अर्थ

तेल भर्न घण्टौं लाइन: गैरजिम्मेवार व्यवसायी

पेट्रोलियम व्यवसायीको गैरजिम्मेवारीपनका कारण उपभोक्ताले दुःख पाएका छन्। विभिन्न ६ बुँदे माग राखेर व्यवसायी आन्दोलित भएपछि बजारमा डिजेल, पेट्रोल अभाव भएको हो। 

पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक सेवामा पनि अवरोध सिर्जना गरेको भन्दै व्यवसायीको आलोचना भएको छ। व्यवसायीले शुक्रबारबाट इन्धनको ढुवानी रोकेपछि त्यसको असर बजारमा परेको हो। पेट्रोल, डिजेल भर्न शुक्रबार र शनिबार उपभोक्ता घण्टौं लाइनमा बसे। 

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नियमित इन्धन आपूर्ति भए पनि व्यवसायीले ढुवानी नगर्दा आन्तरिक बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हो। उच्च मूल्यवृद्धिका कारण मारमा पर्दै आएका उपभोक्ता मागका आधारमा सवारीसाधनमा तेल भर्न नपाउँदा आक्रोशित भएका छन्।

शनिबार कतिपय पम्प बन्द थिए। खोलिएका पम्पमा पनि उपभोक्ताको लामो लाइन थियो। काठमाडौं पानीपोखरीको त्रिलोचन इन्टरप्राइजेज प्रालिको पम्पमा लाइन बसेका प्रमोद गजुरेलले डेढ घन्टा लाइनमा बसेपछि मात्र तेल हाल्ने पालो पाएको बताए।

महँगो तेल किन्न पनि घण्टौं लाइन बस्नुपरेकोमा गजुरेल आक्रोशित देखिन्थे। ‘एक लिटर पेट्रोलकै १ सय ५५ रुपैयाँ तिर्नुपर्छ,’ गजुरेलले भने, ‘त्यही तेल किन्न पनि घन्टौं लाइन बस्नुपर्ने?’ उपत्यकामा मात्र नभएर मुलुकभरका प्रायः सबै डिपोबाट इन्धन नउठाइएपछि राजधानीमा मात्र नभएर मुलुकभरका पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको हो।

कतिपय उपभोक्ताले त लाइन बसेर पनि तेल नपाएको गुनासो गरे। पम्पहरूले निगमबाट ल्याएको तेल सकिएपछि लाइनमा बसेका उपभोक्तालाई रित्तै फर्काएका थिए। करिब दुई घन्टा लाइन बसेर तेल नहालीकन फर्किनुपरेको भन्दै अर्का उपभोक्ता कुमार थापाले गुनासो गरे।

‘दुई घन्टा लाइन बसेपछि बल्ल पालो आएको थियो,’ थापाले भने, ‘भर्ने बेला तेल सकियो भन्दै पम्प नै बन्द गरे।’ उपत्यकामा दैनिक करिब ६ सय केएल पेट्रोल र आठ सय केएल डिजेल बिक्री हुने गरेको छ। व्यवसायी आन्दोलित भएपछि नेपाल आयल निगमको वाग्मती प्रादेशिक कार्यालयले बिदाको दिन भए पनि शुक्रबार र शनिबार डिपो खोलेको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, साझा सहकारीले सञ्चालन गरेका पेट्रोल पम्पले डिपोबाट तेल लोड गरेपछि निजी क्षेत्रले सञ्चालन गरेका पम्पले तेल उठाएनन्। शनिबार चारवटा पम्पले मात्र तेल लगेको नेपाल आयल निगम वाग्मती प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख शैलेन्द्र भुसालले बताए।

‘बिदाको दिन भए पनि डिपो खोलेर लोड दिएका थियौं,’ भुसालले भने, ‘नियमितभन्दा निकै कम लोड भयो।’ शनिबार १ सय ८० केएल पेट्रोल र ८७ केएल डिजेल मात्र लोड भएको भुसालले बताए। शुक्रबार र शनिबार उपत्यकामा बिदा भएकाले बैंकमा नगद जम्मा गर्न नपाएकाले पनि कठिनाइ भएको उनको भनाइ थियो। आइतबार १२ सय केएल पेट्रोल बिक्री गर्ने तयारी गरेको भुसालले बताए।

त्यसैगरी उनीहरूले एलपी ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडाको हकमा डिजेलको मूल्य अत्यधिक वृद्धि भए पनि हालसम्म भाडा समायोजन नभएको भन्दै तुरुन्त भाडा समायोजन गर्नुपर्ने र आगामी दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा बढ्ने र घट्दा घट्ने गरी स्वचालित ढुवानी भाडा कायम गर्ने व्यवस्था गनुपर्ने माग अघि सारेका थिए।

यी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ गतेसम्म आवश्यक कार्य गर्ने गरी दुई पक्षले सहमति गरेका छन्।

आन्दोलन स्थगित

इन्धन कारोबारी व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। व्यवसायीले आन्दोलन स्थगित गरेसँगै इन्धनको बिक्रीवितरण आइतबारदेखि नियमित हुने भएको छ। 

नेपाल आयल निगमका अधिकारी र व्यवसायीबीच शनिबार भएको वार्तामा चार बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्याल र निगमका प्रवक्ता विनीतमणि उपाध्यायले सहमतिमा हस्ताक्षर गरेका छन्।

पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन फागुन १९ बाट स्थगित गरिएकोमा सोही मितिबाट लागु हुनेगरी साबिकको व्यवस्थाअनुसार  गरिनुपर्ने र मंसिर १८ गतेबाट स्थगित पेट्रोलियम बिक्रेताले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सानी सम्बन्धमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशक संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन लागु गर्ने माग राखेका थिए।

डिपोले व्यवसायीलाई लोड दिए पनि व्यवसायीको आन्दोलनका कारण लोड नभएको हो। माग पूरा नभएसम्म उपत्यकासहित देशभरका डिपोबाट व्यवसायीले तेल नउठाउने बताएका थिए। पम्पहरूले बिहीबार खरिद गरिएको डिजेल र पेट्रोल शुक्रबार र शनिबार बिक्री गरेका हुन्।

पम्पमा स्टक रहेको तेल पनि सकिएको छ। तेल अभाव हुने हल्ला भएपछि उपभोक्ता पनि सवारीसाधनमा तेल फुल पार्न लागिपर्दा लामो लाइन लागेको हो। एकातर्फ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि हुँदा त्यसको असरले यहाँको उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् भने अर्कातर्फ अहिले उपभोक्ताले त्यही महँगो तेल पनि पाएका छैनन्।

निगमले पेट्रोलियम व्यवसायीले पाउँदै आएको बिक्री कमिसनमा क्याप लगाउने निर्णय गरे पनि व्यवसायी आन्दोलित भएका थिए। पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक सेवामा पनि व्यवसायीले आन्दोलन गरेको भन्दै आलोचना भएको छ। 

प्रकाशित: २० चैत्र २०७८ ०१:२७ आइतबार

पेट्रोलियम व्यवसायी गैरजिम्मेवार व्यवसायी