अर्थ

जनप्रतिनिधिले गुहारे जिसस र प्रशासन, असन्तुष्ट युवा दूतावाससम्म

फाकफोकथुममा कोरिया लैजाने कामदार छनोट विवाद

फाकफोकथुम गाउँपालिकामा गत सोमबार युवाले गरेको तोडफोड।

फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद प्रहरी, जिल्ला प्रशासन, जिल्ला समन्वय समितिदेखि काठमाडौंस्थित कोरियाली दूतावाससम्म पुगेको छ।  

असन्तुष्ट युवाले शुक्रबार सदरमुकाम आएर दूतावासमा लिखित उजुरी पठाएका छन्। उनीहरूले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा समेत लिखित उजुरी दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा समेत उजुरी दिने तयारी भएको असन्तुष्ट युवाले बताएका छन्। यसअघि उपाध्यक्ष सरस्वती राई (सरु)सहितका जनप्रतिनिधिकै टोलीले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा आएर आफ्नै अध्यक्ष ‘झिकाइदिन’ आग्रह गरेका थिए।  

गाउँपालिकामा देखिएको विवादमा जनप्रतिनिधिबीच नै तिक्तता बढेपछि युवाले समस्या समाधानका लागि प्रशासन गुहारेका हुन्। असन्तुष्टमध्येका युवक दीपक योङहाङले जनप्रतिनिधि र केही बिचौलियाले भागबन्डामै कामदार छानेर समस्या खडा गरेको आरोप लगाए। ‘अहिले जनप्रतिनिधिहरूबीच पनि एकले अर्कालाई जिम्मेवार देखाएर कर्तुत लुकाउने प्रयास भइरहेको छ,’ योङहाङले भने, ‘अब गाउँपालिकाले यसको समाधान गर्ने सम्भावना नदेखेर निष्पक्ष छानविनका लागि प्रशासन र अन्य निकाय गुहार्न बाध्य भएका हौं।’

गत ८ गते उपाध्यक्षसहित सदरमुकाम आएका जनप्रतिनिधिले पालिकामा विवाद उत्पन्न भएका बेला अध्यक्ष रामकुमार श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै उनलाई झिकाउन जिसस प्रमुख गणेशप्रसाद बराललाई आग्रह गरेका थिए। उनीहरूले जिससमा लिखित निवेदन दिएपनि जिल्ला प्रशासनमा भने मौखिक उजुरी गरेका थिए। उनीहरूको उजुरीपछि जिसस प्रमुख बरालले अध्यक्ष श्रेष्ठलाई फोन गर्दा उनले फोन उठाएनन्। तर, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानासँग अध्यक्ष श्रेष्ठको संवाद भएको थियो। त्यतिबेला श्रेष्ठले आफू प्रदेशस्थित ‘मन्त्रालयतिर’ रहेको जबाफ दिएका थिए।  

प्रशासनबाट पनि ‘पार’ नलागेपछि उपाध्यक्षसहित वडाध्यक्षहरू, कार्यपालिका सदस्यको टोली झापा बिर्तामोडस्थित अध्यक्ष श्रेष्ठको घर नै पुगेका थिए। तर, श्रेष्ठ घरमा भेटिएनन्। फोन गर्दा पनि उठाएनन्। ‘त्यो रात हामी अध्यक्षलाई कुरेर बिर्तामोडकै होटलमा बास बस्यौं,’ उपाध्यक्ष राईले भनिन्, ‘हामीले पटक–पटक फोन गर्दा पनि अध्यक्षज्यूले उठाउनुभएन, भोलिपल्टसम्म पनि उहाँलाई नभेटेपछि इलाम फर्कियौं।’  

त्यसबीचमा अध्यक्ष श्रेष्ठले एकपटक आफूलाई र अर्का एक वडाध्यक्षलाई फोन गरेपनि गाउँपालिकामा आउनेबारे केही पनि नबताएको, आफू प्रदेश मन्त्रालयमा व्यस्त रहेको भनेपनि केमा व्यस्त भन्ने आफूलाई समेत नभनेको र पालिकामा देखिएको विवादबारे केही पनि स्पष्टसँग नभनेको उपाध्यक्ष राईले बताइन्। ‘पालिकामा विवाद आएपछि हामीले पटक–पटक उहाँ (अध्यक्ष)लाई फोन गर्दा उठेन, खबर पठाउँदा भएन, बोलाउँदा पनि आउनुभएन,’ उपाध्यक्ष राईले भनिन्, ‘अहिले पनि अवस्था उस्तै छ, सबैभन्दा जिम्मेवार हुनुपर्ने अध्यक्षज्यूले हामीलाई अचानो बनाइरहनुभएको छ।’

