अर्थ

भोजपुर र खोटाङमा सात महिनापछि हवाई उडान

भोजपुर–बन्द भएको झण्डै सात महिनापछि पूर्वि नेपालको पहाडी जिल्ला भोजपुर र खोटाङका विमानस्थल सञ्चालनमा आएका छन्। मंगलबार यी विमानस्थलमा परीक्षण हवाई उडानसँगै सञ्चालनमा आएका हुन्।

यी दुवै विमानस्थलमा मंगलबार तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो। काठमाडौबाट खोटाङको खानीडाँडास्थित मनमाया राई विमानस्थल र भोजपुरको विमानस्थलमा एउटै जहाजले परीक्षण उडान गरेको हो। विमानस्थलको स्तरोन्नती हुन थालेपछि गत मंसिर ९ गतेबाट भोजपुरमा हवाई उडान बन्द भएको थियो। भोजपुर विमानस्थलको कालोपत्रेको काम बर्खामा नहुने भएपछि उडान सुरु भएको हो।

jahaj

विमानस्थल सुधारको कालोपत्रे बाहेक अन्य काम सकिएको निर्माण आयोजनाले जनाएको छ। कालोपत्रे बाहेक विमानस्थलको सबै काम सकिएकोले परीक्षण उडान गरिएको नागरिक उडड्यन प्राधिकरण भोजपुरका प्रमुख शोमेस थापाले बताए। परीक्षण उडानसँगै दुबै विमानस्थलमा नियमित उडान सुरु हुने प्राधिकरणले जनाएको छ। भोजपुर विमानस्थलको स्तरोन्नती कालिका र प्यासिफिक संयुक्त निर्माण कम्पनीले पाँच करोड रुपैयाँमा ठेक्काको जिम्मा लिएका हुन्।

खानीडाँडा विमानस्थलको कालोपत्रेको काम भने सम्पन्न भएको छ। तर विमानस्थलको एप्रोन, ढल, टेवापर्खाल, ट्रनिङप्याड र कटिङफिलिङको काम बाँकी नै छ। खानीडाँडाँ विमानस्थल बुइल्डर्स र च्याङ्मिला संयुक्त निर्माण कम्पनीले सात करोड २४ हजार तीन सय ८० रुपैयाँमा स्तरोन्नतीको जिम्मा लिएका थिए। यी दुबै विमानस्थल गत जेठ १५ भित्र सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिए पनि समयमा दुबै कम्पनीले काम सकेनन्।

भोजपुर विमानस्थलको पाँच सय ४५ मिटर लम्बाई र २० मिटर चौडाई स्तरोन्नती भएको छ। यस अघि विमानस्थलको लम्बाई पाँच सय ३४ मिटर र चौडाई ३० मिटर थियो। ११ मिटर लम्बाई बढाएर विमानस्थलको धावनमार्ग स्तरोन्नती भएको हो। यस अघि खानीडाँडा विमानस्थल पाँच सय ५० मिटर कच्ची धावनमार्गमा उडान हुँदै आएको थियो भने यतिबेला ४० मिटर थपेर कालोपत्रे गरिएको हो।

चिप्स, अलकत्र लगायतका आवश्यक सामाग्री ढुवानी हुन नसक्दा हिउँदयाममा मात्रै भोजपुर विमानस्थलको कालोपत्रेको काम हुने साइड इन्जिनियर दिनबन्धु काफ्लेले बताए। बर्खाले सडक विग्रदा सामान ढुवानी गर्न समस्या भएको निर्माण कम्पनीले जनाएको छ। ०७० चैत्र अन्तिममा १५ महिना भित्र काम सक्ने गरी ठेक्काको जिम्मा लिए पनि झण्डै नौ महिनापछि काम शुरु भएकोे थियो। ठेक्का सम्झौता भएपछि डिजाइन परिवर्तन भएकोले काम ढिलो शुरु भएको निर्माण कम्पनीले जनाएको छ।

भोजपुरमा २०३१ सालबाट हवाई उडान शुरु भएको हो। यहाँ नेपाल बायुसेवा र तारा एयरको जहाजले उडान गर्दे आएका छन्। यस अघि नेपाल बायुसेवा निगमको जहाजले काठमाडौ–भोजपुर हप्तामा तीन र विराटनगर–भोजपुर दुई उडान र तारा एयरले हप्तामा एक दिन काठमाडौं–भोजपुर उडान गर्दे आएको थियो। नेपाल बायुसेवा निगमले काठमाडौ भोजपुर हप्तामा चार उडान गर्ने जनाएको छ। उस्ले आइतबार, मंगलबार, शुक्रबार र शनिबार नियमित उडान गर्ने जनाएको हो।

प्रकाशित: १५ असार २०७२ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App