अर्थ

हाइड्रो एक्स्पोमा जलविद्युत् सम्बन्धी नीतिगत छलफल हुँदै

संघीय राजधानी काठमाडौंमा जलविद्युत् क्षेत्रको प्रवर्द्धनका लागि शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पो हुँदै छ। हाइड्रो एक्स्पोमा जलविद्युत्को क्षेत्रीय बजार खोज्नेदेखि नीतिगत विषयमा पर्याप्त मात्रामा छलफल हुने भएको छ।

हाइड्रो एक्स्पोमा जलविद्युत्सँग सम्बन्धित उपकरण मात्र होइन, हाइड्रोपावरसँग सम्बन्धित विभिन्न छलफल तथा अन्तरक्रियात्मक सेसनहरू पनि समावेश गरिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोमा जलविद्युत्सँग सम्बन्धित उपकरण तथा सामग्रीको प्रदर्शन मात्रै नभएर विभिन्न नीतिगत विषयमा समेत अन्तरक्रियात्मक सेसनहरू सञ्चालन गरिने बताएका छन्।

एक्स्पोको उद्घाटन भएसँगै शनिबार दिउँसो २ बजे ‘ग्रिन हाइड्रोजन इनर्जी’ विषयक सेसन राखिएको छ। सो सेसनमा डिपार्टमेन्ट फर इन्टरनेसनल ट्रेड बिट्रिस कमिसन इन्डियाका सिनियर इनर्जी एडभाइजर मिलिन्ड गडबेले ग्रिन हाइड्रोजन इनर्जीको विषयका मुख्य वक्ता रहनेछन्।

शनिबारकै दोस्रो सत्रमा ‘टेक्नोलोजिकल इनोभेसन इन हाइड्रोपावर’ विषयक छलफल कार्यक्रम राखिएको छ। यो सत्रमा रविशेख दीक्षित, डा. सेविटियन पल्ट, मनोज भट्टराईलगायत वक्ता रहेका छन्। यो सेसनको वक्ताको रूपमा इप्पानका कोषाध्यक्ष आनन्द चौधरी रहेका छन्।

यसैगरी शनिबारको तेस्रो सेसन ‘क्षेत्रीय विद्युत् बजारको सम्भावना र चुनौती’ विषयक सत्र राखिएको छ। यो सत्रका वक्ताको रूपमा भारतका इनर्जी सेक्युरिटीका निर्देशक भूपेन्द्रकुमार सिंह, नेपाल पावर ट्रेड कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक प्रबल अधिकारी, बुटबल पावर कम्पनीका सिइओ उत्तरकुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का भीष्म पण्डित, मणिकरण पावर लिमिटेडका एसिस्टेन्ट जनरल म्यानेजर अन्सुल रस्तोगी र इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडका सिनियर म्यानेजर चन्द्रन सिन्हा रहेका छन्। यो सेसनका सहजकर्ता इप्पानका कार्यसमिति सदस्य उत्तम ब्लोन लामा रहेका छन्।

आइतबारको पहिलो सेसनमा ‘क्लाइमेट चेन्ज एन्ड इएसजी एन्ड एस्पेक्ट इन हाइड्रोपावर सेक्टर’ विषय राखिएको छ। जसमा वक्ताको रूपमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्ले, एनटिएनसिका सिनियर संरक्षण अधिकृत डा. मनीषराज पाण्डे, सानिमा हाइड्रोका प्रमुख कार्यकारी अधिकृत एवं इप्पान पूर्वअध्यक्ष डा. सुवर्णदास श्रेष्ठ, डोल्पा इम्प्याक्ट फन्डका प्रबन्ध निर्देशक विद्यावारिधि सिग्देल, एनएमबी बैंकका शरद तुलाधर, आइसिएफसीका विपिन शर्मा, आइएफसीका ज्याकुम मुरध, इप्पानका अविज्ञा मल्ल र कविता पोखरेल रहेका छन्। यो सेसनको सहजकर्ताको रूपमा इप्पानका सचिव बलराम खतिवडा रहेका छन्।

आइतबारको दोस्रो सेसनमा ‘इलेक्ट्रिक भेहिकल एन्ड इलेक्ट्रिक कुकिङ करेन्ट स्टाटस एन्ड फ्युचर प्रोस्पेक्टस’ विषयमा छलफल गर्न लागिएको छ। सो सेसनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी, नेपाल विद्युत् प्राधिकरणका सागरमणि ज्ञवाली, ऊर्जा नेपालका सिद्धार्थ मणि र अजय के श्रेष्ठ, एनएमबी बैंकका श्रीजेस घिमिरे, ग्रेटवाल मोटर्सका उपाध्यक्ष रूपेश शर्मा रहेका छन्। यो सेसनको सहजकर्ताको रूपमा इप्पानकै कविता पोखरेल र अविज्ञा मल्ल छन्।