उपाध्यक्ष श्रेष्ठले शुक्रबार सामाजिक सञ्जालमै लेखेकी छिन्, ‘छनोटप्रक्रिया (कामदार) गलत भएकै हो, हामीले स्वीकानैपर्छ। मलगायत १३ जना (कार्यपालिका सदस्यसहित)को माग सुरुदेखि नै छ, सम्झौताअनुसार इन्जे काउन्टीले किन १ सय ५ जनाको नतिजा सार्वजनिक गर्न सकेको छैन ? मैले पटक–पटक उहाँहरूसँग नतिजा मागेको छु, तर सुनुवाई भएको छैन। आखिर केका लागि हामीलाई यति धेरै गुमराहमा राख्न खोजिँदैछ ? को–को छन् यहाँ खेल खेल्ने ?’ उनले कोरिया पठाउन कामदारको लागत कति हुने हो भन्ने खुलाउन पनि माग गरेकी छिन्।  

अध्यक्ष श्रेष्ठले आफू विराटनगरतिरै भएको बताउने गरेका छन्। उनले कामदार छनोटमा कुनै कमजोरी नभएको र छनोट गरिएका कामदारको सूची सार्वजनिक नभएको बताउने गरेका छन्। उनले केही दिनअघि नागरिकन्युजसँगै टेलिफोनमा भनेका थिए– गाउँपालिकाका ७ वटा वडाबाट १५ जनाको दरले १ सय ५ कामदार छानिएका छन्, आफू पर्नेले समर्थन गरे, नपर्नेले विरोध। अध्यक्ष श्रेष्ठले कामदार छनोटको प्रक्रिया बाँकी नै रहेको र ‘आफ्ना मान्छे कामदारका रूपमा छनोटमा पार्न’ हो–हल्ला र विरोध गरिएको हुनसक्ने पनि बताएका थिए। शुक्रबार अध्यक्ष श्रेष्ठलाई सम्पर्क गर्नखोज्दा उनको फोन उठेन।  

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट फागुन २६ भित्र आवेदन आह्वान गरेको थियो। जान चाहने व्यक्तिबाट योग्यताका अन्य प्रमाणसहित मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट, १० लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टीलगायत माग गरिएको थियो। सूचनाअनुसार ३० देखि ४५ वर्ष उमेरसमूहको व्यक्ति कामदारका लागि लैजान योग्य हुने भनिएको छ।  

कामदारका रूपमा कोरिया जान चाहने ५ सयभन्दा बढी युवाले गाउँपालिकामा आवेदन पेस गरेका थिए। तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो। तर, १ सय २२ हाराहारी युवालाई वैदेशिक रोजगारी व्यवसायीसँग बसेर सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाइएको भन्दै युवा आन्दोलित बनेका हुन्। उनीहरूले पालिकाले आफूहरूलाई पाखा लगाएर ‘आफ्ना मान्छे’ छानेको आरोप लगाएका छन्। आक्रोशित युवाले अघिल्लो शुक्रबार गाउँपालिका घेराउ र नाराबाजी गरेका थिए भने सोमबार कार्यालयमा तोडफोड गरेका थिए। उनीहरूले गाउँपालिका कार्यालयको प्रशासनिक सबै शाखामा सोमबार नै तालाबन्दी गरेका छन्। तालाबन्दीपछि उपाध्यक्ष राईसहितका जनप्रतिनिधि र असन्तुष्ट युवाबीच वार्ता भएको थियो। वार्तामा कामदार छनोट प्रक्रिया स्थगित गर्ने र अध्यक्षलाई पालिकामा झिकाएर विवाद समाधान गर्ने सहमति भएको थियो।  

सहमतिअनुसार अध्यक्षलाई झिकाउन नसकेपछि उपाध्यक्ष राई र युवाहरूबीच पुनः बिहीबार वार्ता भयो। वार्तामा सहमति हुन नसकेपछि असन्तुष्ट युवाले समस्या समाधानका लागि प्रशासन, अदालत, अख्तियार, दूतावास गुहार्ने निर्णय गरेका हुन्। उनीहरूको एउटै माग छ– कामदार छनोट प्रक्रिया पुगेको र पारदर्शी हुनुपर्ने।

प्रकाशित: ११ चैत्र २०७८ १३:३० शुक्रबार