ।

अहिले इनर्जी डिमाण्ड पनि २५ देखि ३० प्रतिशतसम्म वृद्धि भएको छ। प्राधिकरणका अनुसार गत वर्ष यही सिजनमा दैनिक २ करोड ७० लाख युनिट बिजुली माग हुने गथ्र्याे तर अहिले बिजुलीको माग ह्वातै बढेको छ। नेपालका जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमता २२ सय मेगावाट भए पनि अहिले दिनको समयमा ९ सय मेगावाट बिजुली मात्रै उत्पादन हुने गर्छ तर बिहान र साँझको पिक आवरमा भने १४ सय मेगावाट बिजुली उत्पादन हुँदै आइरहेको छ।

पिकआवरमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले ४५६ मेगावाट विद्युत् उत्पादन गरे पनि स्वदेशी माग थेग्न सकेको छैन। ‘इनर्जी डिमाण्डको हिसाबले हामीलाई २५–३० प्रतिशत बिजुली पुगेन’, उनले भने–‘प्राधिकरणले भारतबाट बिजुली आयात गरेर औद्योगिक क्षेत्रलाई बिजुली उपलब्ध गराउँदै आइरहेको थियो तर अहिले भारतबाट चाहेजति बिजुली ल्याउन नसक्दा औद्योगिक क्षेत्रको बिजुली कटौती गर्नुपरेको हो।’ 

प्रकाशित: १८ वैशाख २०७९ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App