आइतबारको अन्तिम सेसनको रूपमा ‘रिसोर्स म्यानेजमेन्ट इन हाइड्रोपावर’ विषयक छलफलमूलक कार्यक्रम राखिएको छ। यो सेसनमा वक्ताको रूपमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सेवनका कार्यकारी निर्देशक निरज गिरी, नविल बैंकका डेपुटी सिइओ मनोजकुमार ज्ञवाली, नेपाल सिपिङ एन्ड एयर लजिस्टका प्रबन्ध निर्देशक डा. जगत खड्का, डा. पवन ढकाल, मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेकबहादुर थापालगायत रहेका छन्। यो सेसनको सहजकर्ताको रूपमा इप्पानका सचिव भरतबहादुर खत्री रहनेछन्।

एक्स्पोको तेस्रो दिन अर्थात् सोमबार ‘नेपालमा जलविद्युत्को उत्पादन र खपत’ विषयक छलफल कार्यक्रम राखिएको छ। जसमा वक्ताको रूपमा विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप थिके, पुल्चोक इन्जिनियरिङ संस्थानका प्राध्यापक अमृतमान नकर्मी, हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक डा.नारायणप्रसाद अधिकारी र ऊर्जा नेपालका कन्सल्ट्यान्ट अजयकुमार श्रेष्ठ रहेका छन्। यो कार्यक्रमको सहजकर्ताको रूपमा इप्पानका उपाध्यक्ष गणेश कार्की रहेका छन्।

त्यसैगरी नेपालको ऊर्जा क्षेत्रको नीतिगत सुधारको विषयगत छलफल कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, संविधानसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदी, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवाल, इप्पानका सल्लाहकार कुमार पाण्डे, प्राध्यापक डा. गान्धी पण्डित रहेका छन्। यो सेसनको सहजकर्ताको भूमिकामा इप्पानका कार्यसमिति सदस्य प्रकाशचन्द दुलाल छन्।

एक सयभन्दा बढी स्टल

इप्पानका अध्यक्ष आचार्यका अनुसार एक्स्पोमा एउटै छानामुनि जलविद्युत् आयोजनासँग सम्बन्धित एक सय भन्दा बढी स्टल राखिनेछन्। जलविद्युत् प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टलहरू एक्स्पोमा राखिनेछन्। एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रोपावरको लाइभ डेमोन्स्ट्रेसन गरिनेछ। एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिसन पनि मुख्य आकर्षणका रूपमा रहनेछ। हाइड्रो पावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्सन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिस्पर्धा एक्स्पोमा समावेश गरिनेछ।

इप्पानका उपाध्यक्ष मोहन डाँगीले एक्स्पोका सबैजसो स्टल बुकिङ भइसकेको जानकारी दिए। उनका अनुसार एक्स्पोको उद्घाटन शनिबार दिउँसो १२ः१५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ। एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकोप्टरमार्फत हाइड्रोपावर आयोजनाको भ्रमण गराउने व्यवस्था पनि मिलाइएको बताए।

इप्पान नेपालका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईं हाइड्रोपावरसँग सरोकार राख्ने, व्यवसाय गर्ने, उत्पादन, बजारीकरण र अध्ययन/अनुसन्धान गर्नेलाई एउटै छानामुनि ल्याएर जानकारी दिनका लागि हाइड्रोपावर एक्स्पो आयोजना गर्न लागिएको बताउँछन्। ‘यसले हाइड्रोपावर क्षेत्रमा भएका नवीनतम आविष्कार र सफलताको विषयमा धेरैलाई जानकार गराउँछ,’ उनले भने, ‘छलफल, प्रदर्शन र ज्ञानको आदानप्रदान गर्ने सामूहिक मञ्चको रूपमा अगाडि बढाउँदै आइरहेका छौं।’

‘एक्स्पो गर्नुअघि नेपालका जलविद्युत् प्रवद्र्धक कम्पनीले सीमित कम्पनीबाट मात्रै जलविद्युत्का उपकरण खरिद गर्दै आइरहेका थियौं। एक्स्पो गरेसँगै यहाँका व्यवसायीले प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय उपकरण खरिद गरेर आफ्नो आयोजनाको समय बचत गर्नेदेखि नयाँ प्रविधि भित्र्याउन समेत सफल भएका छौं,’ अध्यक्ष आचार्यले भने, ‘जलविद्युत् क्षेत्रमा भएका नवीनतम अविष्कारलाई समेत भित्र्याउन कोशेढुंगा सावित भएको छ।’ इप्पानका पूर्व उपाध्यक्ष कुमार पाण्डे हाइड्रोपावर भनेको एकदमै प्रविधियुक्त उद्योग भएकाले लागत घटाउन र दक्षता बढाउनकै लागि पनि प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउँछन्।

प्रकाशित: १९ चैत्र २०७८ ०२:०१ शनिबार

इप्पान नेपाल हाइड्रो एक्स्पो नीतिगत छलफल